December 25th, 2018

बैंकहरुले सेयर दलालको काम गर्ने 

बैंकिङ खबर । वाणिज्य बैंकहरुले सहायक कम्पनी नै नखोली तत्काल सेयर दलालको काम गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले तत्कालका लागि सहायक कम्पनी नखोली प्रत्येक्ष काम गर्न सक्ने व्यवस्था मिलाएको छ। अर्थसमितिको आजको बैठकमा गभर्नर डा. चिरञ्जिवि नेपालले तत्कालका लागि सहायक कम्पनी नखोली प्रत्येक्ष रुपमा सेयर दलालको काम गर्न दिइएको जानकारी दिए। 

अर्थ समितिले पुँजी बजारमा भइरहेको सुधारका सम्वन्धमा आज सम्बद्ध पक्षसँग छलफल गरेको थियो। अहिले बैंकहरुले राष्ट्र बैंकसँग अनुमति लिएर सेयर दलालको काम गर्न सक्ने तर पछि सहायक कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था हुने उनले स्पष्ट पारे। 

उता बैंकहरु पनि सेयर दलालको काम गर्न इच्छुक देखिएका छन्। नेपाल इन्भेष्टमेन्ट, जनतासहित केही बैंकहरुले सेयर दलालको काम गर्ने प्रस्ताव साधारणसभाको बैठकमा लगेका छन्। साधारणसभाबाट सो प्रस्ताव पारित गरी बैंकहरुले राष्ट्र बैंकबाट स्वीकृति लिएपछि सेयर दलालको काम गर्न सक्नेछन्।  

यो व्यवस्थाले सेयर बजारको पहुँच बढ्ने र बजारको विकासमा टेवा पुग्ने उनले बताए। त्यस्तै बैंकहरुलाई दवाव दिएर व्याजदर घटाउन लगाइएकाले त्यसले पनि पुँजी बजारलाई सही दिशा दिने उनले बताए। 

यसअघि मुद्रा तथा पुँजी बजार समस्या समाधानका लागि गठित कार्यादलबाट आएका सुझावलाई कार्यान्वयन गर्दै लगिएको गभर्नर नेपालले स्पष्ट पारे। ‘प्रतिवेदनबाट आएका सुझावलाई निर्देशन दिँदै कार्यान्वयनमा लगिनेछ, अब सेयर बजार पनि सुधार हुन्छ’ उनले भने। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]