September 4th, 2018

बीमा क्षेत्र सुधारमा : चिरञ्जीवी चापागाईँका छ कदमहरु

बैंकिङ खबर । चिरञ्जीवी चापागाईँ बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अध्यक्ष हुन् । २०७३ साल पुष महिनामा उनी चार वर्षे कार्यकालका लागि बीमा समितिको अध्यक्ष नियुक्त भएका थिए । उनी समितिमा अध्यक्ष बनेर आएको डेढ वर्षभन्दा बढी भएको छ । यो समयमा उनले बीमा क्षेत्रका लागि थुप्रै परिवर्तन ल्याएका छन् ।

बीमा पहुँचमा वृद्धि
चापागाईँले बीमा पहुँच वृद्धिको विषयलाई प्राथमिकताका साथ अगाडी ल्याएका छन् । जसअनुसार ७० वर्षको इतिहासमा ७ प्रतिशतमात्र बीमाको पहुँच रहेकोमा डेढ वर्षमै ३ प्रतिशतले बढेर १० प्रतिशतभन्दा बढी पुगेको छ । यसलाई अझै बढाउन उनी प्रयासरत छन् । 

पुँजीवृद्धि
बीमा कम्पनीहरुलाई सबल बनाउने उद्देश्यले उनले बीमा कम्पनीहरुलाई पुँवी बढाउन निर्देशन दिए । जोखिमको बहन गर्ने कम्पनीहरु पहिले आफू सबल हुनुपर्ने भन्दै उनले निर्जिवन बीमा कम्पनीलाई एक अर्ब र जीवन बीमा कम्पनीलाई दुई अर्ब पुँजी पुर्याउन निर्देशन दिए । जसअनुसार, अहिले बीमा कम्पनीहरुले आफ्नो पुँजी बढाइरहेका छन् । कतिले निर्धारित चुक्तापुँजी पुर्याइसकेका छन् भने कति पुर्याउने क्रममा छन् ।

लाइसेन्स खुला
लामो समयसम्म रोकिएको बीमा कम्पनीको लाइसेन्सीङ प्रक्रिया चापागाईँले खुलाए । जसअनुसार, १० वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जिवन बीमा कम्पनी थपिए । यसबाहेक अरु कम्पनी भने नथप्ने चापागाईँ बताउँछन् । कम्पनीको संख्या बढ्दा बीमा क्षेत्रमा प्रतिपष्र्धा बढ्ने अपेक्षा गरिएको छ । साथमा बीमा पहुँच बढाउन समेत यसले सघाउ पुर्याउनेछ ।

बीमा तालिम केन्द्र
बीमा शिक्षा बढाउने उद्देश्यले बीमा समितिले बीमा तालिम केन्द्रको सुरुवात गरेको छ । बीमा क्षेत्रका सरोकारवाला पक्ष, बीमा समितिका कर्मचारीहरु र अभिकर्ताहरुको क्षमता बढाउनका लागि तालीम केन्द्रको स्थापना गरिएको हो । बीमा समितिबाट लाईसेन्स प्राप्त गरेका ३९ वटा बीमा कम्पनीहरु र बीमा समितिको संयुक्त सहकार्यमा स्थापना गरिएको हो । तालिम केन्द्र मात्रै नभएर चापागाईँले बीमा एकेडेमी नै स्थापना गर्ने   र पाठ्यक्रममा नै बीमा विषय समावेश गर्ने विषयलाई समेत प्राथमिकताका साथ उठान गरेका छन् । 

बैंकास्योरेन्स
पछिल्लो समयमा बैंक र बीमा कम्पनीहरुले धमाधम एकाआपसमा बैंकास्योरेन्स सम्झौता गरिरहेका छन् । बैंकमार्फत बीमा योजना विक्री गरी बीमाको दायरा बढाउने उद्देश्यले बैंकास्योरेन्सलाई प्राथमिकता दिइएको छ । 

दरबन्दी वृद्धि
चापागाईँले आफ्नै  पहलमा बीमा समितिको दायरा बढाउने उद्देश्यले कर्मचारीको दरबन्दी समेत बढाए । जसअनुसार, लोकसेवामार्फत समितिमा दरबन्दी नै थप गरिएको थियो । चापागाईँले समितिको क्षमता अभिवृद्धिका लागि भन्दै यस्तो कदम चालेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]