February 20th, 2018

नेपालको पुँजी बजार : समस्या र सुधारका पक्षहरु

ध्रुव तिमल्सिना, अध्यक्ष, मर्चेन्ट बैंकर्स संघ । पुँजी बजार वित्तीय क्षेत्रको एक महत्वपूर्ण अंग हो । विश्वका कुनै पनि मुलुकको विकासका लागि पुँजी बजारको उपयोग हुने गर्दछ । अहिले नेपाल ठूलो राजनीतिक परिवर्तनबाट अघि बढिरहेको अवस्थामा विकास निर्माणका लागि स्रोत जुटाउनुपर्ने ठूलो चुनौति छ । उक्त स्रोत जुटाउन बैंक, बीमा लगायतसँगै पुँजी बजारको पनि ठूलो योगदान रहन्छ । अब आउने दिनहरुमा यसको भरपुर उपयोगको लागि पुँजी बजारलाई अगाडी सारिनेछ भन्ने मलाई लाग्छ । 

अन्तर्राष्ट्रिय प्रचलनअनुसार नीतिनियम आवश्यक
नेपालको पुँजी बजारको विकासका लागि नीति नियमका कुराहरुमा स्पष्टता हुनु जरुरी छ । पुँजी बजारको प्रयोग गरेर आफ्नो व्यवसाय विस्तार गर्न सक्ने किसिमको वातावरण तयार हुनुपर्छ । यसको लागि नियमन निकाय तथा सरकार दुवै मिल्नु जरुरी हुन्छ । लगानीकर्ताहरुको संरक्षण गर्नु पनि आवश्यक रहेको छ । यी सबै कुराहरुलाई समेटेर एउटा अन्तर्राष्ट्रिय प्रचलनअनुसारको नीति निर्माण हुनुपर्छ ।

सेयर बजारमा पुँजी परिचालन
सेयर बजारमा पुँजी परिचालन दुई किसिमले हुन्छ । सार्वजनिक निष्काशन अर्थात आईपिओ र एफपिओमार्फत परिचालन हुन्छ । यसमा लगानीकर्ताले लगानी गर्छ र व्यवसायीले पुँजी संकलन गर्छ । त्यस्तै, लगानीकर्ताले गरेको लगानी आफूले चाहेको खण्डमा झिकेर लैजान मिल्ने गरी दोस्रो बजारमार्फत पनि पुँजी परिचालन हुन्छ ।  

सेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु
सेयर बजारमा लगानी गर्दा थुप्रै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । सार्वजनिक निष्काशन गरेका कम्पनीहरुको बारेमा सबै कुरा स्पष्ट रुपले नबुझिकन लगानी गर्नु हुँदैन । त्यस्तै, दोस्रो बजारमा सेयर ब्रोकरहरुमार्फत कारोबार गर्छौँ । यो समयमा पनि कम्पनीको अवस्था हेरेर मात्रै कारोबार गर्नुपर्ने हुन्छ । आफूले गर्न लागेको लगानीको ठाउँ ठिक छ कि छैन, प्रतिफल पाइन्छ कि पाइँदैन भनेर पहिले नै विचार पुर्याउनुपर्छ । 

लगानीकर्ताले आफ्नो आर्थिक अवस्था पनि हेर्नुपर्छ । तपाईँको आफ्नो बचत लगानी गर्दै हुनुहुन्छ भने खासै फरक नपर्न सक्छ । तर, यदि, तपाईँले ऋण लिएर सेयरमा लगानी गर्दै हुनुहुन्छ भने व्याज तिर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा समस्या आउन सक्छ । त्यसैले, आफ्नो अवस्थाअनुसार उचित योजना बनाएर मात्रै लगानी गर्नुपर्छ । मैले लगानी गर्ने कम्पनीको आज बजार अवस्था कस्तो छ, भोली बजार तल जाँदा कसरी कभर गर्ने लगायतको योजना पहिले नै बनाएको हुनुपर्छ । 

एउटा कम्पनीको ब्यालेन्स सिट अध्ययन गर्नु भनेको सानो कुरा होइन । एउटा एमबिए गरेर आएको मान्छेलाई समेत राम्रो कम्पनी छनौट गरेर लगानी गर्न गाह्रो हुन्छ भने सर्वसाधारणहरुका लागि झन् बढी  अध्ययनको जरुरत पर्छ । 

यसबाहेक, सेयर बजारमा अरु लगानी मेकानिजम पनि हुन्छ । तपाईँ आफैँले लगानी गर्न सक्नुभएन भने लगानी व्यवस्थापन गरिदिने व्यवस्थापक अर्थात पोर्टफोलियो मेनेजरहरु हुन्छन् ।

त्यसैगरी, सामुहिक लगानी कोषहरु पनि छन्, जसले तपाईँहरुबाट पैसा उठाएर बजारमा लगानी गरिदिन्छन् र त्यसको निश्चित प्रतिफल पनि दिन्छन् । 

नेपालको पुँजी बजारको अवस्था
नेपालको पुँजी बजार विस्तारै विकसित भइरहेको छ । सार्वजनिक निष्काशनमा नयाँ नयाँ प्रयोगहरु भएका छन् । पुँजी बजारको नियमक निकाय धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा आस्वा प्रणाली लागू गरेर मुलुकको जुनसुकै ठाउँबाट पनि लगानी गर्न सक्ने अवस्थाको विकास गरेको छ । दोस्रो बजारमा भने सीमित क्षेत्रमा मात्रै लगानी गर्न सकिने अवस्था छ । 

सेयर बजारमा विभिन्न समयमा विभिन्न समस्याहरु देखा पर्ने गरेका छन् । मूख्य कुरा नेपालको पुँजी बजारमा नीतिगत अस्पष्टता छ । यद्यपि, धितोपत्र बोर्डले पछिल्लो समय ल्याएका विभिन्न कार्यक्रमहरुले मुलुकको पुँजी बजारमा सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने आशा गरिएको छ । छिटै नै पुँजी बजारले निकै ठूलो फड्को मार्नेछ । दोस्रो बजारको विकास पनि सोही गतिमा अगाडी लगिनेछ । राजधानीमा आयोजित बैंकिङ एक्स्पो कार्यक्रममा व्यक्त विचारका आधारमा


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]