November 18th, 2018

सहयोगी विकास बैंकले महिन्द्रा ब्राण्डको तीन चक्के सवारीमा लगानी गर्ने

बैंकिङ खबर । सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको तीन चक्के टेम्पु (सवारी साधान) मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा जनकपुरमा रहेको अशोक ट्रेडर्स र माहागणपति अटो सेल्स प्रा.लि. सँग संझौता सम्पन्न भएको छ । संझौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल, अशोक ट्रेडर्सको तर्फबाट प्रोपाइटर आशिष शाह र माहागणपति अटो सेल्स प्रा.लि. प्रोपाइटर दिपेन्द्रकुमार दासले हस्ताक्षर गरे । 

यो सम्झौता अनुसार अशोक ट्रेडर्स र माहागणपति अटो सेल्स प्रा.लि.ले विक्री गर्ने तीन चक्के टेम्पु (सवारी साधान) लाई उक्त ट्रेडर्सले सिफारिस गरे अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त तीन चक्के टेम्पोको मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । तर कर्जाको लागि ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने सो सम्झौतामा उल्लेख छ ।

कर्जा अवधि तीन बर्षसम्म मात्र रहने छ । लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा टेम्पो विक्रेता संस्था अशोक ट्रेडर्स र माहा गणपति अटो सेल्स प्रा.लि. समेतले सघाउनु पर्ने भएको छ । सो कर्जाको लागि अशोक ट्रेडर्सले फिर्ता खरिद जमानीको लिखत गरिदिनु पर्नेछ ।

जमानतस्वरुप १ लाख रुपैयाँको चल्ती खाता खोलि जम्मा गर्नु पर्नेछ । सो रकम बैंकले जमानतस्वरुप रोक्का राख्न पाउने संझौतामा उल्लेख छ । यदी कुनै सम्बन्धित ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिने समेत सम्झौता भएको छ । 

कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले अशोक ट्रेडर्सलाई आदेश दिनेछ । सो सवारी साधन बैंकको नाममा सम्बन्धित ग्राहकलाई ऋणी जनाई नामसारी भई आएमा र सो सवारी साधनको बीमा भएको बीमापत्र, व्लूबुक बैंकलाई बुझाए पछि अशोक ट्रेडर्सलाई भुक्तानी गरिदिने छ ।     

यो संझौता २०७७/०६/३० सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ ।

सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो संझौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए ।

हालैमात्र १६ औं बर्षमा प्रवेश गरेको यो बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न स्थानमा गरी ११ स्थानमा शाखा विस्तार गरी सेवा  प्रदान गर्दै आएको छ । बैंकले थप तिन स्थानमा चाँडै नै शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ भने यसै आर्थिक बर्षभित्र १७ शाखा पु¥याउने लक्ष्य लिएको छ । 

हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानीमा नेपालका सबै विकास बैंकलाई उछिनेको यो बैंकले चालु आबको पहिलो त्रैमासमा ३०० प्रतिशतले नाफा बृद्धि गरी ३ जिल्लाका कार्यरत बैंक मध्ये आफूलाई अग्रस्थानमा राख्नमा सफल भएको छ ।

बैंकको सबै आर्थिक सुचकांकहरु आगामी दिनमा अझ सुधार गर्दै बैंकले प्रगतिको ठूलो फड्को मार्ने र सेयर बजारमासेयर मूल्यमा राम्रो प्रतिफल दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत रिजालले व्यक्त गरे ।

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ४ अर्ब ३८ करोड ९२ लाख निक्षेप संकलन गरी, ३ अर्ब ५१ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बताएको छ । त्यसैगरी बैंकमा २३ करोड ६४ लाख संचिति कोष रहेको छ । बैंकमा हाल ७५,००० जना सन्तुष्ट ग्राहकहरु रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]