July 29th, 2018

बीमा पहुँच विस्तारमा  नेतृत्वकर्ताका टिप्सहरु

बैंकिङ खबर । बीमा कम्पनीहरुले आफ्नो सेवा गाउँ गाउँसम्म विस्तार गर्न नसक्दा बीमा व्यवसाय सोचअनुरुप फस्टाउन सकेको छैन । बीमा कम्पनीको संख्या त बढिरहेको छ तर, सबै सहरमा मात्रै छन् । एक त पहुँच नै छैन, त्यसमाथि, बीमा शिक्षाको पनि अभाव छ । यसै कारणले बीमा व्यवसायको दायरा बढ्न सकेको छैन । बीमा पहुँच मुस्किलले १० प्रतिशत पुगेको छ । 

बीमा भनेको भविष्यको सुरक्षा हो, जोखिम न्युनिकरणको उपाय हो । तर, अधिकांश जनता गरीबीसँग जुधिरहेको नेपालमा बीमाको महत्व बुझाउनु निकै चुनौतीपूर्ण बनेको छ । विहान बेलुकाको छाक टार्नु नै सौभाग्य ठान्ने परिवारले बचत गरेर भविष्यका लागि भन्दै बीमा गर्ने अवस्था नेपालका सबै क्षेत्रमा छैनन् । तर, बीमाको महत्व राम्रोसँग बुझाउन सक्यो भने बीमा पहुँच अहिलेको अवस्थाभन्दा निकै माथि उठ्न सक्छ । 

बीमाको पहुँच विस्तार लगायत समग्र बीमा क्षेत्रको विकासका सम्बन्धमा के भन्छन् सरोकारवालाहरु ? हेरौँ उनीहरुको भनाई जस्ताको त्यस्तै :

बीमा सेवा निर्यात गर्नुपर्छ डा. युवराज खतिवडा, अर्थमन्त्री
नेपालले वस्तु व्यापारमा मात्र नभएर सेवा व्यापारमा पनि घाटा व्यहोरेको छ । अब हामीले सेवा निर्यातमा जोड दिनुपर्छ । जसमा वित्तीय सेवातर्फको घाटा कम गर्न बीमा सेवाको निर्यातलाई बढावा दिनुपर्छ । अहिले  हामीले पुनर्बिमा मार्फत सेवा बढी नै आयात गरिरहेका छौँ । अब बीमा सेवा निर्यात गर्नुपर्छ । यसमा बीमा कम्पनीहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ । नेपालकै बीमा कम्पनीहरु पुनर्बिमा कम्पनीमा सेयरहोल्डर छन् । सबै कम्पनीहरु मिलेर बीमा सेवालाई निर्यात गर्नेसम्मको क्षमता विकास गर्नुपर्छ ।  

दाबी भुक्तानी प्रक्रिया सहज बनाउनुपर्छ डा. चिरंजीबि नेपाल, गभर्नर, नेपाल राष्ट्र बैंक
बीमाको विस्तारमा बीमा समितिबाट थुप्रै कदमहरु चालिएका छन् । तर, त्यो पर्याप्त छैन । बीमा समितिका केही कदमहरुका कारण बीमा चेतनाको अवस्था सुधारात्मक देखिएको कुरालाई नकार्न मिल्दैन । तर, अझै पनि थुप्रै कामहरु गर्न बाँकी छ । बीमाको पहुँच बढाउनका लागि बीमाको दाबी भुक्तानी लिने प्रक्रिया सहज बनाउनुपर्छ । त्यस्तै, बीमाको महत्वका बारेमा बुझाउन सक्नुपर्छ । बीमाले जोखिम व्यवस्थापन गरी भविष्य सुरक्षित बनाउँछ भन्ने विश्वास दिलाउन सकेमा मात्रै बीमा पहुँच १० प्रतिशतबाट माथि उठ्न सक्छ । बीमा शिक्षा अभिवृद्धि र पहुँच विस्तारमा बीमा अभिकर्ताको भूमिका सबैभन्दा ठूलो हुने भएकाले बीमा अभिकर्ताहरुलाई राम्रो तालिम र सुविधा दिएर प्रभावकारी रुपमा परिचालन गर्न सके बीमा पहुँचको अवस्था केही वर्षमा नै २० प्रतिशत पुर्याउन सकिन्छ ।

बीमा क्षेत्रको विकासमा समिति प्रतिवद्ध छ चिरञ्जिवी चापागाईँ, अध्यक्ष, बीमा समिति
२००४ सालमा नेपाल बैंकको स्थापना भएपछि उसकै नेतृत्वमा नेपाल इन्स्योरेन्सको स्थापनासँगै नेपालमा औपचारिक रुपमा बीमाको सुरुवात भएको थियो । हालसम्म जीवन बीमाको पहुँच १० प्रतिशत मात्रै पुगेको छ भने अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान २.३ प्रतिशत मात्रै रहेको छ । अहिले बीमा कम्पनीहरु थपिने क्रममा छन् भने पुँजीवृद्धिमार्फत सबल पनि भइरहेका छन् ।  नेपालमा संचालित संयुक्त तथा विदेशी लगानीका बीमा कम्पनीहरुका लागि बीमा क्षेत्रमा नयाँ प्रविधिहरु भित्र्याउन सहज भइरहेको छ । यसबाहेक, बीमा समिति उत्पादनमा आधारित कृषि बीमा नीति, एक करोडको बीमा प्रवद्र्धन कोष स्थापना लगायत थुप्रै कदमहरुमार्फत बीमा क्षेत्रको सुदृढीकरणतर्फ लागीपरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]