September 18th, 2018

लघुवित्तको संख्यात्मक वृद्धि र यसको प्रभाव

बलराम पौडेल । बास्तवमा, लघुवित्त भनेको गरिबहरुलाई लक्षित गरिएको एउटा कार्यक्रम हो । लघुवित्तले गरिब तथा न्युन आय भएका मानीसहरुको सामाजिक तथा आर्थिक पहुँचमा अभिबृद्धि गर्दछ । यस्ता वित्तीय संस्थाहरुले ग्रामिण क्षेत्रका जनताहरुको आर्थिकस्तर माथि उकास्न महत्वपुर्ण भुमिका निर्वाह गरेका हुन्छन् । खासगरी गरिब तथा विपन्न वर्गलाई लक्षित गरी लघुवित्त विकास बैंकहरु सञ्चालनमा आएका हुन् । स्वदेशमै बसेर थोरै लगानीबाट उद्यमशिलता हासिल गर्नका लागि लघुवित्तहरुले महत्वपुर्ण भुमिका खेलेका हुन्छन् । 

समग्रमा भन्दा, लघुवित्तले गरिबी निवारणको एउटा साधनको रुपमा काम गर्दछ । आर्थिक रुपमा विपन्न वर्गहरुमा वित्तीय पँहुच पुर्याउन लघुवित्त वित्तीय संस्थाले भुमिका खेलेको हुन्छ । नेपालमा मात्र नभई विश्वव्यापी रुपमा नै गरिब व्यक्तिहरुको जीवनस्तर सुधार गर्नको लागि लघुवित्त कार्यक्रमको अवधारणा ल्याइएको हो । 

लघुवित्त वित्तीय संस्थाहरु दुर्गम क्षेत्र केन्द्रित भनिए तापनि अझै हिमाली क्षेत्र लगायत पहाडी भेगका दुर्गम अर्थात भौगोलिक विकटता भएको ठाउँमा लघुवित्तले समेत सेवा पुर्याउन सकेका छैनन् । कतिपय तराईका विपन्न वर्गमा समेत लघुवित्तको सेवा पुग्न सकेको छैन । त्यसकारण आगामी दिनहरुमा लघुवित्त कार्यक्रमहरुलाई अगाडी लैजाँदा ती भेगहरुलाई ध्यानमा राखेर लैजानुपर्छ । लघुवित्त संस्थाहरु सहरी क्षेत्रमा सिमित हुनुभन्दा पनि गाउँ गाउँ शाखा विस्तार गरी विपन्न वर्गमा सेवा दिन सके भने देशको अर्थतन्त्र सुधारात्मक दिशातर्फ उन्मुख हुन सक्छ ।

पछिल्लो समयमा लघुवित्त संस्थाहरु गाउँमाभन्दा पनि सहर केन्द्रीत भएका छन् । सहरमा धेरै बैंक तथा वित्तीय संस्थाहरु भएकाले त्यहाँका जनताले वित्तीय सेवा पाइरहेका छन् । तर, गाउँमा बैंक तथा वित्तीय संस्थाहरु पुग्न सकेका छैनन् । त्यसमाथि, लघुवित्तहरु पनि सहर केन्द्रीत भइदिँदा ग्रामीण भेगका जनताहरु वित्तीय पहुँचमा पछाडी परेका छन् । त्यसैले, अबका दिनहरुमा लघुवित्त कार्यक्रम संचालन गर्दा दुर्गम भेगलाई ध्यानमा राखी शाखा विस्तार गर्नुपर्छ ।  

अघिल्लो वर्ष लघुवित्तमा पुँजीको धेरै नै अभाव थियो । नेपाल राष्ट्र बैंकले पनि १८ प्रतिशतभन्दा बढी व्याजमा कर्जा दिन नपाउने व्यवस्था गरेको थियो । लघुवित्तको प्रसाशनिक खर्चहरु अरु वित्तीय संस्थाहरुको भन्दा बढी हुन्छ । किनभने लघुवित्तहरु गाउँ गाउँमा जानुपर्छ । यसका लागि लघुवित्तहरुमा पुँजीको अभाव हुन्छ । दुर्गम भेग तथा गाउँ गाउँमा जादा बढी खर्च लाग्ने हुँदा लघुवित्तमा पुँजीको अभाव देखिन्छ । 

विगतका एक दुई बर्षदेखि वाणिज्य बैंक र विकास बैंकहरुले पनि लघुवित्त कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । यसले गर्दा, एउटै व्यक्तिले धेरै ठाउँबाट कर्जा लिने समस्या बढ्दो रुपमा देखिएको छ । लघुवित्तहरुको शाखा तथा उपशाखा मात्र नभएर संस्थाहरु नै धेरै रहेका छन् । यो संख्या अझै बढ्ने क्रममा छ । जसले गर्दा, अस्वस्थ प्रतिष्पर्धा बढाएको छ भने दोहोरो कर्जा प्रणालीलाई पनि बढावा दिएको छ । धेरै संस्थाबाट एउटै व्यक्तिले कर्जा लिँदा कर्जाको भार बढिरहेको छ । यसले लघुवित्त क्षेत्रमा ठूलो चुनौति सिर्जना गरेको छ ।  

लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको अस्वस्थ प्रतिस्पर्धा कम गर्न र दोहोरो कर्जा समस्या हटाउन शाखा खोल्ने नीतिमा कम गर्नुपर्छ । अन्य कुराहरुमा त मौद्रीक नीतिले लघुवित्त क्षेत्रका समस्याहरुलाई केही हदसम्म सहज बनाएको छ । लघुकर्जा सामुहिक जमानीको आधारमा कर्जाको सिमा ७ लाखबाट १० लाखसम्म लगानी गर्न पाउने भनिएको छ । यो लगानीकर्ताहरुलाई सहजीकरणको विषय बनेको छ । यस्ता विभिन्न चुनौतीहरुको सामना गर्नका लागि नियमन निकायले यी कार्यक्रमहरुलाई ध्यानमा राखेर कार्य गर्नुपर्छ । (सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पौडेलसँग बैंकिङ खबर डटकमले गरेको कुराकानीमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]