November 27th, 2018

संस्थागत एजेन्ट नियुक्तिलाई बैंकास्योरेन्सको नाममा प्रचार गरिँदै

बैंकिङ खबर । बैंकमार्फत बीमा पोलिसी विक्री गर्दा बढी जनतामाझ पहुँच पुग्ने अपेक्षासहित बैंक र बीमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता हुँदै आएको छ । अहिले बैंकहरु हरेक गाउँपालिका, नगरपालिका तथा अन्य कुनाकाप्चाका गाउँगाउँमा समेत पुगिरहेका छन् । तीनै बैंकमार्फत बीमा गर्ने व्यवस्था मिलाउँदा बीमा पहुँच विस्तारमा समेत सहयोग पुगेको छ । यद्यपि, बीमा समितिले   बैंकहरुलाई संस्थागत एजेन्टको रुपमा काम गर्न मात्रै अनुमति दिएकाले यसलाई बैंकास्योरेन्स भन्न नमिल्ने बताएको छ । 

बीमा समितिबाट बैंक तथा वित्तीय संस्थाहरुले बीमा कम्पनीहरुबाट संस्थागत अभिकर्ता (एजेन्ट) को लाईसेन्स लिएपनि उक्त सम्झौतालाई बैंकास्योरेन्स भन्दै प्रचार गर्दै आएका छन् । नेपालमा हालसम्म बैंकास्योरेन्सको कुनै ऐन नियम कानुन तथा व्यबस्था नभएपनि बैंकहरुले बीमा कम्पनीसँग कानुन विपरित बैंकास्योरेन्स भन्दै आएका हुन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल बैंकसँग संस्थागत अभिकर्ताको सम्झौतालाई बैंकास्योरेन्स सम्झौता भन्न नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘बैंकास्योरेन्स भनेको बैंकले नै आफ्ना ऋणी तथा सेवाग्राहीलाई मात्रै लक्षित गरेर ल्याईने छुट्टै सेवा हो । यसका लागि बीमा समितिले नै बैंकलाई छुट्टै इजाजत प्रदान गर्नेछ ।’ हाल बैंक र बीमा कम्पनीबीच भएको सम्झौता इन्स्योरेन्स कम्पनीले बैंकलाई प्रदान गरेको संस्थागत एजेन्ट मात्र भएको उनको भनाई छ ।

अहिले संस्थागत अभिकर्ताका लाईसेन्स पाएका बैंकहरुले कुनै बीमा कम्पनीसँग सम्झौता गरी बीमा पोलिसी बिक्री गर्ने काम मात्र गरिरहेका छन् । हालसम्म कुनै पनि बैंकलाई बीमा समितिले बैंकास्योरेन्सको ईजाजत प्रदान नगरेको तर संस्थागत अभिकर्ताको सम्झौता गरेको बीमा समितिका कार्यकारी निर्देशक पौडेलले बताए । ‘अहिलेसम्म नेपालमा बैंकास्योरेन्स गर्न मिल्ने कानुन नै छैन,’ उनले भने, ‘तर बैंक र बीमा कम्पनीले कस्तो खालको सम्झौता गरेर बैंकास्योरेन्स भनेर प्रचार गर्दैै आएका छन् त्यो समितिलाई थाहा भएन ।’ 

बीमा समितिले बैंकास्योरेन्स सम्बन्धी इजाजत दिनका लागि भर्खरै मात्र सो सम्बन्धी मस्यौदा तयार पारेको जानकारी दिएको छ । उक्त मस्यौदा पारित भएर आएपछि मात्र बैंकहरुलाई बैंकास्योरेन्सको ईजाजत दिन सकिने समितिको भनाइ छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]