July 10th, 2018

लघुवित्तको सहायतापछि गाउँमै दैनिक २० हजार आम्दानी

निर्जला खड्का/बैंकिङ खबर । शिक्षा पनि थोरै थियो । तालिम पनि केही थिएन । आँट र भरोसा दिने आफन्त समेत कोही थिएनन् । तर पनि बाजुराको बढिमालिका नगरपालिका १, जुगाडास्थित सल्लेनाकी लालीदेवी कार्कीले हार मानिनन् । उनको विवाह सानै उमेरमा भयो । विवाह भएको घरमा पनि व्यवहार चलाउन निकै गाह्रो थियो । एक छाक मिठो खान पनि धौधौको स्थिती थियो । यस्तो अवस्थामा साहु महाजनले पनि क हाँ पत्याउँछन् र ? ऋण माग्दा पनि पाइनन् उनले । ऋण तिर्न सक्छे भनेर कसैले विश्वास नै गरेन उनलाई । 

हुनेखानेले नपत्याएपनि उनले आफ्नो परिवारबाट भने राम्रै साथ पाइन् । जसले उनलाई हौसला दियो । यसै हौसलाका साथमा उनले एउटा कस्मेटिक पसल खोलिन् । पसलबाट दिनमा पाँच सयदेखि एक हजारसम्मको व्यापार हुन्थ्यो । त्यतिबेलासम्म त उनका बालबच्चा तीन जना भइसकेका थिए । अनि, उनका श्रीमान् बेरोजगार थिए । यस्तो अवस्थामा कस्मेटिक पसलको आम्दानीले बालबच्चा पढाउन र घर खर्च चलाउन असम्भन जस्तै भयो । थारै खेतबारी त थियो, तर खासै उब्जाउ थिएन । त्यसैले, खेतीपातीतर्फ सोचेर नै कुनै फाइदा हुने देखिएन ।

लालीदेवि दोधारमा थिइन्, अब के गर्ने ? त्यसै बेला गाउँमा निर्धन उत्थान बैंक पुग्यो, जसले उद्यमी बन्ने अवसर देखायो र साथ पनि दियो । निर्धन उत्थानका कर्मचारीहरु घरघरमा पुगेर अवसरहरु देखाइरहेका थिए । आफूले सहयोग गर्ने बाचा पनि गरिरहेका थिए । यही मौकामा लालीदेवि पनि निर्धन उत्थानको बारेमा थप बुझ्न थालिन् । उनले निर्धन उत्थानबाट कर्जा लिएर उद्यमी बन्न सकिने जानकारी पाइन् । उनको खुसीको सीमा रहेन । अब उनले ठानिन्, ‘यो लघुवित्तबाट कर्जा लिएर आफ्नो आर्थिक अवस्था सुधार्छु ।’

लालीदेविले गाउँका अन्य महिलाहरुलाई पनि जम्मा पारेर एउटा समूह बनाइन् । समूहमा रहेर सुरुमा उनले ६० हजार रुपैयाँ कर्जा लिइन् । यो कर्जाबाट उनले भइरहेको व्यवसाय बढाउने सोचिन् । ६० हजारको सामान आफ्नो कस्मेटिक पसलमा थप गरेपछि उनको कमाई राम्रो हुँदै गयो । राम्रो काम गरेको देखेर निर्धत उत्थानले पनि थप हौसला दिँदै गयो ।

अहिले लिलादेविले कर्जा लिन थालेको एक वर्ष भयो । सुरुमा लिएको ६० हजारबाहेक उनले थप एक लाख पनि लिइन् । उक्त रकम पनि उनले व्यवसाय विस्तारमा नै लगाइन् । अहिले उनले दिनमा १०।२० हजार कमाउँछिन् । संघीयता आएपछि व्यापार अलि कम भएको उनको अनुभव छ । तर पनि आफ्नो कमाईबाट उनी सन्तुष्ट छिन् । उनी भन्छिन्,‘परिवारमा सबै जना खुसी हुनुहुन्छ । यही पसलको कमाईबाट सबैलाई पुगेको छ ।’

पसलको कमाईबाट उनले छोराछोरीलाई राम्रो स्कुलमा पढाइरहेकी छिन् । अब उनलाई खान लाउनको कुनै दुख छैन । साथमा केही रकम बचत पनि गर्न भ्याएकी छिन् । पहिला उनलाई ऋण समेत नदिने मानिसह रुलाई अहिले उनले  आफ्नै पसलबाट सेवा दिइरहेकी छिन् । उनको मिहिनेत देखेर गाउँका मानिसहरु र लघुवित्तका कर्मचारीहरु सबै खुसी छन् । ‘म जस्तो गरिबका लागि यो एउटा भाग्यशाली कुरा हो’, उनी भन्छिन्, ‘निर्धन उत्थान लघुवित्तले मलाई ठूलो गुण लगाएको छ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]