June 24th, 2018

अनलाइन बैंकिङका जोखिमहरु र न्यूनिकरण गर्ने तरीकाहरु

रामप्रसाद गौतम । आजको विश्वमा सबैभन्दा धेरै मानिसले खोजेका चिजमध्ये पहिलोमा पैसा, दोस्रोमा मान सम्मान र तेस्रोमा ज्ञान हो । यो सङ्ख्यात्मक कुरा हो । यद्यपि मानिसले ज्ञान र सम्मान नै खोजेको होला । तर, यो सबैका लागि शुरूमा पैसा चाहिन्छ भन्ने कुरामा दुईमत नहोला । त्यसैले पैसालाई ज्यादै सोचेर लगानी र खर्च गर्नु जरुरी हुन्छ ।

पैसा कमाउन मानिसले अनेक काम गर्छ, आफ्नै व्यवसाय सञ्चालन गर्ने, कुनै कार्यालयमा नोकरी गर्ने वा विदेश जाने । अधिकांश काम गर्नु÷गराउनुको मुख्य कारण पैसा कमाउनुसँग नै सम्बन्धित छ । दुःख गरी कमाएको पैसा विभिन्न कारणले गुम्न सक्छ । यसलाई नगुमाऔं । संसार परिवर्तन गर्ने ३ शक्तिमा पहिलो आगो वा करेण्ट हो, दोस्रो पैसा हो, जसमा आधुनिक बैङ्किङका सबै कुराहरू समावेश हुन्छन् । तेस्रोमा मानिसको ज्ञान, सोच र सृजनशीलता हो । यी ३ कुरालाई समानान्तर रूपमा चलाउने व्यक्ति तथा संस्था कहिल्यै पछि पर्दैन ।

अनलाइन बैङ्किङ कारोबारबाट हुने जोखीमसम्बन्धमा केही घटना नै दख्छौं । यही पुस २७ गते न्यूरोडको एउटा आईएमईबाट ३० हजार रुपैयाँ अन्यत्र पठाउन ३ जना महिला आए । उनीहरू एउटा फोन नम्बर, पैसा ट्रान्सफर गर्दा चाहिने फोन नम्बर र कोड नम्बर लिएर आएछन् । त्यो फोन नम्बर नेपालको रहेनछ । कोड नम्बर पनि मिलेन । शायद त्यहाँ ट्रान्सफरको केही प्रक्रिया मिलेन । मनिट्रान्सफरले पैसा पठाएन । उनीहरू एकछिन बाहिर आएर सिँढीमा उभिएर केके कुरा गरे । अनि फेरि ल यसमा कुरा गर्नुहोस् भनेर काउण्टरको कर्मचारीलाई फोन दिएछन् ।

उताबाट हिन्दीमा आवाज आएछ, ‘यिन लोगोकी पैसे डालदो, खातेमे डालदो, तत्काल भेजो ।’ त्यति भनेर फोन राख्यो । फेरि पनि प्रक्रिया पूरा भएन र पैसा गएन । उनीहरू फेरि त्यतै बसेर खासखुसमा के गर्ने भनी कुरा गर्दै थिए । त्यो त्यहाँका स्टाफहरूले देखेपछि, कुरा के हो भनेर सोधे ।

उनीहरूमध्ये २ जना एउटै होष्टेलमा बस्ने र तेस्रो त्यही होष्टलमा काम गर्ने महिला रहेछन् । उनीहरूको मोबाइलमा इमोबाट उनीहरूलाई ३० लाखको चिट्ठा पर्योन भनेर म्यासेज आएछ । त्यसको प्रक्रियाका लागि तत्काल ३० हजार पठाउनुपर्ने भनेकाले कताकताबाट ३० हजार खोजेर त्यहाँ राखदिन आएका रहेछन् । यो ३० हजार पठाउने कुरा कसैलाई नभन्न भनिएको रहेछ ।

यस्तो चिठ्ठा परेको भए र लाखौं तिमीहरूले पाउने भए ३० हजार होइन, १ लाख नै दिन्छौं अहिले त्यतैबाट काम गर्न भन । अन्यथा यो तपाईंहरूलाई ठगेको हो भनेपछि उनीहरू एकछिन पक्कै आउँछ, पठाउने नै हो भन्नेमा थिए । तर, पछि बुझेर पठाएनन्, घर फर्के ।

यसरी हरेक पाइलामा मानिसले मानिसलाई ठग्ने प्रयास गरिरहेको हुन्छ । त्यसैले कसैलाई नबुझी पैसा दिनु र अरूको कुराको भरमा लगानी गर्नु राम्रो होइन । यसै गरी आधुनिक बैङ्किङले हामीर्लाइ अनेक सुविधा प्रदान गरेको छ । इण्टरनेट वा मोबाइल बैङ्किङ र इण्टरनेटबाटै पैसा ट्रान्सफर गरिन्छ । यो सुविधाको दृष्टिले यो ज्यादै राम्रो कुरा हो ।

तर, यो प्रणाली सामान्य नेट चलाएजस्तो होइन । यसमा अलिकति गडबडी भयो र तपाईंको पास वर्ड कतैबाट लिक भयो भने त्यसले खाता नील गराउन सक्छ । त्यसकारणले यस विषयमा पनि युजरहरू सचेत हुन जरुरी छ । समयसमयमा बैङ्क गएर स्टेटमेण्ट हेर्नु आवश्यक छ ।

अनलाइन बैङ्किङ कारोबार गर्दा अपनाउनुपर्ने सावधानी

पब्लिक वाइफाइ प्रयोग नर्गनुहोस्
पब्लिक वाइफाइहरू सधैं ह्यार्कसहरूको निशानामा हुन्छन् । त्यसैले पब्लिक वाइफाइको प्रयोग गरेर बैङ्किङ कारोबार गर्न हुँदैन । यस्तो ठाउँबाट पैसा ट्रान्सफर गरिएमा तपाईंको पासवर्ड लिक हुने वा जानकारी लिक हुने सम्भावना अति नै बढी हुन्छ । तसर्थ वाइफाइ पनि सुरक्षित ठाउँको मात्र प्रयोग गर्नुपर्छ । पब्लिक वा फ्रि वाइफाइ भनेको अन्य काममा प्रयोग गरिए पनि अनलाइन पेमेण्टको काम गर्न असुरक्षित मानिन्छ ।

नियमित रूपमा पासवर्ड चेञ्ज गर्नुहोस्
बैङ्किङ कारोबार अनलाइनमार्फत गर्ने मानिसले आफ्नो पासवर्ड नियमित रूपमा चेञ्ज गर्नुपर्छ । फोन वा ल्यापटपको माध्यमबाट यदि कसैले तपाईंको ट्रेक गरिरहेको छ भने पासवर्ड कुनै दिन लिक हुन सक्छ । पासवर्ड लामो राख्नुहोस् र फरक फरक बैङ्कका लागि फरक पासवर्ड प्रयोग गर्नुपर्छ । पासवर्डमा अङ्क अक्षर र चिह्नहरूको प्रयोग गर्नुहोस् । यसले पासवर्ड धेरै हदसम्म सुरक्षित हुन्छ । यसको अतिरिक्त पासवर्ड समय समयमा चेञ्ज गर्नु आवश्यक छ । किनकि यो कतैबाट लिक भएमा तपाईको एकाउण्टबाट रकम रित्तिन सक्छ ।

इमेलको माध्यमबाट साइन इन नगर्नुहोस्
कहिले काहीँ आफ्नो इमेलमा आउने लिङ्कहरूबाट साइन इन गर्ने काम नगर्नुहोस् । कहिले काहीँ इमेलमा आफ्नो खाता सुरक्षाका लागि लगइन गर्नुहोस् भन्ने सूचना आएको हुन्छ । त्यसैले यस्ता फर्जी साइडहरूबाट लगइन गर्ने काम नगरौं । किनकि बैङ्कले यस्ता सूचना पठाउँदैन । त्यसैले बैङ्कको आधिकारिक वेबसाइडबाट मात्र पैसा पठाउने काम गरौं । साइनइन पनि त्यसैबाट मात्र गरौं । किनकि मेशिन आफैमा विवेकशील हुँदैन । यो आदेशमा चल्ने हो । त्यसैले म्यानुअल कारोबारभन्दा नेट कारोबार बढी जोखीमयुक्त हुने भएकाले यसमा पाइला पाइलामा सचेत हुन जरुरी छ ।

वेबसाइडको यूआरएलमा अङ्गे्रजी एस वा सेक्कुयर छ कि छैन चेक गर्नुहोस्
जुनकुनै वेबसाइडमा लगइन गर्दै हुनुहुन्छ वा काम गर्ने सोचमा हुनुहुन्छ भने त्यसको सबैभन्दा माथिको यूआरएल चेक गर्नु अनिवार्य छ । यूआरएलको शुरूआतमा अङ्ग्रेजी वर्णमालाको एचटीटीपीएस लेखिएको र सेक्कुयर वा एस लेखिएको छ भने मात्र लगइन गर्नुहोस् अन्यथा नर्गनुहोस् । यो नेटको सुरक्षा प्रणालीसँग सम्बन्धित छ ।

पैसा कमाउन अनेक जुक्ति गएिका हुन्छन् । त्यसैले कुनै प्रलोभनमा परी रकम फसाउनु हुँदैन र अनलाइनबाट कारोबार गर्दा थप सचेत हुन जरुरी छ । किनकि मेशिनले मानिस चिन्दैन, केवल पासवर्डमात्र चिनेको हुन्छ । आजसम्म सबै राम्रो भएको छ भनेर अनलाइन बैङ्किङ कारोबार गर्दा सचेत हुन सकिएन भने त्यसले अनेक समस्या सृजना गर्छ ।

अर्को कुरा युनिटीलाइफबाट ठगिएको यो समाजमा कसैले अकारण कसैलाई पैसा दिँदैन । त्यसैले चिट्ठाको लोभमा, जागीरको लोभमा फर्जी र गलत साइडमा आफ्नो खात, मेल दिनु पनि कतैबाट सुरक्षित हुँदैन । त्यसैले सुविधासँग समानान्तर रूपमा सुरक्षा चुनौती जोडिएका हुन्छन् यसबाट सचेत हुन जरुरी छ ।

जोखीमपूर्ण भए पनि ठग्ने, चोर्ने, भ्रष्टाचार गर्ने, अरूको सूचना खोज्नेहरूको बिगबिगी युगौंदेखि चलेको छ । यसबाट बच्न बैङ्कले धेरै सुरक्षा दिएको छ र पनि सावधानी आवश्यक छ ।

लेखक कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा व्यवस्थापन विषयका अध्यापक हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]