September 14th, 2018

यस्ता छन्, साताभरका प्रमुख बैंकिङ खबरहरु

बैंकिङ खबर । यो साता केही बैंकहरुले नयाँ नयाँ बचत एवम् कर्जा योजनाहरु सार्वजनिक गरे । साथमा शाखा तथा सेवाहरु पनि विस्तार भए । समग्रमा साताभरका प्रमुख बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

एनआईसी एशिया बैंकका दुई नयाँ कर्जा योजना
एनआईसी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ । “एनआईसी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकहरुले समेत चमत्कारिक लाभ उढाउन सक्नेछन् । यसमा तुरुन्तै कर्जा स्वीकृति (अन द स्पट फाइनान्सिङ) हुने, अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, अतिन्यून मासिक किस्ता रकम (सवारीको मुल्यअनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने ), आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्कपूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, मासिक ब्याजदर ०.९५ मात्र, प्रशासनिक सेवा शुल्कमा विशेष छुट र घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था रहेको छ । चमत्कारिक घर जग्गा कर्जा योजनामा आफ्नो आम्दानी अनुसार आफैँ मासिक किस्ता निर्धारण गर्न सकिने,.  अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमाविनाकुनै शुल्कपूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर ०.९५मात्र, प्रशासनिक सेवा शुल्कमा विशेष छुट र आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने जस्ता सुविधा छन् । 

माछापूछ्रे बैंकको माया सेवा
माछापूछ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा‘माया’को शुरुवात गरेको छ । हाल‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको । ‘माया’ मार्फत माछापूछ्रे बैंकका सेवा सुविधाहरु लगायत बैंकिङ्ग सम्बन्धी जिज्ञासाहरुको जवाफ पाउन सकिनेछ । यो सेवा आर्टि्फिसियल इन्टेलिजेन्समा आधारित भएकोले ग्राहकहरुसँगको अन्तरक्रियाबाट ‘माया’ले स्वयं पनि आफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजाने छ । फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकहरुले चौबिसै घण्टा सातै दिन आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, ए.टि.एम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धि जानकारी ‘माया’मार्फत पाउन सक्नेछन् । हजारौं ग्राहकहरुको लाखौं प्रश्नलाई तुरुन्त विभिन्न स्रोत मार्पmत सूचनाहरुलाई सङ्कलन गरी ग्राहकको जिज्ञासाहरु मेटाउन सक्ने क्षमता यसमा रहेको बैंकले बताएको छ । साथै, उक्त सेवा नेपालमै पहिलो पटक बैंकिङ्ग क्षेत्रमा प्रयोगमा ल्याएको बैंकले जनाएको छ । ग्राहकमाझ ‘माया’ले सरल, सहज, भरपर्दो तथा तुरुन्त जानकारी दिनसक्ने माध्यमको रुपमा बेग्लै परिचय बनाउने विश्वास बैंकले लिएको छ । ‘माया’सँग अन्तरक्रिया गर्न फेसबुक मेसेन्जरमा माछापूछ्रे बैंक सर्च अथवा मेसेन्जर कोड वा क्यू.आर. कोड स्क्यान गनुपर्नेछ ।

नेपाल बैंकको नारी सम्मान बचत खाता
नेपाल बैंक लिमिटेडले नारी सम्मान वचत खाता बजारमा ल्याएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका ०७५ को उपलक्षमा नारीको सम्मान गर्ने तथा नारीलाई वचततर्फ उत्प्रेरित गरि उनीहरुको सुखद् भविष्य सुनिश्चित गर्ने उध्देश्यले बैंकद्वारा ल्याईएको उक्त खाताका ग्राहकले निशुल्क भिसा डेविट कार्ड, स्मार्ट बैकिङ्ग रजिष्ट्रेशन, एविविएस, डिम्याटरआस्वा खाता सेवा, लकर सेवामा  धरौटी छुट,  शुल्कमा २५ प्रतिशत छुट, आन्तरिक तथा वाह्य रेमिटान्स पठाउँदा ५० प्रतिशत छुट लगायतका महत्वपूर्ण सहुलियत प्राप्त गर्नेछन् । लक्ष्मीको पर्यायको रुपमा रहेका नारी लक्षित गरि श्रीसम्पत्तिकी पर्याय महालक्ष्मी देवीको प्रतीक चिन्ह बोकेको नेपाल बैंकले ल्याएको उक्त नारी सम्मान वचत खाता न्युनतम १० हजार रुपैयाँमा नेपाल बैंकका कुनै पनि शाखामा खोल्न सकिने छ । 

यूनाईटेड टेर्डस् र गरिमा विकास बैंकबीच सम्झौता
यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लि तथा त्यस सस्थाका आधिकारीक डिलरहरुवाट खरीद गरिएका टोयटा व्राण्डका सम्पूर्ण सवारी साधनहरुमा यस वैंकले वार्षिक १०.५०५ व्याजदरमा १२ वर्षका लागि १४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लिबीच सम्झौता सम्पन्न भएको छ । सोमवार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लि को तर्फबाट महाप्रबन्धक महेश कुमारले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडबाट टोयटा कम्पनीको LIVA ETIOS मात्र रु.२९,२०२ मासिक किस्तामा, ETIOS CROSS मात्र रु. ३३,४१९ मासिक किस्तामा र हालसालै बजारमा आएको TOYOTA RUSH मात्र रु.५३,२३२ मासिक किस्तामा उपलब्ध हुने भएको छ ।  त्यस्तै, यस कम्पनीले विक्री गर्ने सम्पुर्ण व्राण्डका सवारी साधनहरुमा १२ वर्षे सरल किस्तावन्दीमा कर्जा उपलव्ध गराउने बताइएको छ । यसको साथै पर्यटन व्यवसायीहरुका लागि पनि यस व्राण्डका सवारी साधहरुलाई समेत यो स्किम दिन सकिने वैंकले जनाएको छ । यो कर्जा सुविधा यस वैंकका सम्पूर्ण ६१ शाखा कार्यालयहरुवाट पाईने छ ।

शाखा तथा सेवा विस्तार
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शुक्रबार काठमाडौँको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटिएम सेवा सञ्चालनमा ल्यायो ।
मेगा बैंक नेपाल लिमिटेडले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैंकिङ सेवा सुरु गर्यो ।

संस्थागत सामाजिक उत्तरदायिात्व
जनता बैंक नेपाल लिमिटेडले दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्यो ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. २ मा ६ वटा शाखा कार्यलयहरु विस्तार गरे सँगसँगै उक्त क्षेत्रहरुमा विभिन्न किसिमका सामाजिक कार्यक्रमहरु सञ्चालन गर्यो ।

सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कोषका सञ्चयकर्तालाई सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेबर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गर्यो ।
हिमालय फाइनान्स र नेक्सजेन म्यानेजमेन्ट सोलुसन बीच  हिमालय फाइनान्सको कर्जा असुलीका लागि सम्झौता भयो ।
मुक्तिनाथ विकास बैंक लिमिटेड र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोल बीच एक सम्झौता भएको छ ।
मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । 
प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबिच नगदरहित सेवा सम्वन्धी सम्झौता भएको छ । 
एनआईसी एशिया बैंक लिमिटेडले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । 

अन्य
माछापुच्छ्रे बैंकले भक्तपुरकी बिन्दिना त्यातलाई स्मार्ट बचत खाताको बीमा अन्तर्गत रु. ४३ हजार ८ सय ८६ भुक्तानी गरको छ ।
नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाले तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]