April 12th, 2018

नमुना बन्दै महिला सहकारी

प्रज्वल पहाडी । प्यूठानमा सञ्चालित महिला सहकारी संस्थाहरू सफल बन्दै गएका छन् । ग्रामीण क्षेत्रका महिलाले आयआर्जन गरेको रकम बचत गरी उनीहरूको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएका सहकारीहरू अहिले आत्मनिर्भरसँगै नमुना सहकारीको रूपमा परिचित भएका हुन् । 

०६२।६३ सालदेखि जिल्लाका विभिन्न क्षेत्रमा महिलाकै सक्रियतामा सहकारीहरू सञ्चालित हुँदै आएका छन् । महिलाको समूह मिलेर गठन गरिएका सहकारीले आफ्नै भवनसमेत निर्माण गरी काम थालेका छन् । सहकारीमार्फत आयआर्जनका क्रियाकलापमा लगानी गर्दै उद्यम व्यवसायमा प्रेरणा प्रदान गरिएको सहारा महिला बचत तथा ऋण सहकारी संस्था दाखाक्वाडीकी अध्यक्ष नारायणी पौडेलले बताइन् । संस्थाका महिलाहरू मिलेर चाउमिन उद्योग, बाँस प्रशोधन उद्योग, व्यावसायिक रूपमा च्याउ खेतीलगायतका सामूहिक व्यवसाय गर्दै आएको उनले जानकारी दिइन् । “आयआर्जनसँगै महिला सशक्तीकरणमा समेत सहकारीको भूमिका महत्वपूर्ण छ,” अध्यक्ष पौडेलले भनिन, “उद्यम व्यावसायिक क्षेत्रमा ऋण लगानीलाई प्राथमिकता दिँदै आएका छौं ।” सहकारीका सदस्यले व्यक्तिगत रूपमा अदुवा खेती, कुखुरापालन, किराना पसललगायतका व्यवसाय सञ्चालन गरी राम्रो आयआर्जन गरेका छन् । 

जिल्लामा महिला सहकारीको संख्या २८ पुगेको महिला तथा बालबालिका कार्यालय प्यूठानले जनाएको छ । महिला तथा बालबालिका कार्यालयको सहजीकरणमा २२ वटा र गैरसरकारी संस्थाको सहजीकरणमा ६ वटा महिला सहकारी सञ्चालनमा रहेको कार्यालयका महिला विकास निरीक्षक माया श्रेष्ठले जानकारी दिइन् ।

०७४ असार मसान्तसम्मको तथ्यांकअनुसार सहकारीको पुँजी १ करोड ९६ लाख ९८ हजार ८ सय ९८ र बचत ४ करोड ९४ लाख ४० हजार ३ सय ११ रूपैयाँ रहेको छ । “महिला समूह, समिति र सहकारी निर्माणमा कार्यालयले सहयोग गर्दै आएको छ,” उनले भनिन्, “आवश्यकताअनुसार कार्यालयबाट विभिन्न तालिमसमेत दिँदै आएका छौंं ।” सहकारीको भवन निर्माणमा समेत सहयोग गर्दै आएको उनले बताइन् । कारोबार दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]