July 16th, 2018

सहकारीमा टेक्नोलोजीको आवश्यकता  

कुसुम लामा, कार्यकारी अध्यक्ष, प्रभु म्यानेजमेन्ट । अरु वित्तीय क्षेत्रमा भन्दा पनि सहकारी क्षेत्रमा टेक्नोलोजीको आवश्यकता एकदम धेरै छ । किनभने सबै स्थानीय तहहरुमा बैंकिङ सेवा पुग्दैछन् । माइक्रोफाइनान्सहरु पनि प्रायः जसो गाउँमा नै अवस्थित छन् । बैंकहरुले पनि आधुनिक प्रविधि भित्राएका छन् । डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता प्रविधिले गर्दा मानिसहरुको बैंकप्रतिको रुची बढ्दै गएको पाइन्छ । माइक्रोफाइनान्सहरुले पनि आफुलाई बैंकको जस्तै टेक्नोलोजीमा विस्तार गर्दै लगेका छन् ।

जनचासो बढाउन
सहकारीले पनि माइक्रोफाइनान्सले जस्तै सर्वसाधरणहरुको आवश्यकता अनुसार सानो सानो कर्जाहरु दिइरहेको छ । त्यसैले, माइक्रेफाइनान्सहरुले आफूलाई प्रविधिमैत्री बनाउँदै आइरहेको अवस्थामा सहकारीले पनि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने देखिन्छ । किनकि, सहकारीको प्रतिष्पर्धा भनेको यतिबेला माइक्रोफाइनान्सहरुसँग हो । सहकारीहरुले टेक्नोलोजीमा आफुलाई सुधार नगर्ने हो भने सहकारप्रति जनचासो घट्दै जान्छ भने माइक्रोफाइनान्सप्रति बढ्दै जान्छ ।  

सहज कर्जा सुविधा प्रदान गर्न 
बैंकबाट भन्दा छिटो कर्जा पाइने भएकाले मानिसहरु सहकारीमा जान्छन् । सर्वसाधारणको राम्रो आकर्षण  रहेको सहकारीले नै आफूलाई प्रविधिमा अगाडी बढाउन सकेन भने सर्वसाधारणहरुलाई कर्जा प्राप्त गर्नका लागि असहज हुन्छ । त्यस्तै, सहकारीमा आफूले राखेको पैसा कति भनेर थाहा पाउन सहकारी गएर  खाता पल्टाउनुपर्ने हुन्छ । यसो हुँदा मानिसहरुलाई झन्झटिलो लाग्छ । सहकारीको तुलनामा बैंकहरुमा बढी सुविधा देखेपछि मानिसहरुको आकर्षण बैंकतिर जान सक्छ ।

स्थायी सदस्य बनाउन
सहकारीमा प्रविधि विकासको अभावका कारण आफ्नो सदस्यहरुलाई पनि गुमाउनुपर्ने अवस्था आउन सक्छ । त्यसकारण आफ्नो सदस्यहरुलाई स्थायित्व कायम गर्नको लागि पनि सहकारी क्षेत्रलाई डिजिटलमा लैजानु आवश्यक छ । 

आजको यो प्रविधीको युगमा सहकारी जस्तो वित्तीय कारोकार गर्ने संस्थामा प्रविधिको विकास नहुनु भनेको सहकारीका सदस्यहरुलाई एउटा बिडम्बनाको कुरा हो । उनीहरुलाई आफ्नो खातामा भएको पैसा थाहा पाउन, आवश्यक परेको बेलामा झिक्न जानलाई कठिन भएको छ । त्यसकारण यो समस्याको समधान गर्नका लागि सहकारी क्षेत्रमा प्रविधिको विकास हुन आवश्यक छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]