March 30th, 2018

सहज बन्दै बैंक बीमा

रञ्जनहरि कोइराला । केही समयअघि सनराइज बैंक लिमिटेडले आफूले सञ्चालनमा ल्याएको ‘बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था’अन्तर्गतको बीमा रकम भुक्तानी गरेको थियो। बीमाअन्तर्गत बैंकका निक्षेप ग्राहक मीनबहादुर सिलवालको नाति सानो कान्छा सिलवालका छोरा ललितपुर विशंखुनारायण बस्ने दशरथ सिलवाल घाइते भई उपचारका क्रममा निधन भएपछि मृतकको नाममा बैंकको टौखेल शाखामा रहेको निक्षेप रकमको चार गुणा अर्थात् पाँच लाखबराबरको रकम हस्तान्तरण गरिएको थियो। बैंकले आफ्ना बचत खाताका ग्राहकको सुविधाका लागि शिखर इन्सुरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा प्रदान गर्दै आएको उक्त सेवाबाट सिलवाल परिवारलाई केही हदसम्म भए पनि राहत मिल्यो।

सनराइज बैंकले ‘बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था’अन्तर्गत रहेर उक्त बीमा रकम भुक्तानी गरेको थियो। बैंकले दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी रूपमा व्यक्ति अशक्त भएमा पाँच लाखमा नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको चार गुणासम्म दाबी गर्न सक्ने सुविधा दिएको छ।

आफ्ना बचत खाताका ग्राहकको सुविधाका निमित्त शिखर इन्सुरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा सञ्चालनमा ल्याएको ‘बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था’ले बैंकमा रकम जम्मा गर्ने सिलवालजस्ता धेरैको परिवारले बीमा पाएका छन्।

सनराइज बैंकले बीमा रकम भुक्तानी गरेको यो त एउटा उदाहरण मात्र हो। सनराइज बैंकले जस्तै अहिले नेपालमा रहेका धेरैजसो बैंकले आफ्ना बचतकर्तालाई बीमा सुविधा उपलब्ध गराउँदै आएका छन्। फरक यति मात्र हो, सबैका आआफ्नै योजना र सेवा छन्। बीमा कम्पनीमा मात्र बीमा हुन्छ भन्ने मनसाय भएको हाम्रा लागि यो नयाँ हुन सक्छ।

तर अहिलेको समयमा भने बैंकले आफ्ना बचत खातावाल ग्राहकका लागि पनि यस्तो सुविधा दिइरहेका छन्। कतिपय बैंकमा ग्राहकले बचत खाता खोल्नेबित्तिकै यो सेवा उपलब्ध छ भने कतिपय बैंकले कुनै विशेष बचत योजनमा बीमा सुविधा उपलब्ध गराएका छन्। जस्तो, नेपाल बैंगलादेश बैंकले आफ्ना ग्राहकलाई बैंकमा बचत खाता खोल्नेबित्तिकै बीमा सेवा उपलब्ध गराउँछ।

त्यसका लागि बैंकको खातामा न्यूनतम १० हजार रूपैयाँ भने हुन जरुरी छ। यदि उक्त बचतकर्तालाई कदाचित् केही भएमा पाँच लाखमा नबढ्ने गरी उसको खातामा रहेको मौज्दातको चार गुणा अथवा पाँच लाखसम्म बैंकले बीमा रकम उपलब्ध गराउँछन्। यस्तोमा बैंकले विशेषगरी दुर्घटना बीमा मात्र प्रदान गर्छन्।

बैंकले दिएको यस्ता सेवाले मान्छेलाई बीमाप्रति आकर्षित गराएको छ। अर्कोतर्फ बीमा कम्पनीकै व्यवसायमा बैंकले सहयोग गरिरहेका छन्।

त्यस्तै लक्ष्मी बैंकले ‘अरेन्ज सेभिङ’ र ‘धनलक्ष्मी’ बचत खातमा क्रमशः १० हजार र पाँच हजार मौज्दात भएमा दुर्घटना बीमास्वरूप पाँच लाखभन्दा नबढ्ने गरी बीमा रकम उपलब्ध गराउँछ। कुमारी बैंकले कुमारी स्वास्थ्य जीवन बचत खातामा ग्राहकलाई न्यूनतम मौज्दात पाँच हजारसम्म रहेमा १० हजारसम्मको मेडिकल इन्सुरेन्स प्रदान गर्दै आएको बैंकले जनाएको छ।

सनराइज बैंकले सनराइज हेल्थ इन्सुरेन्स खातमा बचतकर्तालाई अस्पतालमा भर्ना भई स्वास्थ्योपचार गराउँदा लाग्ने खर्चको एक लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन न्यून हुन्छ, उक्त रकम दाबी गरेमा प्राप्त गर्न सकिने बैंकले बताएको छ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ‘एनसीसी उत्सव बचत खाता’मा निक्षेपकर्ताको १० हजारसम्मको निःशुल्क औषधोपचार बीमा प्रदान गर्दै आएको छ। ‘यी सबै बैंकले आफ्ना ग्राहकलाई दिएको सेवा हो’, नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह भन्छन्, ‘बैंकले दिएको यस्ता सेवाले मान्छेलाई बीमाप्रति आकर्षित गराएको छ।

अर्कोतर्फ बीमा कम्पनीकै व्यवसायमा बैंकले सहयोग गरिरहेका छन्।’ बैंकले दिने यस्ता बीमाले बीमा कम्पनीलाई आफ्नो पहुँच विस्तार गर्न सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

शाहका अनुसार बैंकले उपलब्ध गराउने बीमा विशेषतः दुई किसिमको हुन्छ। एउटा ग्रुप इन्सुरेन्स र अर्काे बैंकासुरेन्स। बैंकले कुनै बीमा कम्पनीसँग बैंकको सबै बचत खाताका लागि एकमुष्ट रूपमा एक–दुई लाखसम्मको बीमा गरेको हुन्छ, त्यो ग्रुप इन्सुरेन्स हो। यस्तो ग्रुप इन्सुरेन्समा यदि कुनै पनि ग्राहकमा केही भएको खण्डमा उसले अथवा उसका परिवारले दाबी गरेमा बैंकले उक्त बीमा रकम उठाएर ग्राहकलाई दिने गर्छ। यो खातावालाको सुरक्षाका लागि हो।

यो सबैं बैंकमा हुन्छ भन्ने हुँदैन। अर्को भनेको बैंकासुरेन्स हो। बैंकहरू नै बीमा कम्पनीका एजेन्ट बन्छन्। एजेन्ट बनिसकेपछि बैंकले ग्राहकलाई इन्सुरेन्स बेच्ने काम गर्छ। यसमा ग्राहकले लाइफ, ननलाइफका साथै अन्य कुनै पनि इन्सुरेन्स सेवा बैंकबाटै किन्न सक्नेछन्। त्यो इन्सुरेन्स बेचेमार्फत बैंकले पनि अरू बीमा एजेन्टले जस्तै कमिसन पाउने हो।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाका अनुसार बैंकले दिने बीमा सेवा बैंकको आफ्नै प्रोडक्ट होइन। यो बीमा कम्पनीसँग बैंकले सहकार्य गरेर बैंकका ग्राहकलाई बेनिफिटका रूपमा सेवा उपलब्ध गराएको हो। जस्तो नेपाल–बंगलादेश बैंकले पनि कुनै ग्राहकले बचत खाता खोल्यो भने उसलाई दुर्घटना बीमा प्रदान गर्छ।

बैंकले दिने बीमा सेवा बैंकको आफ्नै प्रोडक्ट होइन। यो त बीमा कम्पनीसँग बैंकले सहकार्य गरेर बैंकका ग्राहकलाई बेनिफिटका रूपमा सेवा उपलब्ध गराएको हो।

ग्राहकलाई कदाचित् केही भएमा पाँच लाखमा नबढ्ने गरी उसको खातामा रहेको मौज्दातको चार गुणा अथवा पाँच लाखसम्म प्रदान गर्दै आएको छ। यसका लागि बैंकले कुनै बीमा कम्पनीसँग सहकार्य गरेको हुन्छ।

‘मानिसमा बैंकले दिने बीमा भनेको बैंकको आफ्नै प्रोडक्ट हो भन्ने भएको छ’, ढुंगानाले भने, ‘बैंक आफैंले यो सेवा दिने भन्ने होइन। बैंकलाई बीमासम्बन्धी जानकारी नै हुँदैन। र राष्ट्र बैंकले पनि यस्तो गर्न दिँदैन। अहिले बैंकले बीमा कम्पनीसँग सहकार्य गरेर बिभिन्न बीमा सेवा दिइरहेका छन्। ती सबै बीमा कम्पनीकै प्रोडक्ट हुन्। ‘हामीले उनीहरूको सेवा ग्राहकलाई प्रदान गरिरहेका मात्रै हौं’, उनले भने।

जस्तो बैंकले अहिले बैंकमा बचत खाता खोल्दा कुनै हस्पिटलसँग सहकार्य गरेको छ भने उक्त हस्पिटलमा जाँच गराउँदा छुट, कुनै स्टोरमा सहकार्य गरेर उक्त स्टोरबाट बैंकका ग्राहकले सामन किन्दा सीमित मात्रामा छुट दिए जस्तै हो यो बीमा पनि। ‘बैंकले मात्र सुविधा प्रदान गरेको हो। यो थप सुविधा मात्र हो’, उनले थपे, ‘यसका लागि बैंक आफैंले ग्राहकको बीमाको प्रिमियम पनि तिर्छ। यस्तोमा बैंकले ५०–६० लाख रुपैयाँ वार्षिक बीमा कम्पनीलाई प्रिमियम तिरिरहेको हुन्छ।’

यसले बीमा कम्पनीलाई अझ सहज भएको शाहले बताए। ‘बीमा कम्पनीले जति धेरै बीमा बेच्न सक्यो, त्यति नै धेरै पैसा कमाउँदै जाने हो, उनीहरूलाई बेच्नै गाह्रो भइरहेको अवस्थामा बैंकहरूले उनीहरूलाई अझ सहज बनाइदिएको छ’, उनले भने। उनका अनुसार अहिले बीमा कम्पनीको पहुँच नेपालमा ४ प्रतिशत हाराहारीमा छ।

‘बैंकको पहुँच अहिले ४०–४५ प्रतिशतको हाराहारीमा पुगेको छ। यसले बीमा कम्पनीलाई बैंकको त्यति ठूलो ग्राहकसम्म पुग्न मद्दत गरेको छ’, उनले भने। आफ्नो पहुँच नभएको ठाउँमा बैंकमार्फत बीमा कम्पनी ग्राहकमाझ पुगिरहेका छन्। ‘मेरो विचारमा यो बीमा कम्पनीका लागि सबैभन्दा उत्कृष्ट माध्यम हो’, शाहले भने, ‘पैसा भएका मान्छेले बैंकमा खाता खोल्ने हो। हामीले ती ग्राहकलाई इन्सुरेन्स बेच्यौं भने बीमा कम्पनीलाई पनि फाइदा हुन्छ।’

शाहका अनुसार अहिले बैंकले दिने र इन्सुरेन्स कम्पनीले दिने बीमाको सेवा फरक भन्ने भएको छ। त्यो गतल हो। बैंकले दिने भनेको बीमा सेवा पनि बीमा कम्पनीकै हो। यति हो, बैंकले बीमा कम्पनीसँग सहकार्य गरेर बैंकमा बचत गर्ने ग्राहकलाई सुरक्षा प्रदान गर्ने काम गरेको हो। त्यसैले बैंकहरू भनेको बीमा कम्पनीको एजेन्ट मात्र हो भनेर बुझ्दा राम्रो हुन्छ। बैंकहरूको आफ्नै बीमा भन्ने हुन्ने नै हुँदैन।

अध्यक्ष ढुंगानाका अनुसार यो सेवा कतिपय बैंकमा ग्राहकले खाता खोल्नैबित्तिकै पाउँछन् भने कतिपय बैंकमा यसको केही थप प्रक्रिया हुन सक्छ। प्रायः बैंकले आफ्ना ग्राहकको बचतका सुरक्षाका लागि यो सेवा दिइरहेका छन्।

तर यसबारे चासो र जानकारी नहुँदा भने कतिपय ग्राहक सेवाबाट वञ्चितसमेत हुने गरेका छन्। ग्राहकलाई आफूले बैंकमा पैसा बचत गर्दा बीमा हुन्छ भन्ने थाहा नहुँदा उनीहरू बीमा दाबी गर्नसमेत आउँदैनन्। त्यसैले बैंकबाट भएको बीमाको दाबी नगण्य मात्रामा रहेको देखिन्छ। अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]