December 30th, 2018

बैैंकहरु साधारणसभाको चटारोमा, के हुन्छ सभामा ?

बैंकिङ खबर । यतिबेला बैंकहरुलाई साधारणसभाको चटारो छ। नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था छ।

यद्यपी बैंकहरुले यो मिति थप ३ महिनासम्म पर सार्न सक्नेछन्। धेरैजसो बैंकहरुले पुस मसान्तभित्रै साधारण सभा गर्नेगरी मिति तोकेका छन्। एनआईसी एसिया, एभरेष्ट र सानिमा बैंकको साधारणसभा सम्पन्न भइसकेको छ। 

माछापुच्छ्रे बैंकको पुस २० गते साधारण सभा हुँदैछ। सिद्धार्थ बैंकले पुस २३ गतेको मिति तय गरेको छ। एनएमबि र नेपाल बंगलादेश बैंकको पुस २६ गते तथा ग्लोबल आइएमईको २७ गते साधारणसभा हुने भएको छ। 

इन्भेष्टमेन्ट, सनराइज र जनता बैंकले पुस २९ गतेलाई साधारणसभाको मिति तोकेका छन्। एसबिआई, हिमालयन, सिटिजन्स र मेगा बैंकले पुस ३० गते साधारणसभा गर्ने भएका छन्। स्टान्डर्ड चार्टडले माघ ७ गतेको मिति तोकेको छ। 

केही बैंकको संचालक समितिको बैठक बस्न नसक्दा लाभांश घोषणा भएको छैन भने साधारणसभामा लैजाने प्रस्तावहरु पनि तय भएका छैनन्। त्यसकारण यी बैंकहरुको साधारणसभा समेत धकेलिने छ। 

के हुन्छ साधारण सभामा ?
संचालक समितिले सेयर लगानीकर्तालाई दिने भनी घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने हुन्। 

साधारणसभाले यसअघि संचालक समितिले घोषणा गरेको नगद वा बोनस सेयर वा दुवै लाभांश अनुमोदन गर्दछ। त्यस्तै अघिल्लो वर्षको वासलात, नाफानोक्सानको हिसावकितावबारे छलफल भई अनुमोदन हुन्छ। 

संचालक समितिको रिक्त सदस्य पूर्ति गर्ने काम साधारणसभाबाट हुन्छ। यदी संचालक समितिको कुनै सदस्य पद रिक्त रहेमा सभाले नयाँ सदस्य छनौट गर्ने हो।

नयाँ लेखा परीक्षक र उसको पारिश्रमिक पनि सभाबाट तोकिने गर्छ। यीबाहेक विशेष परिस्थितिका प्रस्तावहरु पनि सभामा प्रस्तुत हुन्छन्। नियामकका नयाँ निर्देशन तथा व्यवस्थाहरु बैंकको प्रवन्धपत्र तथा नियमावलीमा समावेश गर्नुपर्ने भएमा संशोधनको प्रस्ताव तथा निर्णय गर्ने काम साधारणसभाबाट हुन्छ। 

जस्तै अहिले बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था भएपछि कतिपय बैंकले ब्रोकरेज सेवाका लागि प्रवन्धपत्र संशोधनको प्रस्ताव साधारणसभामा लैजाँदै छन्।

प्रवन्ध पत्र तथा नियमावली संशोधन भएपछि मात्रै बैंकहरुलाई नयाँ सेवा दिने वा काम गर्ने बाटो खुल्छ। बीचबीचमा राष्ट्र बैंकले गर्ने निर्देशनलाई समेत प्रवन्धपत्र तथा नियमावलीमा व्यवस्था गर्नुपर्छ। 

बीचबीचमा पर्न सक्ने संशोधनका लागि कतिपय कुरा संचालक समितिलाई नै अख्तियारी दिनेगरी साधारणसभाले निर्णय  गर्छ। 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]