December 9th, 2018

कतारको दोहा बैंकले नेपालमा खोल्यो कार्यालय

बैंकिङ खबर।  कतारको दोहा बैंकले नेपालमा आफ्नो सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको थापाथलीमा कार्यालय खोलेर काम सुरू गरेको हो । 

यो दोहा बैंकको शाखा नभई सम्पर्क कार्यालय मात्रै भएकाले प्रत्यक्ष रुपमा आर्थिक कारोबार भने गर्ने छैन । उद्योगी, व्यवसायी वा अन्य सर्वसाधारण प्रत्येक्ष रुपमा यस कार्यालयमा जोडिन अर्थात कारोबार गर्न पाउँदैनन् । चिनियाँ बैंकले नेपालमा शाखा खोल्ने कुरा हल्लामै सीमित रहेका बेला दोहा बैंकको कार्यालय संचालनमा आएको हो । 

सो कार्यालयले यहाँका बैंकहरुलाई दोहा बैंकका शाखा कार्यालयसँग जोड्न सहजकर्ताको रुपमा काम गर्नेछ । बैंकको स्वीफ्ट कोडमार्फत दोहा बैंकका अन्य शाखासँग जोडिन सहयोग पुग्ने कार्यालयले जनाएको छ । 

 नेपालका विभिन्न वाणिज्य बैंकहरुसँग यस कार्यालयले व्यवस्थापकीय सम्वन्ध विस्तार गर्ने काम गरिरहेको छ । नेपालका बैंकहरु यस कार्यालयमा जोडिएपछि दोहा बैंकका जुनसुकै शाखा कार्यालयसँग नेपालका बैंकले एलसी (लेटर अफ क्रेडिट) को काम गर्न पाउने छन् अर्थात एलसी एड्भाइजरको रुपमा रहेर कार्यालयले सेवा दिने छ । 

हाल दोहा बैंकका कतारबाहेक, दुबईको आवुधावी, कुवेत, भारतको मुम्बईमा शाखा कार्यालय सञ्चालनमा छन् ।

कतारमा काम गर्ने लाखौं नेपालीलाई पनि यो कार्यालयबाट सहयोग पुग्ने भएको छ । त्यहाँका बैंकमार्फत नेपालीले यहाँको बैंक खातामा सिधै आफ्नो पैसा पठाउन सक्नेछन् । अर्थात रेमिट्यान्स कम्पनीमार्फत नै पैसा पठाउनुपर्ने वाध्यता अन्त्य हुनेछ। बैंक टु बैंक रकम पठाउँदा शुल्क समेत कम पर्नेछ । 

 त्यस्तै बैंकले ‘फन्ड प्लेसमेन्ट’ को रुपमा कार्य गर्ने जनाएको छ। नेपालमा ‘फण्ड प्लेसमेन्ट’ को रुपमा रहेर कार्य गर्ने कम्पनीको संख्या अत्यन्त न्यून छ ।

फण्ड प्लेसमेन्टअन्तर्गत बैंकहरुले निश्चित अवधिका लागि निश्चित रकम डलरको रूपमा दोहा बैंकका शाखाहरुमा जम्मा गर्न सक्नेछन् । दोहा बैंकको कार्यालयले फण्ड प्लेसमेन्टमा बैंकहरुलाई छनोट अवसर बढेको छ । जलविद्युत, पर्यटन, कृषिलगायतका क्षेत्रमा कतारबाट आउने लगानीलाई यसले सहजता प्रदान हुनेछ ।

नेपालसहित श्रीलंका, बंगलादेश, जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अष्ट्रेलिया, टर्की, बेलायत, क्यानडा र जर्मनीमा दोहा बैंकका सम्पर्क कार्यालय सञ्चालनमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]