October 8th, 2018

अरु सरकारी कर्मचारी अफिसै आउँदैनन्, बैंकिङ कर्मचारीलाई सकस

सुष्मा थापा/बैंकिङ खबर । नेपालको बैंकिङ क्षेत्र अरु क्षेत्रभन्दा निकै व्यवस्थित छ । नेपाल राष्ट्र बैंकको उचित नियमनका कारण बैंकिङ क्षेत्र सबल हुँदै गइरहेको छ । तर, ग्राहकलाई बढीभन्दा बढी सेवा दिने प्रयासका कारण बैंकका कर्मचारीहरुले भने सकस झेल्नुपरेको छ । 

यसपाली दशैँको समयमा पाँच दिनमात्रै बैंक बन्द हुने भएको छ । दशैं विदा गत बर्षहरुको भन्दा तीन दिन थप कटौति गरिएको हो । जसअनुसार, अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म पाँच दिनमात्र हुनेछ । यी दिनहरुमा बैंक खुल्दैनन् । एकादशीको भोलीपल्ट कात्तिक ४ गते आइतबारदेखि नियमित रुपमा बैंकहरु खुल्नेछन् ।

सार्वजनिक विदा पाँच दिन मात्रै तोकिएको भए तापनि अन्य सरकारी कर्मचारी पूर्णिमा नभई काममा फर्किँदैनन् । कार्यालय खुले पनि कार्यालयमा कर्मचारी भेटिँदैनन्, न त काम नै बन्छ । तर, बैंकिङ क्षेत्रमा त्यस्तो हुँदैन । दशैँका लागि सार्वजनिक विदा तोकिएको दिनबाहेक सबै दिन बैंकहरु नियमित रुपमा नै सेवारत रहन्छन् ।

बैंकका कर्मचारीलाई दशैँको समयमा मात्रै नभएर अरु समयमा पनि यस्तो समस्या हुन्छ । कतिपय बैंकहरुले शनिबार पनि सेवा दिन थालेका छन् । कतिपय अवस्थामा केन्द्रीय बैंकले नै शनिबार समेत बैंक खोल्न निर्देशन दिन्छ । यसरी, अन्य क्षेत्रका कर्मचारीको तुलनामा बैंकका कर्मचारीहरुले बढी खट्नुपर्ने हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]