May 9th, 2018

अर्थतन्त्र विकासका लागि पुँजी बजार महत्वपूर्ण

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पुँजी निर्माणका लागि पुँजी परिचालन हुनुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसरमा आयोजित क्यापिटल मार्केट एक्स्पो २०१८को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले पुँजी बजारमा धेरैभन्दा धेरै व्यक्ति सहभागी हुने वातावरण निर्माण गरिनुपर्ने बताए ।

सेयर बजारको विस्तारका लागि नियामक निकायले ध्यान दिनुपर्ने उनले बताए । यसका लागि ठूला कम्पनीहरुलाई धितोपत्र बजारमा सूचिकृत गराउन पहल गर्नुपर्ने उनको भनाई छ । यो पहलमा सरकारले पनि आफ्नो तर्फबाट नीति निर्देशनमार्फत सहयोग पुर्याउने उनले उल्लेख गरे । सरकारले बैंक, बीमा र सेयर बजार लगायत सबै क्षेत्रसँग सहकार्य गरेर पुँजी बजारलाई स्वस्थ बनाउने आश्वासन अर्थमन्त्री डा. खतिवडाले दिए ।

कार्यक्रममा विशेष अतिथिको मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले पुँजी बजारको विकास नभएसम्म समग्र मुलुकको नै आर्थिक विकास सम्भव नहुने बताए । नेपालमै पहिलोपटक आयोजना भएको क्यापिटल एक्स्पोले नयाँ लगानीकर्तालाई सेयर बजारमा प्रवेश गर्ने वातावरण निर्माण गर्ने विश्वास उनले व्यक्त गरे । साथमा, सेयर बजार जुवाघर नभएर लगानीको सुरक्षित क्षेत्र भएको भन्दै उनले यसतर्फ अग्रसर हुन सर्वसाधारणहरुलाई आग्रह समेत गरे ।

बीमा समितीका अध्यक्ष चिरञ्जिवी चापागाईँले बीमा क्षेत्रमा पनि पछिल्लो समय प्रतिष्पर्धात्मक वातावरण सिर्जना भएको जानकारी दिँदै बीमा समितीले जारी गरेको नीति निर्देशनका आधारमा कम्पनीको अवस्था बुझेर मात्रै बीमा कम्पनीहरुमा लगानी गर्न लगानीकर्तालाई सुझाए ।

त्यस्तै, नेपाल स्टक एक्स्चेञ्जका महाप्रबन्धक चन्द्रसिंह साउदले नेपालको सेयर बजार अन्य क्षेत्रभन्दा पछाडी नरहेको बताए । पहिले सेयर निष्काशनदेखि बाँडफाँड र लिस्टिङ सम्मका लागि चार महिना लाग्ने गरेकोमा अहिले घरबाटै सेयर लगानी गर्न सकिने अवस्थासम्म सेयर बजार आइसकेको र यसमा धितोपत्र बोर्डको ठूलो योगदान रहेको उल्लेख गरे । सेयरको दोस्रो बजार केही पछाडी रहेको स्वीकार्दै उनले यसको विकासका लागि तीव्र गतिमा काम भइरहेको समेत जानकारी दिए ।

उद्घाटन कार्यक्रमको अन्त्यमा सभापतिको मन्तव्य राख्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले कार्यक्रममा देखिएको बाक्लो उपस्थितीले सेयर बजारप्रति सर्वसाधारणले चासो रहेको प्रष्ट भएको बताए । सेयर बजारसँग सम्बन्धित मर्चेन्ट बैंकर, सेयर ब्रोकर, धितोपत्र बोर्ड, नेप्से, क्रेडिट रेटिङ कम्पनी लगायत सूचिकृत कम्पनीहरुको समेत सूचनामूलक स्टलहरु एक्स्पोमा रहेको जानकारी दिँदै उनले स्टलहरुको अवलोकन गरी सेयर बजारबारे स्पष्ट हुने अवसरको भरपूर उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक परिष्टथान पौड्याल, ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी, नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदी लगायतले स्वागत मन्तव्य राखेका थिए ।

धितोपत्र बोर्डद्धारा आयोजित प्रथम पुँजी बजार प्रदर्शनी २०७५ मा इभेन्ट मेनेजर मिडिया इन्टरनेशनल रहेको छ । एक्स्पोमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज, बीमा समिति, नेप्सेमा सूचिकृत कम्पनीहरु, क्रेडिट रेटिङ कम्पनी, क्लियरिङ हाउस, मर्चेन्ट बैंकर, सेयर ब्रोकर लगायतको १२० वटाभन्दा बढी स्टलहरु संचालनमा छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]