December 26th, 2018

अब बीमा किन नगर्ने ? एक करोडको सम्पत्ति हजारमै गर्न सकिन्छ बीमा

बैंकिङ खबर । अब एक करोडको सम्पत्तिको बीमा एक हजारमै गर्न मिल्ने भएको छ । वार्षिक पाँच हजार शुल्क (प्रिमियम) मा १ करोड रुपैयाँसम्मको सम्पत्ति बीमा हुने भएको छ । हालै जारी भएको सम्पत्ति बीमा निर्देशिका (सम्पत्ति तथा घर बीमा) मार्फत सर्वसाधारणले यस्तो सुविधा पाउने भएका हुन् । यसका लागि बीमा समितिले हालको अग्नि बीमा लेख परिमार्जन गरी नयाँ ‘सम्पत्ति बीमा निर्देशिका ०७५’ जारी गरेको छ ।

नयाँ निर्देशिका अनुसार सम्पत्ति र घर गरी दुई प्रकारका बीमालेख हुनेछन् । जसमध्ये २ करोड रुपैयाँसम्मको आवासीय भवन वा घर, मठ मन्दिर, ध्यान तथा प्रार्थनास्थल तथा त्यसभित्र रहेको सम्पत्ति वा सामानको घरबीमालेख मार्फत गर्न सकिन्छ । 

घर बीमालेख अन्तर्गत १ करोड रुपैयाँसम्म सम्पत्तिको बीमा गर्दा प्रतिहजार ०.५ पैसा बीमा शुल्क तिर्नुपर्छ । यसरी गरेको बीमाले अग्निजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने, चटयाङजन्य, विस्फोटनजन्य, आकासीय सामग्रीजन्य, धक्का दिएर वा छोएर वा लडेर वा लागेर हुने क्षतिको जोखिम सुरक्षण हुनेछ । 

दुई करोड रुपैयाँभन्दा बढीका आवासीय घर तथा सबै प्रकार (मूल्यका) व्यावसायिक सम्पत्तिको बीमा गर्दा सम्पत्ति बीमालेख अन्तर्गत गर्नुपर्नेछ । यस्तै यो बीमामा स्वजलन, हूलदंगा तथा आतंकवादजन्य क्षति र मिसाइल टेस्टिङ अपरेसनका कारणले भएको क्षति सहित गरी १२ प्रकारको जोखिम सुरक्षण हुन्छ ।

उल्लिखित जोखिममध्ये हूलदंगा तथा आतंकवादबाहेक सबै अनिवार्य हो । यसको अर्थ ग्राहक (बिमित) ले सम्पत्ति बीमा गर्दा माथि उल्लेख गरेकामध्ये हूलदंगा तथा आतंकवाद बाहेक ११ प्रकारका जोखिमको बीमा अनिवार्य रूपमा गर्नुपर्छ । यस्तो बीमामा सम्पत्तिको मूल्य १ करोडसम्म भए प्रतिहजार वार्षिक ०.५० पैसा मात्र शुल्क तिर्नुपर्छ ।

एक करोड रुपैयाँभन्दा माथिको सम्पत्ति बीमा गर्नुपर्दा प्रतिहजार १.५० पैसा शुल्क लाग्नेछ । यदि कुनै बिमितिले हूलदंगा तथा आतंकवाद जोखिमजन्य क्षति लिन नचाहेमा १ करोड रुपैयाँसम्मको सम्पत्तिको बीमा शुल्क प्रतिहजार ०.४० पैसा मात्र हुनेछ ।

नयाँ व्यवस्था अनुसार घर बीमा अन्तर्गत गरिने बीमाको सम्पूर्ण जोखिम (हूलदंगा तथा आतंकवाद जोखिम बीमितले नलिन पनि सक्ने भएकाले सोबाहेक) को एकमुष्ठ बीमा शुल्क ०.४० प्रतिहजार मात्र लाग्नेछ ।  

उक्त निर्देशिका जोखिमको भार (क्रमागत वर्गीकरण) अनुसार बीमालेख पनि बढी लाग्ने व्यवस्था छ । निर्देशिका अनुसार समान्य सम्पत्ति, छोटो अवधिको सम्पत्ति, मूल्यांकित सम्पत्ति, फ्लोटिङ सम्पत्ति, घोषण सम्पत्ति, फ्लोटिङ घोषणा सम्पत्ति र पुनस्स्थापना सम्पत्ति गरी सात प्रकारका बीमालेख रहनेछन् ।

निर्देशिका जोखिमका आधारमा ०.५ पैसादेखि ९ रुपैयाँसम्म बीमा शुल्क तय गरिएको छ । निर्देशिकामा बीमितको हित प्रवद्र्धन गरिएको, बीमकले बीमा दाबी नदिएमा, गलत बीमा दाबी दिएमा वा गलत व्यक्तिलाई दिएमा तथा दाबीमा चित्त नबुझेमा ५ महिनाभित्र उजुरी गर्न सकिने व्यवस्था छ । यस्तै बिना कारण बीमकले एकतर्फी बीमालेख रद्द गर्न नसक्नुका साथै बीमालेखलाई पनि सरल र झन्झटरहित बनाइएको छ । 

यो निर्देशिका माघ १ गतेदेखि कार्यान्वयनमा आउने छ ।  
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]