May 26th, 2016

आव ०७२/७३ को सर्वेक्षण परिणाम : जीडीपी ०.७७% ले बढ्ने अनुमान

economicचालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ०.७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारले सदनसमक्ष विहिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३ को सर्वेक्षणअनुसार यस्तो अनुमान गरिएको हो । गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर २.३२ प्रतिशत थियो । सर्वेक्षणका अनुसार, कृषि क्षेत्रको वृद्धिमा कमी, भूकम्पको प्रभावबाट गैरकृषि क्षेत्रका गतिविधिमा अधिक प्रभाव र भारतसँगको सीमा क्षेत्रमा भएको अवरोध र आपूर्तिमा त्यसबाट उत्पन्न व्यवधानले आर्थिक वृद्धिदर नबढेको हो ।

समग्रमा यस्तो रह्यो आर्थिक वर्ष २०७२/७३ 
चालु आवमा कृषि क्षेत्रको उत्पादन १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्रको वृद्धि ०.६ प्रतिशतले बढोत्तरी हुने प्रक्षेपण गरिएको छ । चालु आवमा उद्योग क्षेत्रको उत्पादनमा ६.३ प्रतिशतले कमी आएको छ भने सेवा क्षेत्रको उत्पादनमा २.७ प्रतिशतले वृद्धि भएको छ । मुलुकको अर्थतन्त्रमा संरचनागत परिवर्तनसँगै कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान नगण्य रहेको छ भने सेवा क्षेत्रको योगदान क्रमशः वृद्धि उन्मुख छ । त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो क्रममा रहे पनि गैरकृषि क्षेत्रको योगदानमा भने वृद्धि हुँदै आएको छ ।

अपेक्षित रुपमा भएन प्रगती
चालु आवमा कुल राजस्व परिचालन ४ खर्ब ७५ अर्ब १ करोड रुपैँया रहने अनुमान गरिएकोमा बितेका ८ महिनामा २ खर्ब ३१ अर्ब ७ करोड रुपैँया मात्र सङ्कलन भएको छ । यसैगरी, चालु आवमा वैदेशिक अनुदान १ खर्ब १० अर्ब ९२ करोड रुपैँया परिचालन हुने अनुमान गरिएकोमा ११ अर्ब ५७ करोड रुपैँया मात्र परिचालन भएको छ । गत आवमा १४ अर्ब ३० करोड रुपैँया वैदेशिक अनुदान परिचालन भएको थियो ।

आकाशियो मूल्यवृद्धि
गत आवको तुलनामा चालु आवमा मूल्यवृद्धि अनपेक्षित रुपमा बढेको छ । चालु आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्कको वृद्धिदर १०.३ प्रतिशत रह्यो भने गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको वृद्धिदर १०.२ प्रतिशत रह्यो । गत आवको सोही अवधिमा ती समूहको मूल्य सूचकाङ्क क्रमशः ९.५ प्रतिशत र ४.९ प्रतिशत थियो ।

बैँक तथा वित्तीय क्षेत्रसँगको अपेक्षा
चालु आवको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८.४ प्रतिशतले बढेर १८ खर्ब ३० अर्ब ६२ करोड रुपैँया पुगेको छ । सो अवधिमा ती संस्थाबाट १४ खर्ब ८२ अर्ब ९६ करोड रुपैँया कर्जा प्रवाह भइसकेको छ । त्यसैगरी, चालु आवको फागुनसम्ममा कुल बिमा शुल्क २५ अर्ब ७४ करोड रुपैँया आर्जन भएको छ भने आवको अन्त्यसम्ममा त्यस्तो शुल्क ३८ अर्ब ६० करोड रुपैँया पुग्ने अनुमान गरिएको छ ।

बितेका आठ महिनामा वस्तु आयात १३.९ प्रतिशतले घटेर ४ खर्ब ३५ अर्ब ८० करोड रुपैँया बराबर रहन पुगेको छ । व्यापार घाटा १२.५ प्रतिशतले घटेको छ । त्यस्तै विगत आठ महिनामा समग्र शोधनान्तर स्थिति १ खर्ब ५८ अर्ब १८ करोड रुपैँयाले बचतमा रहेको छ । विप्रेषण आय १५.२ प्रतिशतले बढेर ४ खर्ब २७ अर्ब २७ करोड रुपैँया पुगेको छ । अघिल्लो आवमा विप्रेषण आय ४ प्रतिशतले बढेको थियो ।

चालु आवमा मुलुकको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ र फापर) गत आवको तुलनामा ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । मौसमी प्रतिकूलता, सीमा नाकामा भएको अवरोधले मल र इन्धन ढुवानी समयमै नहुँदा भूमिगत सिँचाइमा परेको प्रभावले अन्नबाली उत्पादन कम हुने प्रक्षेपण भएको हो ।

औद्योगिक क्षेत्रको अवस्था
गत फागुनसम्ममा मुलुकमा ६ हजार ३२ सय ८ वटा उद्योग दर्ता भएका छन् । जसमा १० खर्ब ८४ अर्ब रुपैँया लगानी भई ५ लाख १२ हजार १ सय ५९ ले रोजगारी पाएका छन् । सोही अवधिमा ८६ देशबाट तीन हजार ५ सय २० उद्योग दर्ता भई १ खर्ब ८९ अर्ब रुपैँयाभन्दा बढीको वैदेशिक लगानी स्वीकृत भयो । यसबाट २ लाख ११ हजार ८ सय ४३ रोजगारीका अवसर सिर्जना हुने अनुमान सर्वेक्षणमा गरिएको छ ।

त्यसैगरी २०७२ फागुनसम्ममा ११ हजार ८ सय ९० किमी कालोपत्र, ६ हजार ४ सय १९ खण्डास्मित र ९ हजार ६ सय ८१ किमी कच्ची सडक गरी हालसम्म सडकको लम्बाइ २७ हजार ९ सय ९० किमी पुगेको छ ।

अघिल्लो वर्षको भुकम्पबाट करिब ७ खर्ब ६ अर्ब रुपैँयाको नोक्सानी र ५ खर्ब १७ अर्ब रुपैँया बराबरको सम्पत्ति क्षय भएकाले पुनःनिर्माण र नवनिर्माणका लागि ६ खर्ब ६९ अर्ब ५० करोड रुपैँया लाग्ने प्रारम्भिक अनुमान पनि सर्वेक्षणमा प्रस्तुत गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]