April 27th, 2018

प्रभु लाइफ इन्स्योरेन्सको गोंगबु शाखाबाट कारोबार सुरु

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले २०७५ बैशाख १३ गते विहिवारदेखि गोंगबु शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईले विहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरे । यसअघि कम्पनीले देशभित्र बिभिन्न स्थानहरुमा स्थापित आफ्ना १८ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

शुभारम्भ कार्यक्रममा बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए । नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुर्याउने कुरामा दुई मत नरहेको उनको भनाइ छ । उनले जीवन बीमा बजारमा सबै भन्दा कान्छो कम्पनी भएतापनि सवल ब्यवसायिक बृद्धितर्फ उन्मुख रहेको कम्पनीका रुपमा परिचित प्रभु लाइफ इन्स्योरेन्सको थप ब्यवसायिक सफलताको लागि शुभकामना समेत ब्यक्त गरे ।

कम्पनीका संचालक मनीराम पोखरेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्देश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे । “हामी शहरदेखि गाउँसम्मै जीवन बीमा सेवाको विस्तार गर्नेछौं” उनले भने ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले आगामी ३ बर्षभित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै साठी करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गरिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]