May 13th, 2018

‘स्कुल तहबाटै पुँजी बजार शिक्षा जरुरी’

डा. चिरंजीबि नेपाल । संसारका विकसित देशका जति पटि पर्यटकहरु नेपालमा आउँछन्, त्यसमध्येका ५० प्रतिशत पर्यटकहरु सेयरमा लगानी गरेको पैसाको नाफाबाट घुम्न आउँछन् । विकसित मुलुकहरुमा बचत भएको पैसा छ भने सेयर बजार लगानी गरिहाल्ने प्रचलन देखिन्छ । हामीसँग त्यो सोच अझै विकास भएको छैन । बचत गरेर, बचतलाई कसरी लगानी गर्ने भन्ने सोचको नै कमी छ नेपालमा । 

जापानको एक अनुभव
हामी २०६५ सालमा जापान गएका थियौँ । जापानमा क्यापिटल मार्केटसम्बन्धी कार्यक्रम थियो, जहाँ सेयर बजारसम्बनधी जनचेतनामूलक प्लेकार्ड लिएर स्कुलका बालबालिकाहरु हिँडिरहेका थिए । हामीले जापानकै क्यापिटल मार्केटसँग आवद्ध एक जना साथीलाई सोध्यौँ, ‘किन यस्तो ?’ उहाँले भन्नुभयो, ‘भविष्यका लगानीकर्ता यीनै हुन् । अहिलेदेखि नै यिनीहरुलाई लगानीसम्बन्धी ज्ञान दिइएन भने यीनीहरु आउँदैनन् ।’ नेपालमा बालबालिकाहरुलाई यस्तो विषयहरुमा अगाडी ल्याईँदैन । कसैले कोशिस गरिहाल्यो भने पनि बाल श्रमको प्रयोग गरियो भने आलोचना हुने गर्दछ । 

लण्डनमा सेयर बजार ओरालो लाग्यो भने बाजागाजा बजाएर सर्वसाधारणलाई हौसला प्रदान गरिन्छ । गिर्दो बजारबाट लगानीकर्ता हतोत्साहित नहुन् भनेर यस्तो गरिन्छ । सेयर बजारमा लगानीकर्ताहरुको संख्या बढोस् र बजारले गति लिन सकोस् भन्ने उद्देश्यले पनि यस्ता खालका कार्यक्रमहरु गरिन्छन् । यसबाहेक, अन्य मुलुकहरुमा पनि पुँजी बजारमा लगानी गर्नका लागि सर्वसाधारणलाई हौसला प्रदान गरिन्छ, चेतनामूलक कार्यक्रमहरु संचालन गरिन्छ । 

आन्तरिक पुँजी परिचालनमा जोड
१९९७ मा साउथ एसियामा भएको वित्तीय संकटको समयमा सबै विदेशी लगानीकर्ताहरुले आफ्नो लगानी झिकेर बाहिरिए । यसको सबैभन्दा ठूलो असर साउथ इष्ट एशियामा देखियो । साउथ कोरिया, जापान लगायतका देशहरुमा मार्केट क्रसकै स्थिती देखियो । यसले के सिकायो भने, मुलुकमा बाह्यभन्दा पनि आन्तरिक पुँजी परिचालनमा जोड दिनुपर्ने रहेछ । यही कुरालाई ध्यानमा राखेर सेयर बजारको प्रचारप्रसार गर्दा नयाँ लगानीकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि पनि देखिएको थियो । यो अभियानले गर्दा साउथ इष्ट एसियामा मात्रै सेयर बजारमा आन्तरिक लगानीकर्ताको संख्या दुई सयदेखि ती सय प्रतिशतसम्म बढेको थियो । 

पुँजी बजारले एकातिर लगानीकर्तालाई सहयोग पुर्याउँछ भने अर्कोतर्फ राष्ट्रिय अर्थतन्त्र निर्माणमा पनि योगदान पुर्याउँछ । त्यस्तै, आफूलाई आवश्यकता परेको बेलामा सेयर बजारमा गरिएको लगानी उपयोगी हुन्छ भन्ने सोचको विकास हुनु आवश्यक छ । सेयरलाई लिक्विडिटीमा रुपान्तरण गर्ने आधारहरु तयार गर्नुपर्छ । बण्ड मार्केटको विकास गर्नुपर्छ । नेपालमा बण्ड मार्केटको हिस्सा दुई प्रतिशत पनि पुग्न नसकेको अवस्था छ । ८।१० प्रतिशत व्याजदर दिँदा पनि वैदेशिक रोजगार बचतपत्रको विक्री हुँदैन । किनकि यहाँ ज्ञानको कमी छ, इच्छाको कमी छ । यस्ता विषयहरुमा जनचेतना जगाउनका लागि स्कुल कलेजका विद्यार्थीहरुबाट सुरु गर्नु उचित हुन्छ । किनकि, बच्चाले आफूले जानेको कुरा घरमा सिकाउँछ । हामी कमाउने भइसकेपछि त झन् लगानीको विषयमा उ धेरै माथि गइसकेको हुन्छ ।

संसारकै सबैभन्दा राम्रो पुँजी बजार
वर्तमान समयमा संसारकै सबैभन्दा राम्रो पुँजी बजार भएको सहर हो सांघाई । त्यहाँ सर्वसाधारणको लगानीलाई प्राथमिकतामा राखिएको छ । त्यहाँ लगानी गर्ने वातावरण राम्रो छ, प्रक्रिया सहज र छिटो छ । यसले गर्दा विदेशी लगानीहरु पनि उत्तिकै आकर्षित भइरहेका छन् । त्यहाँको क्यापिटल मार्केटको आधारमा लण्डन, टोकियो जस्ता सहरहरुको पुँजी बजार प्रभावित हुने गर्दछन् । 

पुँजी बजार : भविष्यको आधार
सेयर बजारमा लगानी गर्यो भने भविष्य सुरक्षित हुन्छ । अहिले भविष्यको आधार भनेकै पुँजी बजार  हो । पुँजी बजारमा लगानी नगरेको मान्छेलाई आधुनिक मान्छे भन्न सकिँदैन । पुँजी बजार आधुनिक भइकन सेन्सिटिभ पनि हुन्छ । वित्तीय क्षेत्रमा कुनै पनि प्रविधि निस्कियो भने त्यसको असर सीधै पुँजी बजारमा पर्न जान्छ । अझै पनि नेपालमा पुँजी बजार भनेको जुवा घर हो भन्ने सोचाई रहेको छ । यही सोचाईले गर्दा पुँजी बजार अगाडी बढ्न सकेको छैन । जबसम्म पुँजी बजार अगाडी बढ्न सक्दैन, तबसम्म मुलुकको विकास हुन सक्दैन । पुँजी बजारको विकास नभएको संसारको कुनै पनि मुलुकमा आर्थिक विकास हुन सकेको छैन । 

नेपालको पुँजी बजार
पछिल्लो समय नेपालको पुँजी बजारमा पनि केही सकारात्मक परिवर्तनहरु आएका छन् । प्राथमिक सेयर निष्काशनका आधुनिक प्रविधिको सुरुवात भइसकेको छ । अब दोस्रो बजारमा पनि यसको विकास गरिनुपर्छ । नेपाल स्टक एक्सचेञ्ज पनि अब समयको मागअनुसार आधुनिकीकरणमा जानुपर्छ । यसले लगानीकर्तामा उत्साह बढाउनेछ । मुलुकका सबै स्थानका सर्वसाधारणले सहजै सेयर बजारमा लगानी गर्न सक्ने वातावरणको निर्माण हुनुपर्छ । रियल सेक्टर पनि पुँजी बजारमा आइदियो भने थप उत्साह हुन्छ । 

आशावादी अर्थतन्त्र
अहिले नेपालको अर्थतन्त्रले लामो समयपछि आशावादी रुप लिएको छ । विगत दुईवर्षदेखिको आर्थिक सूचकहरुले सकारात्मक परिवर्तनको संकेत गरेका छन् । गत वर्ष सात प्रतिशत रहेको आर्थिक वृद्धि अझै पनि छ प्रतिशतका कायम छ । वर्षको अन्त्यसम्ममा पनि आर्थिक वृद्धि छ र सात प्रतिशतको बीचमा नै कायम राख्ने अपेक्षा गरिएको छ । आर्थिक वृद्धिमा पुँजी बजारको विकासले ठूलो योगदान पुर्याउँछ । (नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपालद्धारा प्रथम क्यापिटल मार्केट एक्स्पोमा व्यक्त गरिएको विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]