May 10th, 2018

नेपालमा पुँजी बजार विस्तारको आवश्यकता

डा. युवराज खतिवडा । नेपालमा सर्वसाधारणले लगानी गर्नका लागि धेरै क्षेत्रहरु छैनन् । त्यसैले, सर्वसाधारणहरुले सेयर बजारमा लगानी गर्ने गरेका छन् । तर, सेयर बजारमा ठूला कम्पनीहरु प्रवेश गरेका छैनन् । एक करोड नाफा कमाउने कम्पनीहरु सेयर बजारमा सूचिकृत छन् भने ५० अर्ब नाफा कमाउने कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउन सकिएको छैन । यसले गर्दा लगानीको वास्तविक क्षेत्र सर्वसाधारणको पहुँचसम्म पुग्न सकेको छैन । 

सेयर बजारमा सूचिकृत भएका कम्पनीहरु पारदर्शी हुनुपर्छ । सेयर बजारमा प्रवेश भइसकेका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई सबै सूचना तथा वित्तीय सूचकहरु स्पष्ट रुपमा देखाउनुपर्छ । पारदर्शी हुनुपर्ने डरका कारण पनि कतिपय कम्पनीहरुले सेयर बजारमा आउन आनाकानी गरिरहेका छन् । यस विषयमा नियामक निकायले विचार पुर्याउनुपर्छ ।

बजारमा थप कम्पनीहरुको आवश्यकता
सरकारले निजी क्षेत्रबाट संचालन भइरहेका, अत्याधिक मुनाफा गरिरहेका तर सेयर बजारबाट बाहिर रहेका कम्पनीहरुलाई सार्वजनिक कम्पनी बनाउने प्रयत्न गर्नेछ । यस्ता कम्पनीहरुमा सर्वसाधारणहरुले लगानी गर्ने वातावरण बनाइनेछ । सुरुमा यस्ता कम्पनीहरुलाई हामी पुँजी बजारमा प्रवेश गर्न आग्रह गर्नेछौँ र आवश्यक परेमा बाध्यकारी व्यवस्था समेत गर्नेछौँ । मौखिक निर्देशशनले नभए हामी लिखित रुपमै पनि निर्देशन जारी गर्नेछौँ । निर्देशनको पालना नगर्ने कम्पनीहरुलाई कारबाहीको प्रक्रिया समेत अगाडी बढाउनेछौँ । नेपालको सेयर बजारका लागि यो एक अत्यावश्यक विषय भइसकेको छ । यो कुरा सरकारले पनि महशूस गरेको छ ।

नेपालको सेयर बजारको अधिकतम हिस्सा वित्तीय क्षेत्रको ओगटेको छ । सेयर बजारमा उत्पादनमूलक क्षेत्र एवम् रियल सेक्टरको हिस्सा अत्यन्त न्युन रहेको छ । अहिले नेपालको जलविद्युत्, उद्योग, हवाई लगायतका क्षेत्रमा राम्रा राम्रा कम्पनीहरु आइसकेका छन् । यस्ता कम्पनीहरुलाई पनि सेयर बजारको दायराभित्र ल्याउनु आवश्यक छ । यसले गर्दा, सेयर बजार दीगो व्यवस्थित हुनुका लागि लगानीकर्ताको लगानी विकेन्द्रिकृत समेत हुन गई जोखिम कम हुन्छ । 

सेयर बजार र राष्ट्रिय अर्थतन्त्र
वास्तवमा सेयर लगानीकर्ताका लागि मात्र नभएर सेयर बजारको विकास समग्र मुलुकको अर्थतन्त्रका लागि नै अत्यावश्यक छ । राष्ट्रिय पुँजी निर्माणको प्रमुख आधार भनेकै पुँजी परिचालन हो र पुँजी परिचालनको आधार पुँजी बजार हो । यसको मतलब, पुँजी बजारको विकासले राष्ट्रिय अर्थतन्त्र निर्माणमा ठूलो योगदान पुर्याउँछ । त्यसैले, धेरैभन्दा धेरै व्यक्ति सहभागी हुने गरी सेयर बजारको विस्तार गर्नु अत्यावश्यक रहेको छ ।

पुँजी बजारको विस्तार आवश्यक
पुँजी बजारको विस्तारका लागि थुप्रै उपायहरु छन् । अहिले सेयरको प्रथमिक निष्काशनका सीआस्वा प्रणाली लागू भएको छ । हरेकको हातहातमा स्मार्ट फोन र इन्टरनेट भएको अवस्थामा इन्टरनेटबाटै आफ्नो बैंक खातामा रहेको पैसाले सेयर किन्न सक्ने प्रविधिको सुरुवातले केही हदसम्म लगानीकर्ताहरुको संख्या वृद्धिमा मद्दत पुर्याउँछ र पुर्याइरहेको पनि छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिने कुरा पनि उठिरहेको छ । अहिले हरेक स्थानीय तहमा बैंक पुर्याउन जोड दिइरहेको अवस्थामा सबै बैंकबाट ब्रोकर सेवा पाउँदा मुलुकको थप जनसंख्या पनि सेयर बजारसँग जोडिन पाउने हुन्छ । यसका अलावा, सेयर बजारमा अझ धेरै कम्पनीहरुलाई सूचिकृत गराउने, व्यवस्थित बनाउने, सेयर एवम् यसमा प्रयोग हुने प्रविधि लगायतका विषयमा जनचेतना जगाउने लगायतका कार्यहरुमा जोड दिनुपर्छ । 

सुधारको आवश्यकता
वर्तमान समयमा नेपालको सेयर बजारमा केही समस्याहरु पनि देखिएका छन्, जसको समाधानतर्फ हामी तत्काल लाग्नुपर्ने हुन्छ । भौतिक पूर्वाधार, सूचना प्रविधिको विकास, संस्थागत सुशासन लगायतका कुराहरुमा सुधारको खाँचो रहेको छ । सरकारले बैंक, बीमा, सेयर बजार लगायत सबै क्षेत्रसँग सहकार्य गरी नेपालको पुँजी बजारलाई स्वस्थ बनाउने विभिन्न कदमहरु चाल्नेछ ।

नेपालको सेयर बजारमा हेज फण्डको आवश्यकता छ । त्यस्तै, म्युचुअल फण्डहरुको विकास पनि आवश्यकताअनुसार हुन सकेको छैन । गैरआवासीय नेपालीहरुलाई पनि हामीले सेयर बजारमा प्रवेश गर्न बाटो खोलिदियौँ, तर अहिलेसम्म यसको उपयोग भएको देखिँदैन । अहिले साना लगानीकर्ताहरुका लागि म्युचुअल फण्डको विकास हुनु जरुरी देखिएको छ । 

लगानीकर्ताको भेडे प्रवृत्ति
सेयर बजारमा भेडे प्रवृत्ति देखिएको छ । एउटाको लहलहैमा लागेर उसको वरिपरिका सबैले सेयर बजारमा लगानी गरिरहेका छन् । यसले गर्दा जोखिम बढिरहेको छ । त्यसैले, जोखिम लिन नसक्ने ससाना पुँजी भएका सर्वसाधारणहरुले म्युचुअल फण्डमा लगानी गर्नु उचित हुन्छ । यदि जोखिम बहन गर्ने आँट गरेर सेयर बजारमा प्रवेश गर्नुहुन्छ भने नाफा पनि तपाईँलाई हुन्छ र घाटा पनि व्यहोर्न सक्नुपर्छ । घाटा व्यहोर्न सकिँदैन भने त्यही अनुसारको लगानी गर्नुपर्छ । लगानी गर्नुअघि ध्यान नदिने र लगानी डुबेपछि कम्पनी अथवा सरकारलाई गाली गर्ने प्रवृत्ति गलत छ ।

सरकार निर्दोष
लगानीकर्ताले सेयर बजारमा गरेको लगानी डुब्नुमा सरकारको कुनै दोष हुँदैन । सेयर बजार घटबढ हुनुमा सरकारको नभएर स्वयम् लगानीकर्ताको नै हात हुने गर्दछ । सेयर बजारको लगानीको ग्यारेन्टी सरकारले लिँदैन । सरकारले त खाली बजारको दीगोपना र स्वस्थताका लागि आवश्यक नीति नियम एवम् एजेण्डाहरु बनाउने मात्रै हो । सरकार एवम् नियामकको नीति एवम् निर्देशनहरु आफू लगानी गर्न लागेको कम्पनीले पालना गरेको छ कि छैन भनेर बुझ्ने काम स्वयम् लगानीकर्ताको हो र यो काम सेयर खरिद गर्नुभन्दा अगाडी गर्नुपर्छ । (अर्थमन्त्री डा. खतिवडाद्धारा प्रथम क्यापिटल मार्केट एक्स्पोमा व्यक्त गरिएको विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]