March 20th, 2018

निष्कृय कोषको रकमबारे खोजी शुरू

विजय दमासे । सरकारले राज्यकोषमा रहेको निष्कृय रकमबारे खोजी कार्य शुरू गरेको छ । सरकारी कोषमा ठूलो रकम रहेको भए पनि सरकारलाई स्रोत व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि यसबारे खोजी कार्य शुरू गरिएको हो । अर्थ मन्त्रालयका अनुसार राज्यका विभिन्न कोषमा रहेको रकम परिचालन गर्नेबारे अर्थ मन्त्रालयले काम अघि बढाएको हो । बजेट तथा कार्यक्रम महाशाखाका अनुसार सरकारी कोषमा केकति रकम निष्क्रिय अवस्थामा छ भन्नेबारे विवरण सङ्कलनको काम अर्थ मन्त्रालयले गरिरहेको छ ।

पछिल्लो समय स्रोत व्यवस्थापनमा सरकारलाई निकै समस्या पर्दै आएको छ । अर्धवार्षिक समीक्षामार्फत सरकारले स्रोत व्यवस्थापनमा देखिएको समस्या हल गर्न सरकारी कोषमा जम्मा भएर पनि निष्क्रिय अवस्थामा रहेको रकम परिचालन गर्ने नीति लिएको थियो । सोही नीतिअनुरूप राज्य कोषमा निष्क्रिय रूपमा रहेको रकमबारे अर्थ मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न लागेको महाशाखाका उपसचिव ईश्वरीप्रसाद अर्यालले अभियानलाई जानकारी दिए । उनले भने, ‘सरकारी कोषमा केकति रकम निष्क्रिय रूपमा छ भन्नेबारे अर्थ मन्त्रालय जानकार छैन, यसबारे तथ्याङ्क सङ्कलनको काम शुरू भइसकेको छ ।’

महाशाखाका अनुसार महालेखा नियन्त्रकको कार्यालयलाई अर्थ मन्त्रालयले सरकारी कोषमा रहेको निष्क्रिय रकमबारे जानकारी पठाउन पत्राचार गरिसकेको छ ।

अर्यालले अभियानसँग भने, ‘कुन कुन निकायको केकति रकम परिचालन हुन सकेको छैन, यसबारे जानकारी दिन महालेखा नियन्त्रकलाई अर्थले भनिसकेको छ, जानकारी आएपछि उक्त रकम के कसरी कुन कुन शीर्षकमा प्रयोग गर्ने भन्ने विषयमा छलफल अघि बढाउँछौं ।’ सो विषयमा सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले छिट्टै नै अर्थ मन्त्रालयलाई जवाफ पठाउने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘कोषमा भएको रकमबारे ड्राफ्ट तयार हुँदै छ, छिट्टै अर्थ मन्त्रालयलाई जानकारी दिन्छौं ।’ यस्तै, चालू आर्थिक वर्षको बजेटअनुसार उठाउनुपर्ने बाँकी रू. ३० अर्ब २१ करोड आन्तरिक ऋण परिचालन गर्नसमेत अर्थले प्रक्रिया अघि बढाइसकेको छ । आर्थिक अभियानमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]