March 13th, 2018

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चावहिलमा

मुक्तिनाथ विकास बैंक लि.ले काठमाण्डौ उपत्यका भित्र नवौं शाखाको रुपमा काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहिल, (गोपीकृष्ण) मा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले मंगलबार गरे ।

उक्त समुद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले स्वागत मन्तव्य तथा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा मन्तव्य राखेका थिए । यसै सन्दर्भमा मुक्तिनाथ विकास बैंकको आधुनिक बैंकिङ्ग तथा लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिईने बताए ।

उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोलले अनुशासित वित्तीय सेवा प्रदान गर्न सुझाव दिए । ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरले मानवको स्वास्थ्यसंगै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न सकिने बताए । शुभकामना मन्तव्यकै क्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीहरुसँग बैंकहरुको पनि सहकार्य आवश्यक रहेको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकता दिन अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर थापाले मुक्तिनाथ विकास बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा यो बैंक एक गतिशील र विश्वासिलो संस्थाका रहेको बताए । समुद्घाटन समारोहका अध्यक्ष तथा बैंक संचालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै वित्तीय सेवाको स्तर ग्राहकको सन्तुष्टिले मात्र मापन गर्न सकिने र बैंकको स्थापना कालदेखि हालसम्ममा बृद्धि भएको ग्राहक संख्याले मुक्तिनाथ विकास बैंकको सेवा प्रति ग्राहकहरु सन्तुष्ट हुनु भएको भन्ने मान्न सकिने बताउँदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरे ।

मुक्तिनाथ विकास बैंकको हाल ७४ वटा शाखाहरु संचालनमा छन् भने काठमाण्डौ उपत्यकामा महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आईसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]