May 15th, 2018

बीमा समितिले ५०औँ वार्षिकोत्सव मनाउँदै

बैंकिङ खबर । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति ५०औँ वर्षमा प्रवेश गरेको छ । स्मारिका एवम् विभिन्न पब्लिकेशनहरुको विमोचन गरि समितिले आफ्नो ५०औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवको अवसर पारेर मंगलबार आयोजना गर्न लागिएको समारोहको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ ।   

बीमा समितिको स्थापना र उद्देश्य
बीमा समिति नेपालको बीमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय हो, जो नेपाल सरकार, अर्थ मन्त्रालयको एउटा लाइन संगठन हो । बीमा ऐन, २०४९ अनूसार नेपालभित्र बीमा ब्यवसायलाई ब्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नका लागि बीमा समितिको स्थापना भएको हो । नेपाल भित्रका बीमा तथा सो सम्बन्धि गतिविधिलाई यस समितिले नियमनकारी संस्थाको हैसियतले निगरानी राख्दछ । यस संस्थाको मूल उद्देश्य विकसित, स्वस्थ र पेशागत बीमा बजारको विकास गर्नु रहेको छ ।

वि.सं.२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना भए पश्चात अन्य क्षेत्रहरुमा जस्तै बीमा क्षेत्रमा पनि परिवर्तनहरु देखा परे । परिवर्तित सन्दर्भलाई मनन गरी वि.सं. २०४९ सालमा बीमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै नयाँ बीमा ऐन २०४९ जारी गरियो । ऐनको प्रस्तावनामा नै स्पष्ट रुपमा भनिएको छ “बीमा ब्यवसायलाई ब्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नको लागि बीमा समितिको स्थापना गरिएको हो ।“ प्रस्तावनामा उल्लेखित लक्ष्य प्राप्त गर्नका लागि एक स्वायत्त संस्थाका रुपमा बीमा ऐन २०४९ अनुसार यस समितिको स्थापना भएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]