August 17th, 2018

‘आर्थिक वृद्धिको लक्ष्य प्राप्तीमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण’

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्तीमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण  हुने बताएका छन् । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको वार्षिकोत्सव समारोहमा बोल्दै उनले ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य पुरा हुने विश्वास व्यक्त गर्दै  विकास र समृद्धिको अभियानमा बैंक तथा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । 

गभर्नर डा. नेपालले अझै पनि ६० प्रतिशत जनता वित्तीय पहुँच बाहिर रहेकाले ती जनतामाझ बंैंक तथा वित्तीय संस्था पुग्न सके अवसरै अवसर रहेको प्रष्ट पारे । अझै १ सय १६ वटा स्थानीय तहमा कुनै पनि बैंक तथा वित्तीय संस्था पुग्न नसकेको अवस्थामा लघुवित्त संस्थाहरूले ती क्षेत्रमा आफ्नो संजाल विस्तार गर्न एवं ग्रामीण भेगमा वित्तीय साक्षरता अभियान चलाएर वित्तीय पहुँच विस्तार गर्नुपर्नेमा उनले जोड दिए । 

लघुवित्त वित्तीय संस्थालाई दुर्गम, विकट र गरिबी भएको स्थानमा जान प्रोत्साहनका लागि राष्ट्र बैंकले ती स्थानमा शाखा खोलेवापत केही समयका लागि रु.४० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने गरेको, लघुवित्त वित्तीय संस्थाहरूमा दोहोरो कर्जाको समस्या बढेकाले यसलाई रोक्न राष्ट्र बैंकले कर्जा सूचना केन्द्र सञ्चालन गरेको र अब कर्जा लिने व्यक्ति कर्जा सूचना केन्द्रमा दर्ता हुने उल्लेख गर्दै यसले व्यक्तिको क्षमताको आधारमा कर्जा लिने र दोहोरोपना रोकिने विश्वास व्यक्त गरे । गभर्नर नेपालले संस्थाको दिगोपनका लागि मुनाफाको ३ प्रतिशत अनिवार्य खर्च गरी कर्मचारीको क्षमता अभिबृद्धि गर्न सुझाव समेत दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]