February 19th, 2018

एकै वर्षमा होटल क्षेत्रमा आठ अर्ब लगानी थपियो

लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी भएको छ । पछिल्लो एक वर्षमा मात्रै सेवा क्षेत्रको रुपमा रहेको होटलमा लगानी गर्नेको संख्यासँगै लगानीको मात्रा समेत बढेको हो । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकाँक्षी लक्ष्य अगाडि सारेर सेवा क्षेत्रमा लगानीको मात्रा बढाउन गरेको सहज व्यवस्थाका कारण नयाँ व्यवसायी समेत सो क्षेत्रमा आकर्षित भएका हुन् ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्ने निजी व्यवसायी तथा उद्यमीको माग बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यका बाहिर होटल खोल्न सहज कार्य्विघि कार्यान्वयनमा ल्याएपछि आर्कषणको मात्रा बढेको हो । पछिल्लो पटक टाइगर प्यालेस रिसोर्ट भैरहवा (पाँच तारे), होटल इच्छा बारा (चार तारे), कृष्णा होटल नेपालगञ्ज (चार तारे)  होटल सञ्चालनमा आइसकेका छन् ।

यस्तै राजधानीकै नक्सालमा जे डब्ल्यू म्यारियट र ठमेलमा समेत नयाँ होटल खुल्ने तयारीमा रहेको छ । यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घलेको लगानी रहेको होटल शेराटन निर्माणाधीन अवस्थामा छ । पर्यटकको आगमन र रोजगारीको अवसर वृद्धिका लागि नयाँ÷नयाँ होटल सञ्चालनमा आउनु नेपालको पर्यटन बजारका लागि सुखद देखिन्छ ।

विदेशमा सञ्चालनमा रहेका र नेपालमा समेत शाखा खोल्ने लक्ष्यका साथ विदेशी होटल सेवा प्रदायक समेत पछिल्लो दिनमा आर्क्षित भएका छन् । अन्तर्रा्ष्ट्रिय ‘चेन होटल’ को रुपमा त्यस्ता संस्था वा निकायले नेपालमा एक दर्जनको हाराहारीमा आफ्ना शाखा विस्तार गरेका छन् ।

त्यस्ता होटलको सम्पूर्ण व्यवस्थापनको दायित्व समेत नेपालीलाई नै दिइएको छ । रोजगारीको अवसर तथा अन्तर्रा्ष्ट्रिय प्रविधि भित्र्याउन समेत त्यस्ता चेन होटल सहायक सिद्ध हुने होटल एशोसियशन अफ नेपाल९हान०का महासचिव विनायक शाहले बताए ।

लगानीमैत्री वातावरणका कारण होटलमा लगानी गर्ने वातावरण बढ्दै गएको भन्दै महासचिव शाहले आगामी केही वर्ष्भित्रै नेपाल संसारका आर्कषक गन्तव्यका रुपमा परिचित दाबी गरे ।

हाल सञ्चालनमा रहेका होटलमा ४५ हजार बेड संख्या पुगेको छ । आगामी तीन वर्ष्भित्र थप चार हजार बेड थपिनेछन् । सो संख्या थपिएपछि करिब ३० लाख पर्यटकलाई सेवा दिन सकिने हानका महासचिव शाहको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा समेत सेवा क्षेत्रमा सकारात्मक प्रभाव परेको जनाइएको छ । समीक्षा अवधिमा कूल सेवा आयमा ११.७ प्रतिशत र कूल सेवा खर्च १९.८ प्रतिशतले बढेको देखिन्छ । पछिल्लो समय लगानीको मात्रामा समेत वृद्धि भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रले पनि पछिल्लो दिनमा होटल तथा सेवा क्षेत्रमा लगानी बढाएका छन् । घर जग्गा क्षेत्रमा मात्रै लगानी गर्दै आएका बैंक तथा वित्तीय संस्थाको लगानीको क्षेत्रमा होटल पर्न थालेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकको निर्देशनअनुसार पर्यटन क्षेत्रमा पाँच प्रतिशत लगानी गर्नैपर्ने भएकाले विशेष जोड दिइएको बताए ।

उनले भने – “केन्द्रीय बैंकले ५ प्रतिशत लगानी गर्नैपर्ने व्यवस्था गरे पनि त्यसअनुसार लगानी पुग्न सकेको छैन । हाल तीन प्रतिशत मात्रै रहेको छ । आगामी वर्ष भने तोकिए बमोजिम नै पुग्छन्, हामी प्रयारत छौं ।” केन्द्रीय बैंकले तोकेअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच खर्ब ५० अर्ब लगानी गर्नुपर्ने देखिन्छ । बैंकले तत्काल नै उक्त परिमाण बराबरको लगानी भने गर्नसक्ने अवस्था भने छैन ।

नयाँ होटल निर्माण, पुरानाको स्तर वृद्धि जस्ता काममा उक्त ऋण प्रवाह भएको छ । चालु आवमा होटल क्षेत्रमा लगानी १५ प्रतिशतले बढेको व्यवसायीको भनाइ छ ।

होटलमा लगानी बढ्नु सुखद पक्ष भए पनि पूर्वाधारको अभावमा लगानी जोखिममा पर्नसक्ने खतरा पनि उत्तिकै रहेकाले सरकार, व्यवसायी तथा सरोकार भएका पक्षले विशेष ध्यान दिनुपर्ने होटल व्यवसायी योगेन्द्र शाक्यको भनाइ छ । होटल बढाएर मात्रै नभई नेपाली मौलिक स्वादसमेत पर्यटकका लागि उपलब्ध गराउनुपर्ने अवस्था पनि होटल क्षेत्रका लागि चुनौती बन्दै गएको छ । यही चुनौतीलाई सम्बोधन गर्न नेपाल पर्यटन बोर्ड, हानलगायतका संस्थाको अग्रसरतामा २० नेपाली मौलिक परिकारलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने अभियान समेत शुरु गरिएको छ ।

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले यसको संयोजन गरिरहेका छन् । नेपाली परिकारलाई विश्वव्यापी बनाएर पर्यटक आर्कषण गर्ने योजनाअनुसार नै त्यस्तो अभियान शुरु गरिएको व्यवसायी शाक्यको भनाइ छ ।

पर्यटन विभाग, होटल शाखाका अधिकृत गौतम रिमालकाअनुसार पछिल्लो दिनमा कार्यान्वयनमा ल्याइएको कार्य्विधिअनुसार होटल क्षेत्रमा लगानीको मात्रा तथा गुणस्तर कायम गर्नुपर्ने चेतनाको विकास समेत भएको छ ।

उनले होटलमा लगानी गर्न चाहने बढ्दै गएको र विभागमा समेत जानकारी लिन आउनेको संख्यामा बढोत्तरी भएको बताए । तारे र पर्यटकीय होटलको अनुमति विभागले दिने गरेको छ भने अन्य होटल स्थानीय प्रशासन तथा साना तथा घरेलु विभाग, महानगरपालिका तथा नगरपालिकामा दर्ता गर्न सकिने व्यवस्था छ ।

विभागकाअनुसार हाल ११ पाँचतारे, सात चारतारे, ३७ तीनतारे, ५० दुईतारे र ३७ एकतारे होटल सञ्चालनमा छन् । यस्तै पर्यटकस्तरका ४८७ होटल सञ्चालनमा छन् । दुईतारे र एकतारे होटल विभागका शाखा कार्यालयमा समेत दर्ता हुने हुँदा यो संख्या अझ बढी हुने रिमालको भनाइ छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]