April 1st, 2018

सहकारीले युवा उद्यमी बढे

भगीरथ अवस्थी – बैतडी जिल्लाको पाटन नगरपालिका ८ खोड्पेका ४२ वर्षीय रामसिंह विष्ट निकै खुसी देखिन्छन् । सहकारीबाट सहुलियत दरमा ऋण प्राप्त गरेपछि कुखुरापालन व्यवसाय सुरु गर्न पाउने भएकाले उनी खुसी भएका हुन्। गाउँघरमै केही गर्न सकिन्छ कि भन्ने सोच भएको उनले बताए। पुँजी अभावमा व्यवसाय गर्न नसकेका युवालाई सहकारीले बाटो खोलिदिएको छ। उनले भने, ‘सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट १० प्रतिशत ब्याजदरमा दुई लाख ऋण प्राप्त गरेपछि कुखुरापालन व्यवसाय अघि बढाउने तयारी गरेको छु। यसैबाट घरपरिवार धान्ने सोच बनाएको छु।’

जिल्लाका धेरै किसानले भैंसी पाल्न छोडिसकेका छन्। तर खोड्पेका कृष्णसिंह महरा भने व्यावसायिक रूपमा भैंसी पाल्ने योजनामा छन्। ‘सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाले सहुलियत दरमा ऋणका लागि आवेदन माग गरेको थियो। ‘मैले भैंसीपालन व्यवसायलाई अघि बढाउने उद्देश्यले ऋण मागेको थिएँ। ऋण स्वीकृत भएर मैले पैसा पनि पाइसकेको छु’, उनले भने, ‘नजिकै खोड्पे बजार छ। भैंसीबाट उत्पादन भएको दूधको बजारका लागि चिन्ता छैन। भारत गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गरुँ भन्ने उद्देश्यले भैंसीपालनको तयारी गरेको छु।’

रामसिंह र कृष्णसिंहजस्तै सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट पहिलो चरणमा ११ जना युवा उद्यमीले विभिन्न उद्यम सञ्चालनका लागि सहुलियत दरमा ऋण पाइसकेका छन्। अन्य उद्यमीबाट सहुलियत दरमा ऋण लगानीको आवदेन आह्वान गरेको सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिश विष्टले बताए। युवा स्वरोजगार कार्यक्रमअन्तर्गत युवा स्वरोजगारको सचिवालयबाट पाँच प्रतिशत ब्याजदरमा ४० लाख ऋण लिएको उनले जानकारी दिए। उनले थपे, ‘१० प्रतिशतका दरले युवा उद्यमीलाई लगानी गरिरहेका छौं। यसले गर्दा ग्रामीण क्षेत्रका युवा उद्यमी बन्नेछन् भन्ने हाम्रो विश्वास छ।’

जिल्लाका पाँचवटा सहकारी संस्थाले युवा स्वरोजगार कोषबाट सहुलियत दरमा ऋण लिएर लगानी सुरु गरेको युवा स्वरोजगार कोष जिल्ला अनुगमन तथा संयोजन समितिका सदस्य सचिव विक्रम कुँवरले बताए। उनले भने, ‘पहिला सिधै कृषि विकास बैंकमार्फत स्वरोजगार कोषको रकम लगानी भएको थियो। त्यो लगानी डुबेजस्तै छ। अब त्यसो नहोस् भनेर सहकारीमार्फत लगानी गरेका हौं।’

सहकारीमार्फत गरिने लगानी बिनाधितो गर्ने गरिएको कुँवरले बताए। ‘अहिले हामीले उद्यमीको इच्छा, आकांक्षा हेरेर मात्रै लगानी गरिरहेका छौं। यसले लगानी पनि नडुब्ने र युवामा उद्यमशिलताको विकास हुने आशा गरेका छौं।’

जिल्लामा सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था खोड्पेले ४० लाख, कुवाकोट साना किसान कृषि बहुउद्देश्यीय सहकारी संस्था पुरचौंडीले ५० लाख, जगन्नाथ कृषि सहकारी संस्था शाहीलेकले २० लाख, पुरचौंडी कृषि बहुउद्देश्यीय सहकारी संस्थाले ५० लाख र शिवशक्ति कृषि सहकारी संस्था भौनेलीले ३० लाख लगानी गर्ने तयारी गरेका छन् । यी सहकारी संस्थाले युवा स्वरोजगार कोषको सचिवालयबाट सहुलियत दरमा ऋण प्राप्त गरिसकेका छन् । अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]