June 21st, 2018

थोरै काम, धेरै पैसा : अरुको पैसामा व्यापार 

रविन्द्र भट्टराई । एक विद्घानले भनेका छन्— ‘व्यापार भनेको अरुको पैसा हो ।’
हो, आफ्नोमात्र पैसाले व्यवसायमा तीव्र वृद्घि सम्भव छैन । आज दुनियाँको विकास ऋणबाटै भएको छ । उद्योगधन्दा, कलकारखाना ऋणबाटै चलेका छन् । यसैका लागि त बैंक खुलका हुन् । बैंकहरु सर्वसाधारणसँग निक्षेप बटुल्छन् । पैसाका थोपाथोपा बटुलेर समुद्र बनाउँछन् । पैसा झिक्न आउनेलाई दिन सक्ने व्यवस्था गरेर चाहिनेलाई ऋण दिन्छन् । र, ऋण लिनेलाई भन्छन्—‘हाम्रो सर्त मान्नुपर्छ । मागेको बखत तिर्नुपर्छ ।’
ऋण खान कति गाह्रो छ !

एक वाणिज्य बैंकका प्रमुखले राति १२ बजे फोन गरेर मलाई भनेका थिए— ‘भोलि ३ बजेसम्म तपाईले यति पैसा तिर्नुपर्ने भयो । बैंकलाइ अप्ठ्यारो पर्यो ।’
म अचम्ममा परेँ । किनकि, ऋणको भाका नाघेको थिएन  । समयमा ब्याज तिरेको पनि थिएँ । बैंकले भनेअनुसारको धितो पनि राखेको थिएँ । तर पनि मध्यरातमा फोन !

विस्टन चर्चिलले भनेका छन्— ‘ऋण खानु बैंकको नोकर हुुनु हो ।’
महिनाभर काम गर, तलब थाप, बैंकलाई बुझाऊ । व्यापार गर, आम्दानी गर, बैंकलाई बुझाऊ । उनीहरुले उठ् भन्दा उठ्नुपर्ने, बस् भन्दा बस्नुपर्ने । उनीहरुले चाहेको बखत ब्याज बढाउने । चाहेको बखत घटाउने । बैंक आफुलाई सहज भएसम्म केही बोल्दैन तर अप्ठ्यारो पर्यो भने बैंकले तपाईको अप्ठ्यारो हेर्दैन । यसैले भनिन्छ— बैंक घाम लागेको बेला छाता दिन्छ, पानी परेका बेला छाता माग्छ । तर पनि बैंकबाट ऋण नलिई हुँदैन । (भट्टराईद्धारा लिखित ‘सेयरबाट करोडपति’ पुस्तकबाट साभार) 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]