July 15th, 2018

वित्तीय क्षेत्रका अवसर र चुनौतिहरु

नर बहादुर थापा । नेपालमा अहिले वित्तीय क्षेत्रका लागि अवसरहरुको समय छ । यसको मूख्य संकेत हो आर्थिक वृद्धि । विगत दुई वर्षलाई हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर उत्साहजनक रहेको छ । आर्थिक वर्ष  २०७३/७४ मा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर र आर्थिक वर्ष २०७४/७५मा ६.३ प्रतिशतको आर्थिक वृद्धि दर नेपालले हासिल गरेको छ । आर्थिक वर्ष २०७४/७५ को बजेटले आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यसले नेपालमा बैंकिङ क्षेत्रको सुधारका लागि राम्रो अवस्था सिर्जना हुन लागेको संकेत गर्दछ । 

बजेटको आकार
नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेटको आकार बढाएको छ । कुल १३ खर्ब १५ अर्ब बजेट विनियोजन गरिएको छ । यसबाहेक, स्थानीय सरकार र प्रदेश सरकारले छुटाएको बजेटसम्मलाई आधार मान्दा नेपालको कुल बजेट १४ खर्ब ६७ अर्ब हुन आउँछ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको ४२.४ प्रतिशत हो । यस बजेटको पूर्ण रुपमा कार्यान्वयन हुने हो भने नेपालको आर्थिक वृद्धि उच्च रहनेछ । यसका लागि स्थानीय तथा प्रदेश सरकारले आन्तरिक उत्पादनमा जोड दिनुपर्छ । 

आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी छैन
नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि लिएको आठ प्रतिशतको आर्थिक वृद्धिदरलाई महत्वाकांक्षी भन्न मिल्दैन । किनकि, नेपाल अहिले ११ देखि १३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने अवस्थामा छ । सरकारी, निजी र वित्तीय क्षेत्र सबैले एकआपसमा समन्वय गरेर अघि बढ्ने हो भने नेपालले आठ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्न सक्छ । यसका लागि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ ।

भुकम्पपछिको पुनर्निर्माण
२०७२ सालमा गएको विनाशकारी भूकम्पबाट ध्वस्त भएका सरकारी कार्यालय, निजी क्षेत्रका आवास एवम् सम्पदाहरुको पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १५१ अर्ब रुपैयाँ विनियोजन गरेको छ । भुकम्पका कारण विनाश भएका संरचनाहरुको पुनर्निर्माणमा यो रकम भरपूर खर्च गर्न सके नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सक्छ । यसका लागि सबै क्षेत्र मिलेर उच्च मनोबलका साथ योजना बनाएर काम गर्नुपर्छ । 

राजश्व असुलीको लक्ष्य
नेपाल सरकारले बजेटको आकार मात्र बढाएको छैन, राजस्व असुलिको लक्ष्य पनि तोकेको छ । केन्द्रीय सरकारले आगामी वर्षमा ८३१ अर्ब राजस्व असुली गर्ने लक्ष्य लिएको छ । स्थानीय तहले गर्ने १५१ अर्ब राजश्व असुलीलाई समेत आधार मान्दा स्थानीय, प्रदेश र केन्द्रीय सरकार मिलेर कुल ९८३ अर्ब राजश्व असुली गर्न सक्ने देखिन्छ, जुन कुल गार्हस्थ्य उत्पादनको २८ प्रतिशत हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ प्रतिशत बढी हो । 

अवसरै अवसर
लक्ष्यअनुरुप राजश्व असुली हुन सक्यो र सार्वजनिक खर्च भयो भने यसले वित्तीय क्षेत्रको विकासमा ठूलो योगदान पुर्याउँछ, राष्ट्रिय उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ, रोजगारीको अवसर सिर्जना गर्छ । सरकारले सक्रियता पुर्वक बजेट मार्फत तय भएका कार्यक्रमहरुलाई कार्यान्वयनमा ल्याउन सक्यो भने नेपालको आर्थिक भविष्य उज्वल छ । बजेटका कार्यक्रमहरुलाई देश एउटा उच्च आर्थिक वृद्धिको बाटोमा जान सक्ने देखिन्छ । यसले बैंकिङ क्षेत्र, वित्तीय र लघुवित्त क्षेत्रलाई आफ्नो व्यवसाय बढाउनमा सुअवसर दिने देखिन्छ । 

पुँजीगत खर्च
सरकारले पुँजीगत खर्च आकार पनि बढाएको छ । केन्द्रीय सरकारको पुँजीगत खर्च अघिल्लो वर्ष भन्दा लक्ष्य कम रहेको छ । यद्यपि, अहिले प्रदेश, स्थानीय र केन्द्रीय गरी तीन वटा सरकार रहने भएकाले पुँजीगत खर्च पनि बढ्ने निश्चित छ । केन्द्रीय सरकारको तीन सय १४ अर्बको पूँजीगत खर्च र सात ओटा प्रदेशको एक सय २१ अर्ब पूँजीगत खर्च गरेर कुल चार सय ३५ अरब बराबरको पूँजीगत खर्च हुन सक्यो भने पुँजी निर्माण पर्याप्त मात्रामा हुनेछ । पुनर्निमाणमा हुने खर्चले वित्तीय क्षेत्रका लागि राम्रो अवसर सिर्जना गर्ने देखिन्छ । 

वित्तीय पहुँच विस्तार
अहिले नेपालको आधा जनसंख्या बैंकिङ पहुँचबाहिर रहेको छ । त्यसैले, वित्तीय सेवाको माग बढाएर शतप्रतिशत वित्तीय पहुँच पुर्याउनुपर्ने जिम्मेवारी नेपाल सरकार लगायत सम्बन्धित निकायको काँधमा छ । राष्ट बैंक, बैंक तथा वित्तीय संस्थाहरु, नेपाल सरकार र मिडिया इन्टरनेशनल जस्ता सङगठनले कसरी वित्तीय पहुँच शत प्रतिशत कसरी पुर्याउने भन्ने विषयमा केन्द्रित रहनुपर्छ । 

वैदेशिक लगानी
नेपालका छिमेकी मुलुकहरुको उच्च आर्थिक वृद्धिदरमा प्रत्यक्ष वैदेशिक लगानीको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा विगतमा त्यो अवस्था सिर्जना हुन सकेको छैन । अब भने विस्तारै यो अवस्थामा सुधार आउँदैछ । यो वर्ष जलविद्युत, पर्यटन क्षेत्र, सिमेन्ट र वित्तीय क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । यसरी प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा सुधार आउँदा पनि वित्तीय क्षेत्रका लागि अवसर सिर्जना हुन्छ । 

बैंकिङ पहुँच
संघीय संरचनाअनुसार मुलुकमा ७५३ स्थानीय तहहरु छन् । स्थानीय पनि सरकार गठन भईसकेको अवस्था पनि छ । ७५३ मध्ये ५३१ स्थानीय तहमा वाणिज्य बैंकहरु पुगेका छन् भने २२२ मा पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकले असारभित्रै सबै स्थानीय तहमा वाणिज्य बैंकको उपस्थित हुनुपर्छ भनेको थियो । सोहीअनुसार बैंकहरुले शाखा विस्तार गरिरहेका छन् । पूर्वाधार लगायतका विभिन्न समस्याका कारण पुग्न नसकेका क्षेत्रमा पनि छिटै बैंकहरुले शाखा विस्तार गर्नेछन् । यसरी हरेक स्थानीय तहमा वाणिज्य बैंककै शाखा विस्तार भएपछि पनि ग्रामिण क्षेत्रमा वित्तीय जागरण र आर्थिक विकासमा टेवा पुग्छ । 

चुनौति पनि प्रशस्तै
अवसर मात्रै नभएर नेपालको आर्थिक एवम् वित्तीय क्षेत्रको विकासमा चुनौतिहरु पनि धेरै छन् । 

आर्थिक वृद्धिदर टिकाइराख्ने
विगतमा नेपालको आर्थिक वृद्धिदर टिकाउ हुन सकेन । दुई वर्षदेखि निरन्तर एकनाश रहेको वृद्धिदरलाई टिकाइराख्ने चुनौति नेपाल सरकार सामू रहेको छ । आर्थिक वृद्धिदर टिकाउ दिगो हुन सकेन भने पक्कै पनि वित्तीय क्षेत्र प्रभावित हुन्छ । 

वित्तीय क्षेत्रलाई अर्थतन्त्रसँग जोड्ने
वित्तीय क्षेत्रको विकाससँगसँगै यसलाई राष्ट्रिय अर्थतन्त्रसँग कसरी जोडने भनने विषय पनि चूनौतिपूर्ण रहेको छ । वित्तीय क्षेत्र र राष्ट्रिय अर्थतन्त्र कसिलो रुपमा जोडिएन भने वित्तीय क्षेत्रले विकास गर्न सक्दैन । साथै टिकाउ पनि हुन सक्दैन । यस विषयमा राष्ट्र बैंक, नेपाल सरकार र निजी क्षेत्र मिलेर लाग्नुपर्छ । 

बाह्य क्षेत्रको अवस्थामा सुधार ल्याउने
अहिले नेपालको व्यापार घाटा चुलिँदो छ । चालु खाता झण्डै दुई सय अर्ब नाघेको अवस्था छ । शोधानान्तर  पनि छ । यदि, यो निरन्तर भयो भने यस्ले वित्तीय क्षेत्रमा केही प्रभाव पार्न सक्छ । बाह्य क्षेत्रका प्रमुख सुचकहरु व्यापार, चालु खाता, शोधानान्तर सबै घाटामा छन् । यसमा सुधार ल्याउनु पनि चुनौतिको विषय बनेको छ । यद्यपि, नेपालमा अहिले ११ महिनाको वस्तु आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिती छ । त्यसैले चिन्ता गरिहाल्न पर्ने अवस्था त छैन । तर, व्यापार घाटा, शोधानान्तर घाटा निरन्तर भयो भने वित्तीय क्षेत्रको लगानी योग्य साधनमा प्रतिकुल असर पार्नसक्ने हुन्छ । 

लगानीयोग्य वित्तीय साधन बढाउने
विगत २ वर्ष यता कर्जाको आपुर्तिको तुलनामा माग बढिरहेको छ । यो ठिक पनि हो । अहिले देशमा शान्ति कायम भएको छ । बहुमतको सरकार बनेको छ । राजनीतीक स्थिरता कायम भएको छ । मानिसहरुले कर्जा लिएर आफ्नो व्यवसाय बढाउन खोजिरहेका छन् । यस्तो अवस्थामा लगानीयोग्य साधन पर्याप्त नहुनु स्वभाविक हो । त्यसैले वित्तीय क्षेत्रमा लगानी योग्य साधन बढाउनुपर्ने चूनौति रहेको छ । विगत दुई वर्ष वित्तीय क्षेत्रले तरलताको समस्या भोग्नुपरेको छ । यसमा कसरी सुधार ल्याउने भन्ने विषयमा हामीले सोच्नुपर्छ । 

व्याजदरमा स्थीरता ल्याउने
व्याजदरमा उतारचढाब भईरहेको छ । उतारचढाबलाई कसरी न्युनिकरण गर्ने भन्ने चुनौति हामीमाझ रहेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने, बचतमा दिने व्याजदरमासहमति गरेको कुराहरु सुनिरहेको पनि छ । निक्षेपको व्याजदर बढ्दै गएको खण्डमा बैंकर्स एसोसिएसनले भद्र सहमति गरेको कुरा तपाई हामीले सुनिरहेको कुरा हो । लगानी बढाउनको लागि लगाानी योग्य साधन बढाउनुपर्छ । जलविधुत, पर्यटन, स्कुल, स्वास्थ्य क्षेत्र, यातायात क्षेत्रमा लगानी बढाउनको लगानी वित्तीय साधन चाहिन्छ । अहिलेको मुख्य समस्या भनेको उच्च व्याजदर हो वा लगानी योग्य साधनको कमि हो । यसमा हामीले विचार पुर्याउनुका साथै बहस गर्नुपर्छ । यदि उच्च व्याजदर समस्या हो भने यसलाई कसरी घटाउने भन्नेतर्फ हामी लाग्नुपर्ने हुन्छ । लगानीयोग्य साधन अपर्याप्तताको समस्या हो भने बढाउनुपर्छ । (नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाद्धारा मिडिया इन्टरनेशनलले आयोजना गरेको एक कार्यक्रममा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]