लक्ष्य प्राप्तीका लागि टिम वर्कको भूमिका

आर.आर हरिकृष्ण जोशी । एकतामा बल हुन्छ यो पुरानो भनाई हो । आजको सयममा पनि एकता उत्तिकै महत्वपुर्ण छ । यसको अर्थ एक अर्काको बिरुद्ध काम गर्नु नभई एक अर्कासँग मिलेर काम गर्नु हो । एक थुकी सुकी सय थुकी नदी भन्ने चलन नै छ । जुनसुकै क्षेत्रमा होस चाहे परिवारमा होस या कुनै कम्पनीमा होस, खेलकुदमा होस या चाहे राजनीतीमा त्यस क्षेत्रमा आबद्ध टिम सबैको लक्ष्य एउटै हुनुपर्दछ । जब सबैको लक्ष्य एउट हुन्छ तब रजल्ट पनि सोचे अनुसार आउँछ । एक आपसमा राम्ररी लक्ष्यकोे बारेमा छलफल र जानकारी हुन्छ । काम गर्नेहरु प्रोत्साहीत हुन्छन् । 

सकारात्मक सोचहरुले स्थान पाउन सक्छ । टिममा आबद्ध साथीहरु टिम छोड्दैनन् । बरु अन्य टिममा भएका मानिसहरु आकर्षित हुन्छन् । टिममा आबद्ध सबै साथीहरु पनि अगाडी बढ्छन् । टिमको लक्ष्य पनि प्राप्त हुन्छ । टिममा सबैको लक्ष्य एउटै नहुँदा टिम आफैँमा कमजोर हुन्छ । फलस्वप, रिजल्ट सोचे अनुसार आउँदैन । टीमका सदस्यहरुले राम्ररी आफ्नो लक्ष्यको बारेमा छलफल र जानकारी नभएमा काम गर्नेहरु निरुत्साहित हुन्छन् र नकारात्मक सोचहरुले स्थान पाउन थाल्छ । टिममा आबद्ध साथीहरु टिम छोडनतर्फ लाग्छन् । टिममा आबद्ध सबै साथीहरु पनि पछाडी पर्छन् । अन्ततः टिमको लक्ष्य पनि प्राप्त हुँदैन ।

टिम लिडरको भूमिका
टिमको लक्ष्य प्राप्तीको लागि सबैभन्दा महत्वपुर्ण अर्को पाटो भनेको त्यस टिमको टिम लिडरको पनि हुन्छ । टिम लिडर दुरदर्शी हुनुपर्दछ । उसले सबै टिममा आबद्ध भएका साथीहरुको मनोभाबना बुझनुपर्छ  । आपनो टिमका साथीहरुलाई प्रोत्साहन गर्नु पर्दछ । कहिलेकाहीँ टिममा कोही असफलता भयो भने पनि सान्त्वना दिँदै अगाडी बढ्न हौसला प्रदान गर्नुपर्दछ । आफ्नो टिमका साथीहरुलाई आफनो परिवार जस्तो केयर गर्नुपर्दछ । आफनो हितभन्दा पहिला टिमको हितको चाहना राख्नुपर्दछ । तसर्थ आजको युग भनेको टिमको युग हो । टिम बिना सफलता हात पार्न मुश्किल छ । 

घोडा र भैँसीको कथा
एउटा जङगलमा घोडा र भैँसी लामो समयसम्म मिलेर बसेका रहेछन् । बसाईको क्रममा बिचमा कसैले पनि उनीहरुमाथी आक्रमण गर्न आटँ गर्दा रहेनछन् । यदि कसैले खोज्यो भने पनि दुबै मिलेर आक्रमण गर्नेलाई नै लखेट्दा रहेछन् । ति दुई भैसी र घोडालाई आक्रमण गर्न हुँदैन, गर्यो भने दुबै मिलेर उल्टै आक्रमण गर्छन् भन्ने खबर जङगलभरी फैलिएको रहेछ ।

यस्तै क्रममा बस्दै जाँदा उनीहरु बिच एक आपसमा विस्तारै मनमुटाब शुरु भएछ । झगडा बढेर कि तँ छैनस् कि म छैनको अवस्थामा पुगेछ । हानाहानको क्रममा भैँसीले घोडालाई घाउ हुने गरि सिङगले हानेछ । घोडाले अब म हार्ने भए भनेर नकराई भुईमाँ लडेर बसेछ । भैँसी अर्कोतिर फर्केको बेलामा घोडा उठेर भागेछ । घोडा भागेर जाँदाजाँदा उसले बाटोमा एउटा मानिसलाई भेटेछ र सबै कुरा भनि सहयोग मागेछ । तर, भैँसी धेरै दरो र उसको सिङ पनि तिखा र डरलाग्दा भएको भन्दै उसले सहयोगका लागि अस्वीकार गरेछ । घोडाले योजना सुनाएछ, ‘तिमी ममाथि एउटा लौरो लिएर बस, म दौडिएर जान्छु, अनि तिमी भैँसीको टाउको र सिङमा हिर्काउ । त्यसपछि म सम्हाल्छु ।’ मानिसले जिज्ञासा राख्यो, ‘यो गरेवापत मैले के पाउँछु ?’ घोडाले जवाफ दियो, ‘त्यो भैसी दुधालु छ । त्यसलाई बाँधेर तिमिले दुध खान पाउँछौ ।’ यति भनेपछि उ लौरो लिएर घोडा चढ्न राजी भयो । 

भैसी भएको ठाउँमा पुग्न लागेपछि घोडा दौडिएर भैँसी नजिक पुग्यो र मानिसले भैँसीलाई टाउको र सिङमा हिर्काएर बाँध्न सफल भए । घोडा खुसी भएर भन्यो, ‘बल्ल ठीक भयो । अब म जान्छु तिमि यसको दुध खाएर बस ।’ तर मानिसले घोडालाई जान दिएन । बरु उसमाथि चढेर हिँड्ने गर्न थाल्यो । घोडालाई पछुतो भयो । 

यसैगरी हामी पनि अरुलाई हराएर आफु जित्नको हदसम्को प्रयास गर्दछौँ । यसको असर आफूलाई पनि पर्न सक्छ भने सोच्दैनौँ । तसर्थ आफु भलो त जगतै भलो भनि काम गरौँ । खुट्टा तानेर पछाडी पार्नेभन्दा हात तानेर पछाडी परेको साथीलाई अगाडी बढाऔँ । त्यसपछि मात्र काममा सफलता पाउन सकिन्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *