January 4th, 2019

राष्ट्र बैंकसँग भएको झण्डै साढे १ अर्ब रुपैयाँ वित्तीय प्रणालीमा आउने  

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले १ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव भइरहेको बेला राष्ट्र बैंकले एक वर्षका लागि लगानी गर्न लागेको हो । 

राष्ट्र बैंकले पुष २२ गते दिउसो ३ बजेभित्र ब्याजदर सहित आवेदन दिन राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । राष्ट्र बैंकले २०७५ माघ २ गते देखि २०७६ पुष २९ गते सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेगरी लगानी गर्न लागेको हो । 

राष्ट्र बैंकले क वर्गका बाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा २२ करोड २५ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ निक्षेप राख्ने जनाएको छ । 

एक बर्षका लागि निक्षेपमा राख्न लागेको यो पैसा लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ बर्ष हुनुपर्ने, खराव कर्जा ५ प्रतिशत भन्दा तल भएको हुनुपर्ने, तोकिएको पूँजी कोष अनुपात पुरा गरेको हुनुपर्ने छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]