May 18th, 2018

साताभरका उत्कृष्ट बैंकिङ खबरहरु एउटै पानामा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्यो । जसमा नेपालको वित्तीय क्षेत्र असन्तुलित रहेको देखियो । बैंकिङ क्षेत्रमा निक्षेपभन्दा कर्जा प्रवाह बढि भएको पाइयो । यो साता बैंकहरुले आक्रामक रुपमा शाखा विस्तार गरे । समग्रमा, साताभरका प्रमुख बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ अध्यक्ष
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी गोविन्द प्रसाद ढकालले पाए । एशोसिएसनको ११३ औ कार्य समिति बैंठकले एशोसिएसनमा रिक्त रहेका पदहरु विधान अनुरुप नियुक्त गर्ने क्रममा एशोसिएसनका प्रथम उपाध्यक्ष समेत रहेका ढकाललाई कार्यवाहक अध्यक्ष चयन गरेको थियो । संस्थाको महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई नियुक्त गरिएको छ । त्यस्तै, कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई वैशाख २८ गतेदेखि नियुक्त गरिएको छ । उक्त नियूक्त गरिएका पदहरु आगामी निर्वाचनसम्मको लागि रहेको छ । 

मेगा र टुरिजमको मर्जर प्रक्रिया सफल
टुरिजम् डेभलपमेन्ट बैंक मेगा बैंक नेपाल लिमिटेडसँग गाभियो । आइतबार काठमाडौँमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम् डेभलपमेन्ट बैंकका सबै ३६ वटा शाखा, एक्सटेन्सन काउन्टर, एटिएम लगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभेर आइतबारबाट संयुक्त कारोबार सुरु गरेको जानकारी दिए । यो मर्जरपछि मेगा परिवारमा उत्साह थपिएको अध्यक्ष शाहले बताए । उनका अनुसार टुरिजम डेभलपमेण्ट बैंकको एक कित्ता सेयर हुने शेयरधनीलाई गाभिएपछि मेगा बैंकको ०.९५ कित्ता सेयर प्रदान गर्ने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ । 

एनआईसी एशिया बैंकको कृषि र पर्यटन लक्षित कर्जा योजना
एनआईसी एशिया बैंक लिमिटेडले ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गर्यो । ब्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५५ ब्याज अनुदानको लागि आवश्यक ब्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने यस योजनाबाट कृषि उद्यमीलाई आफ्नो ब्यवसाय विस्तारमा लाभ पुगि मुलुकको कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  उपरोक्त ब्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन ब्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको ब्यवस्था गरेको र सो बाट सम्पुर्ण कृषि तथा पर्यटन ब्यवसायी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंकका १६ शाखा विस्तार
एनएमबि बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयसिमा भित्रै एकै पटक १६ नयाँ शाखाहरु सञ्चालनमा ल्यायो । देशका बिभिन्न प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पहुँचबाट टाढा रहेको स्थानहरुमा बैंकले नयाँ शाखाहरु खोलेको हो ।नयाँ शाखाहरुको सुरुवात भएसँगै स्थानीयहरुको वित्तिय सहभागिता भई जीवन स्तरमा समेत साकारात्मक प्रभाब पर्ने र सरल बैकिङ्गको पँहुचमा सर्वसाधारण पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

माछापूछ्रे बैंकका १० शाखा थपिए
माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक थप १० शाखा कार्यालयको सुरुवात गर्यो । बैंकले खोटाङ्गको हलेसी, धनुुषाको गणेशमान चारनाथ, झापाको बाह्रदशी, मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा शाखा विस्तार गरेको  हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

थप ७ स्थानीय तहमा ग्लोबल आईएमई बैंक
ग्लोबल आइएमई बैंकले सोमबार(बैशाख ३१ गते) एकै दिन ७ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्यायो । बैंकले धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नं. ७, तारापट्टि, बारा जिल्लाको फेटा नगरपालिका वडा नंं. ७, फेटा बजार, रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका वडा नं. ८, बिजयपुर, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ५, पातो, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. ३, भद्रपुर, डोटी जिल्लाको पूर्वीचौकी गाँउपालिका वडा नं. ४, साना गाँउ र बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ३, खोचलेक सहित ७ वटा नयाँ शाखाहरु स्थापना गरि संचालनमा ल्याएको हो । 

सिटिजन्स बैंकका थप छ शाखा
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले एकैसाथ छ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बैंकिङ पहुँच बाहिर रहेका विभिन्न छ स्थानीय तहमा शाखा विस्तार गरेको जानकारी दिए । सोमबारदेखि संचालनमा आएका शाखाहरुमा इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापति, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि शाखा रहेका छन् ।

प्रभु बैंकका चार शाखा थप
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा  पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले थप चार वटा जिल्लामा आफ्नो शाखा विस्तार गर्यो । बैंकले बाग्लुङको निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं. १ एवम् दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. २ र गुराँस गाउँपालिका वडा नं. ४ मा शाखा स्थापना गरी आइतबारदेखि संचालनमा ल्याएको हो । बैंकका निसीखोला शाखा,तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र चारै वटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।   

सिद्धार्थ बैंकका पनि चार शाखा थपिए
सिद्धार्थ बैंकले झापाको गौरादह र पथरी, कैलालीको लम्की र जुम्ला चन्दननाथ नगरपालिकाको जुम्ला शाखा गरी एकै साथ ४ वटा शाखाहरु सञ्चालनमा ल्यायो । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ । साथै यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । 

हिमालयन बैंकका दुई नयाँ शाखा
हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका थप दुई गाउँपालिकाहरुमा शाखा संचालनमा ल्यायो । बैंकले बारा जिल्लाको प्रसौनीमा बैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा बैशाख ३० गतेदेखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

अन्य वाणिज्य बैंकका शाखा
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोमबार महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालीकामा नयाँ शाखाहरु संचालनमा ल्यायो ।
एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्की स्थित लेकसाइड शाखाको उद्घाटन भयो ।
जनता बैंक नेपाल लिमिटेडको रुपनी शाखाबाट सोमबारदेखि कारोबार सुरु भयो ।

नक्कली नोटका कारोबारी पक्राउ
नेपाली नक्कली नोटका साथमा फिल्म निर्माता माधव वाग्लेसहित महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङलाई प्रहरी परिसर काठमाडौंले उपत्यकाका तीन विभिन्न स्थानबाट पक्राउ गर्यो । साथमा, दुई प्रेस सञ्चालक प्रकाश सुवेदी र विकेश नापीत पनि पक्राउ परे । वाग्ले आफ्नै कोठाबाट दुई करोड ५२ लाख रुपैया बराबरको नक्कली नोटसहित पक्राउ परे भने सुर्खेतका महेन्द्र बोगटी एक लाख २० हजार बराबरका नक्कली नोटसहित कमलपोरीबाट र सिन्धुलीका सुजित तामाङ र साजन तामाङ सात लाख ४३ हजार बराबरको नक्कली नोटसहित ललितपूरको लुभुबाट पक्राउ परे ।

लघुवित्त क्षेत्रका गतिविधि
निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ बैशाख ३० गते दुर्गम जिल्ला दार्चुलाको गोकुलेश्वरमा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गर्यो ।
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ज्ञानेश्वर काठमाडौँले प्रदेश नं १ मा रहेको आफ्ना साझेदार सहकारी संस्थाका ऋण विभाग प्रमुखहरुलाई एक दिवसीय ऋण व्यवस्थापन तालिम प्रदान गर्यो ।
निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ बैशाख २७ गतेदेखि २९ गतेसम्म मुगु जिल्लाको गमगढीमा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गर्यो ।
वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले २१ वटा शाखा कार्यालयहरुका शाखा प्रमुख तथा व्यवस्थापन तहका कर्मचारीहरु सम्मिलित ‘समिक्षा तथा योजना गोष्ठी’ कार्यक्रम सम्पन्न गर्यो ।

अन्य
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ ३ गते विहिवारदेखि आफ्नो शाखा कार्यालय लेखनाथ पोखराको शुभारम्भ गरी कारोबार सुरु गरेको छ ।
गरिमा विकास बैंकले रेमिट कारोबारका लागि गरिमा रेमिट शुभारम्भ गर्यो ।
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले ५०औँ वार्षिकोत्सव मनायो ।
कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनौट गर्यो ।
महालक्ष्मी विकास बैंक लि. को पुतलीसडक शाखाले रुद्रमती माध्यामिक विद्यालयका विद्यार्थीलाई सहयोग गर्यो ।
पूर्णिमा विकास बैंक लिमिटेडले सुर्यपुरा गाउँपालिका वडा नं. ६ मा अवस्थित सूर्यपुरा उच्च माध्यामिक बिद्यालयमा निशूल्क बाल आँखा शिविर सम्पन्न गर्यो ।
नता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गर्यो ।
एनआईसी एशिया क्यापिटलले “ग” वर्गका वित्तीय संस्थाहरुलाई लगानी व्यवस्थापन सम्बन्धी निर्णय क्षमता अभिवृद्धि गराउन एक दिने निस्शुल्क कार्यशाला गोष्ठी सम्पन्न गर्यो ।
हाम्रो विकास बैंकको नवौँ बार्षिक साधारणसभा बैशाख ३१ गते नुवाकोट जिल्लाको बट्टारमा सम्पन्न भयो ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको नवौं केन्द्रीय परिषद् बैशाख ३१ देखि जेठ १ गतेसम्म भक्तपुरमा सम्पन्न भयो ।
कामना सेवा बैंकले सोमबार लम्जुङको सुन्दरबजार नगरपालिकाको मुख्य बजारमा र पर्वतको कुस्मा नगरपालिकाको बडागांउ चौरमा नयाँ शाखाहरु स्थापना गर्यो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]