April 1st, 2018

असार मसान्तसम्म सबै स्थानीय तहमा बाणिज्य बैंक पुग्छन्

नारायण प्रसाद पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक 
माघ मसान्तको तथ्यांकअनुसार अझैपनि नेपालका आधाभन्दा बढी स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । हामीले बजेट, सामाजिक सुरक्षाभत्ता लगायतका कारोबारहरु बैंकबाट मात्रै गर्ने भनेका छौँ । यसका लागि  हरेक स्थानीय  तहमा बैंक पुग्नु जरुरी छ । बजेटमा पनि हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने भनेर उल्लेख गरिएको छ । 

सरकारी खाता वाणिज्य बैंकमा मात्रै
सरकारले बजेट निकासीको खाता वाणिज्य बैंकमा मात्रै खोल्ने व्यवस्था गरेको छ । नेपाल सरकारले आफ्नो सरकारी खाता केकसरी संचालन गर्ने भनेर एउटा कार्य्विधि बनाएको छ । सोही अनुसार, एउटा खाता वाणिज्य बैंकमा नै हुनुपर्ने प्रावधान छ । यो सुविधा अहिले तत्कालका वाणिज्य बैंकहरुमा मात्रै रहेको छ । यही कारणले गर्दा स्थानीय तहमा वाणिज्य बैंक नै पुर्याउन हामीले जोड दिइरहेका छौँ । योजनाअनुसार, चालू आर्थिक वर्षभित्रमा नै सबै स्थानीय तहमा वाणिज्य बैंक पुगोस भन्ने हाम्रो चाहना हो ।

चालू आवमै बैंक पुर्याउन सम्भव छ
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्रमा नै सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने नीति लिएकोमा सोहीअनुरुप वाणिज्य बैंकहरुलाई निर्देशन पनि दिइएको थियो । बैंक नपुगेका ३५९ वटा स्थानीय तहमा शाखा पुर्याउने भनिएकोमा बैंकहरुले २४३ स्थानमा मात्र शाखा खोल्ने प्रतिबद्धता जनाएका थिए । बाँकी ११६ वटा स्थानीय तहमा भने बैंकहरु जान मानेका थिएनन् । यी स्थानीय तहमा पूर्वाधार, सुरक्षा लगायतको कारण देखाएर बैंकहरुले शाखा विस्तार गर्न आनाकानी गरेका हुन् । पछि बैंकहरु जान नमानेका ११६ मा पनि शाखा खोल्न हामीले निर्देशन दिएका थियौं । त्यसपछि बैंकहरुले स्वेच्छिक रूपमा ४० वटा शाखा खोल्ने जनाएका थिए । बाँकी ७६ स्थानमा शाखा खोल्न कुनै पनि बैक तयार भएनन् । ती स्थानीय तहहरुमा शाखा खोल्न नेपाल राष्ट    « बैंकले २१ वटा बैंकलाई जिम्मा लगाएको छ । हामीले स्थानीय निकाय नै तोकेर यी बैंकहरुलाई  शाखा खोल्न भनेका छौँ । सबै स्थानीय तहमा असार मसान्तभित्रै बैंक शाखा पुर्याउन सम्भव भएरनै नेपाल राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । 
 
पूर्वाधारका लागि अर्थमन्त्रालयसँग समन्वयन
कुनै स्थानीय तहमा पूर्वाधारका कारण शाखा संचालनमा समस्या आउन सक्छ । यदि, विजुली, इन्टरनेट लगायतका पूर्वाधारका कारण समस्या आउने देखिएमा हामीले अर्थमन्त्रालयसँग समन्वय गर्ने भनेका छौँ । पूर्वाधार नभएर बैंक संचालन गर्न नसक्ने देखिएका स्थानीय तहमा पूर्वाधार पुर्याउने कुरामा अर्थमन्त्रालयको सहयोग रहनेछ । 
बैंकिङ खबरसँगको कुराकानीमा आधारित 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]