August 27th, 2018

केन्द्रीय सरकारले समेत हस्तक्षेप नगरेको ‘राष्ट्र बैंक’ : प्रदेश सरकारको कब्जामा

विजय पराजुली/बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंक र समग्र वित्तीय प्रणाली केन्द्रीय सरकारको मातहतमा हुने स्पष्ट कानुनी व्यवस्था रहेको छ । तर, प्रदेश सरकारले  २०७४ मा बनेको र २०७५ भदौ बाट लागु भएको देवानी कार्यविधिको दफा ५१ को आधारमा आइतबार संचालन भइरहेको राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ताला लगायो । उक्त कार्यविधिको स्पष्टिकरणमा ‘यस दफाको प्रयोजनको लागि सार्वजनिक बिदा भन्नाले नेपाल सरकार वा प्रदेशको हकमा सम्बन्धित प्रदेश सरकारले सरकारी कार्यालय वा अदालत बिदा हुने भनी सुचित गरेको पुरै वा आधा दिनको बिदा सम्झन पर्छ ’ भनिएको छ ।.उक्त बुँदामा नेपाल राष्ट्र बैंक प्रदेश सरकार माताहतमा रहने भन्ने उल्लेख गरिएको छैन ।  

नेपाल राष्ट्र बैंकले आवश्यक परेको खण्डमा ३६५  दिन नै सेवा दिँदै आएको छ । आफू मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई समेत राजस्व संकलन लगायतका सरकारी प्रयोजनका लागि भन्दै कतिपय शनिबारको विदा समेत कटौती गरी कार्यालय संचालन गर्न निर्देशन दिने गरेको छ । यसरी केन्द्रीय सरकारले समेत हस्तक्षेप नगरेको राष्ट्र बैंकमा प्रदेश सरकारले आफ्नो निर्णयको अवज्ञा गरेको भन्दै कार्यालयमै पुगेर ताला लगाउनु जायज देखिँदैन ।

आइतबार प्रदेश नं. २ सरकारले हिन्दु धर्मावलम्बीहरुले मनाउने पर्व रक्षबन्धनको अवसरमा राजपत्रमा सुचना प्रकाशित गरी सार्वजनिक विदा घोषणा गरेको थियो । तर, सरकारी कार्यालयहरु विदा भएपनि बैंक तथा वित्तीय संस्थाहरुले नियमित रुपमा नै कार्यालय संचालन गरेपछि नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यलय जनकपुरमा पदेश २ का गृहमन्त्री नेतृत्वको टोली नै पुगेर ताला लगाएको थियो । सरकारी कार्यलय नै भए पनि संघीय सरकारको मातहतमा रहेको नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यलय जनकपुर पनि खुलेको थियो । बैंक तथा वितिय संस्थाहरुले पनि सदाझैँ आफ्नो कामकारबाही संचालन गरिरहेकै बेला प्रदेश २ को गृह मन्त्री सहितको टोलि अनुगमनको लागि निस्कियो र जनकपुरमै रहेको नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ताला लगायो । 

आइतबार प्रदेश सरकारको विदाको अवज्ञा गरेको भन्दै नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यलयमा प्रदेश सरकारले ताला लगाएको खबर बाहिर आयो । यो खबर बाहिरिएसँगै संचालन भइरहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि केन्द्रीय कार्यालयमा जानकारी गराएर १ बजेपछि आफ्नो कार्यालय बन्द गरेको जनकपुरमा नै केन्द्रीय कार्यलय रहेको तीन जिल्ले सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । अत्यावश्यक कार्य मात्र संचालन गर्नु भनेर प्रदेश सरकारले निर्देशन दिनुपर्नेमा ताला लगाउँदै हिड्नु त्यति उपयुक्त नरहेको उनको भनाई छ ।

प्रदेश सकारका गृहमन्त्री कार्यालयमै आएर बन्द गर्न निर्देशन दिएको नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक नरेश शाक्यले बताए । केन्द्रीय कार्यलयले पत्राचार नगरेसम्म कार्यलय बन्द गर्न नमिल्ने भनेपछि राष्ट्र बैंकका निर्देशक लगायतसँग गृहमन्त्री टोलीको केही बेर विवाद समेत भएको थियो । विवादका क्रममा टोलीले २०७५ भदौबाट लागु भएको मुलुकी देवानी कार्यविविधको बुँदा ५१का आधारमा आफ्नो अधिकार प्रयोग गर्न आएको कुरा खुल्यो । टोलीले प्रदेश सकारको निर्णय नमान्ने भन्दै प्रश्न गरेपछि राष्ट्र बैंकको कार्यालयले माथिबाट निर्देशन आउनुपर्ने जवाफ दिएको थियो । केही समय यस्तै विवाद भएपछि आफूहरु कार्यालय बन्द नगर्ने निर्णयमा पुगेको शाक्यले जानकारी दिए । उनले भने, ‘माथिल्लो निकायसँग कुराकानी गर्दा बन्द नगर्ने निर्णयमा पुगेपछि उहाँहरुले ताला लगाएर जानुभयो ।’ टोलीले ताला लगाएर गएपछि आफूले ताला खोलेर कार्यालय सुचारु राखेको उनले जानकारी दिए । 

केन्द्र सरकार र प्रदेश सरकार बीचको मतभेदका कारण यसरी नेपाल राष्ट्र बैंकमाथि हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण कुरा हो । प्रदेश सरकारले राष्ट्र बैंकको कार्यालयमा ताला लगाउनु संघीय सरकार अन्तरगतको स्वतन्त्र निकाय नेपाल राष्ट्र बैंकमाथि प्रदेश सरकारको ठाडो हस्तक्षेप भएको नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक शाक्य बताउँछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]