July 22nd, 2018

सहकारीमा प्रविधिको विकास हुनुपर्छ

बैंक तथा वित्तीय संस्थाहरु प्रविधिमा प्रतिपर्धात्मक तवरले अगाडी बढिरहेको बेला सहकारी संस्थाहरुले पनि प्रविधिको प्रयोगतर्फ सोचेका पनि छैनन् । सहकारी विभागले त सहकारी संस्थाह रुमा प्रविधिको खासै अ आवश्यकता नपर्ने समेत जनाएको छ । सहकारीका सदस्यहरु थोरै हुने भएकाले प्रविधिको आवश्यकता नपर्ने विभागको तर्क छ । यता, प्रभु मेनेजमेन्टले भने सहकारी क्षेत्रलाई डिजिटलाइज गर्न जोड दिइरहेको छ । प्रभुले आफैँ सफ्टवेर बनाएर सहकारीहरुलाई निःशूल्क वितरण समेत गरिरहेको छ । यसैबीच, सहकारी क्षेत्रमा प्रविधिको महत्व र प्रभु मेनेजमेन्टले सहकारीका लागि बनाएको प्रविधिको सेरोफेरोमा रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी निर्जला खड्काले प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ । 

हरेक क्षेत्रमा डिजिटलाइजेशन गर्ने भन्ने कुरा आइरहेको छ । खासमा डिजिटलाइजेशन भनेको के हो ?

डिजिटलाइजेशन अहिलेको समयमा नयाँ शब्द हैन । यो समय भनेको सुचना र प्रविधिको समय हो त्यसकारण अहिलेको सन्दर्भमा यो डिजिटलाइजेशन शब्दले विश्वव्यापी रुपमा ख्याती कमाएको छ । कागजपत्रको सट्टामा कम्प्युटरराइज गर्नु नै डिजिटलाइजेशन हो । खासमा डिजिटलाइजेशनले वित्तीय क्षेत्रको लेखा प्रणालीलाई बुझाउँछ । डिजिटलाइजेशनले सम्पुर्ण वित्तीय क्रियाकलाप र गतिविधिहरुलाई सहज र सरलका साथै सुरक्षित पनि बनाउँछ । पहिला पहिला वित्तीय क्षेत्र लगायत अन्य कार्यालयको लेखा प्रणालीको रिपोर्ट कागजपत्रमा राखिन्थ्यो । त्यसैले, कागजपत्र हराउने, च्यातिने, भनेको समयमा नभेटिने लगायतका समस्याहरु आउँथ्यो । तर अहिले त्यो समस्या छैन । अहिले हरेक वित्तीय क्षेत्रमा यो माध्यमको प्रयोग गरी लेखा प्रणालीलाई  कम्प्युटरराइज गर्ने गरेको पाईन्छ । जुन वित्तीय क्षेत्रमा डिजिटलाइजेशनको पहुँच कम छ त्यो क्षेत्रमा यो माध्यम लैजाने प्रयासहरु भईरहेको छ । 

सहकारी विभागले सहकारीमा टेक्नोलोजीको खासै अवश्यकता छैन भनिरहेको छ । तपाईँहरुले सहकारीलाई डिजीटलमा लैजाने उपाय खोज्दै हुनुहुन्छ । सहकारीलाई डिजीटलमा किन लैजानुपर्छ ? 
अरु वित्तीय क्षेत्रमा भन्दा पनि सहकारी क्षेत्रमा टेक्नोलोजीको आवश्यकता एकदम धेरै छ । किनभने सबै स्थानीय तहहरुमा बैंकिङ सेवा पुग्दैछन् । माइक्रोफाइनान्सहरु पनि प्रायः जसो गाउँमा नै अवस्थित छन् । बैंकहरुले पनि आधुनिक प्रविधि भित्राएका छन् । डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता प्रविधिले गर्दा मानिसहरुको बैंकप्रतिको रुची बढ्दै गएको पाइन्छ । 

माइक्रोफाइनान्सहरुले पनि आफुलाई बैंकको जस्तै टेक्नोलोजीमा विस्तार गर्दै लगेका छन् । सहकारीले पनि माइक्रोफाइनान्सले जस्तै सर्वसाधरणहरुको आवश्यकता अनुसार सानो सानो कर्जाहरु दिइरहेको छ । त्यसैले, माइक्रेफाइनान्सहरुले आफूलाई प्रविधिमैत्री बनाउँदै आइरहेको अवस्थामा सहकारीले पनि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने देखिन्छ । किनकि, सहकारीको प्रतिष्पर्धा भनेको यतिबेला माइक्रोफाइनान्सहरुसँग हो । सहकारीहरुले टेक्नोलोजीमा आफुलाई सुधार नगर्ने हो भने सहकारप्रति जनचासो घट्दै जान्छ भने माइक्रोफाइनान्सप्रति बढ्दै जान्छ ।  

बैंकबाट भन्दा छिटो कर्जा पाइने भएकाले मानिसहरु सहकारीमा जान्छन् । सर्वसाधारणको राम्रो आकर्षण  रहेको सहकारीले नै आफूलाई प्रविधिमा अगाडी बढाउन सकेन भने सर्वसाधारणहरुलाई कर्जा प्राप्त गर्नका लागि असहज हुन्छ । त्यस्तै, सहकारीमा आफूले राखेको पैसा कति भनेर थाहा पाउन सहकारी गएर  खाता पल्टाउनुपर्ने हुन्छ । यसो हुँदा मानिसहरुलाई झन्झटिलो लाग्छ । सहकारीको तुलनामा बैंकहरुमा बढी सुविधा देखेपछि मानिसहरुको आकर्षण बैंकतिर जान सक्छ ।

सहकारीमा प्रविधि विकासको अभावका कारण आफ्नो सदस्यहरुलाई पनि गुमाउनुपर्ने अवस्था आउन सक्छ । त्यसकारण आफ्नो सदस्यहरुलाई स्थायित्व कायम गर्नको लागि पनि सहकारी क्षेत्रलाई डिजिटलमा लैजानु आवश्यक छ । 

साना ठूला सबै सहकारीलाई डिजिटलमा लैजानुपर्छ । सानोले पनि अरु ठुला सहकारीले दिएको जस्तो सेवा सुविधाहरु सदस्यहरुलाई दिन सक्यो भने सहकारीले आफ्ना सदस्यहरुलाई आफुसँगै राख्न सक्छन् । नत्र सदस् यहरु प्रविधियुक्त ठूला सहकारीम सर्न सक्छन् । 


सहकारी भनेको स—सानो पुँजी परिचालन गर्ने, समुहमा कारोबार गर्ने भन्ने बुझाई छ । तर, पछिल्लो समय  सहकारीहरु पनि मर्जर भएर ठूला बन्दैछन् नि ?
सहकारीहरुको एक त पुँजी नै सानो सानो हुन्छ । सहकारीले सदस्यहरुलाई  ठुलो लोन दिन पनि सक्दैन । धेरै जनालाई एकैचोटी लोन दिन सक्ने खालको पुँजी पनि हुँदैन । त्यसकारण सानो सानो सहकारीहरु मिलेर मर्ज भएको एकदम राम्रो कुरा हो ।

सहकारी क्षेत्रमा कस्तो कस्तो प्रविधि भित्रिएको छ ? 
सहकारी क्षेत्रमा अहिलेसम्म खासै ठुलो प्रविधिको विकास भएको छैन । सहकारी क्षेत्रलाई प्रभु मेनेजमेन्टले कोर बैकिङ सिस्टम सफ्टवेयर निःशूल्क दिइरहेको छ । तर दक्ष कर्मचारी नहुँदा सहकारीहरुले प्रविधिको प्रयोग गर्न सकिरहेका छैनन् । हाल संचालनमा रहेको ऋण तथा बचत सहकारी, सेभिङ एण्ड क्रेडिट सहकारी दुग्ध सहकारी, विद्युत सहकारी, कृषि सहकारी लगायत सबै किसिमका सहकारीलाई  आवश्यक पर्ने सबै सफ्टवेर प्रभुले बनाएको छ । 

प्रभु मेनेजमेन्टले सहकारीका लागि लेखा सफ्टवेयर उपलब्ध गराएको छ । यो कागजपत्रलाई छोडेर कम्प्युटराइज गर्ने सफ्टवेर हो । महत्वपुर्ण कागजलाई मात्र प्रिन्ट यो प्रविधिका कारण कागजको बचत हुन्छ । यसमार्फत ग्राहकहरुले घरमै बसेर खाताको रकम बुझ्न,  मोबाइलबाट खानेपानी, बिजुली, इन्टरनेट लगायतको बिल भुक्तानी गर्न तथा अनलाइन सपिङ समेत गर्न सक्नेछन् । त्यस्तै, सहकारीलाई नै लक्षित गरेर प्रभुले कोर बैकिङ सफ्टवेयर समेत बनाएको छ । 

नेपालको सहकारीमा पनि बैंकको जस्तै कार्ड सिस्टम अपनाउन सकिएला त ? 
नेपालको सहकारीमा पनि बैंकमा जस्तो कार्ड सिस्टम अपनाउन अवश्य सकिन्छ । तर, यसका लागि पहिले दक्ष कर्मचारीको आवश्यकता पर्दछ ।

नेपालमा बैंकिङ प्रविधिको विकास भए तापनि प्रयोग न्युन छ । यसको कारण के होला ?
नेपालीहरुको डिजिटल प्लाटफर्म पाए पनि यसको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा ज्ञानको कमी छ । डिजिटलसम्बन्धी जानकारी नभएका कारण नै प्रविधिको प्रयोगर्ता थोरै भएका हुन् । नेपालमा भित्रिएका प्रविधिहरु, तिनिहरुलाई प्रयोगमा ल्याउने तरिका लगायतका विषयमा जनचेतना जगाउन सकियो भने मात्रै यसको प्रयोगतर्फ जनचासो बढ्न जान्छ । जतिसुकै नयाँ प्रविधिहरु भित्रिए पनि प्रयोग कर्ता नभएसम्म त्यसको  औचित्य रहँदैन । त्यसैले, प्रविधिको विकाससँगै सर्वसाधारणलाई यस विषयमा जानकार पनि गराउनुपर्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]