February 14th, 2018

ज्ञान अर्थतन्त्रमा नेपाल किन पछाडी ? 

सुरज घिमिरे । एकथरि अर्थशास्त्रीहरु ज्ञान अर्थतन्त्रलाई कृषि युग (भूमिमा आधारित) र औद्योगिक युग (पूँजी र श्रममा आधारित) पछिको विश्व्यापी आर्थिक विकासको नयाँ युगको रुपमा मान्दछन् भने अर्र्काेथरि अर्थशास्त्रीहरु यसलाई विश्वव्यापीकरण तथा प्राविधिक विकाससँगै आएको एक नविन प्राविधिक शब्दको रुपमा मात्रै लिन्छन् । अर्थशास्त्रीहरुले ज्ञान अर्थतन्त्रलाई जुनसुकै रुपमा लिए पनि सूचना तथा संचार, शिक्षा एवम् नवपर्वतनलाई विशेष प्राथमिकता दिइने हुँदा तीब्र एवम् दीगो आर्थिक विकासका लागि पछिल्लो समय ज्ञान अर्थतन्त्र चासोको विषयको रुपमा सर्वस्विकार्य रहेको कुरा अर्थशास्त्रीहरुबीच पनि अब दुई मत रहेन । 

के हो ज्ञान अर्थतन्त्र ?
शिक्षा, अनुभव तथा अध्यनबाट आर्जन गरिएको तथ्य, सूचना तथा शीप नै ज्ञान हो । आर्थिक विकासमा यसको महत्वपूर्ण भूमिका रहन्छ । यसै सन्दर्भमा ज्ञान अर्थतन्त्रलाई एक यस्तो आर्थिक प्रणालीको रुपमा परिभाषित गर्न सकिन्छ, जसमा अधिकांश जनसंख्या ज्ञानमा आधारित वस्तु तथा सेवा उत्पादन, विनिमय तथा उपभोग गर्नमा संलग्न हुन्छन् । यस्तो अर्थतन्त्रमा कूल ग्राह्स्थ उत्पादनको धेरैजसो अंश ज्ञानमा आधारित वस्तु तथा सेवाबाट सिर्जित हुन्छ । आर्थिक वृद्धिमा ज्ञानको बढ्दो भुमिका तथा प्रभावलाई नै ज्ञान अर्थतन्त्र भनिन्छ । यस किसिमको अर्थतन्त्रमा प्रकृतिक स्रोत, भौति पूँजी, न्यून शीपयुक्त श्रमको तुलनामा ज्ञालाई बढि महत्वका साथ हेरिन्छ । 

विगतमा प्रसस्त मात्रामा श्रम साधन र प्राकृतिक स्रोतको दोहनलाई आर्थिक वृद्धिको इन्जिन मानिन्थ्यो । तर, आहिले परिस्थिति बदलिएको छ । अहिले स्याउ होइन मोबाइल एप्समा उत्पादकहरु केन्द्रित हुन थालेका छन् । सूचना सञ्चारलाई भविश्यको समुन्नतीको प्रमुख स्रोत मान्न थालिएको छ । प्राप्त ज्ञानको सदुपयोग र नयाँ ज्ञानको खोज गर्दै शिक्षा र शिपयुक्त मानव संसाधनको विकास गर्ने र सूचना तथा संचारको प्रबर्धन गरी नवपर्वतनमा जोड दिएर उच्च आर्थिक वृद्धि कायम गर्न सकिन्छ भन्ने मान्यता ज्ञान अर्थशास्त्रले राख्दछ ।  

ज्ञान अर्थतन्त्र सूचक (केईआईं)
ज्ञान अर्थतन्त्रबारे सन् १९६१ मा पहिलो पटक व्यवस्थापनविद, अर्थशास्त्री तथा संगठनात्मक सिद्धान्तका व्याख्याता विद्वान पिटर डुकरले गरेका हुन् । विश्व बैंकले पनि ज्ञान अर्थतन्त्रलाई महत्वका साथ हेरेको कुरा उसले प्रकाशन गर्ने नलेज इकोनोमी इन्डेक्स (केइआई) बाट प्रष्ट हुन्छ । यसमा प्रमुख चार तत्वहरु समावेश गरी ज्ञान अर्थतन्त्रलाई परिभाषित गरिएको छ । पहिलो आर्थिक र संस्थागत क्षेत्र । यसमा नयाँ तथा विद्धमान ज्ञानको प्रयोग तथा जर्गेर्ना गर्दै आर्थिक तथा संस्थागत क्षेत्रको विकासमा टेवा पु¥याउने पहल कदमी समावेश गरिन्छ । दोस्रो शिक्षा र शिप । यसमा मानवश्रोतमा शिक्षा तथा शिपको विकास गरी आर्थिक विकास गर्न सकिने कुरामा जोड दिइएको छ । तेस्रो सूचना तथा सञ्चारको पूर्वाधार । परिवर्तनशील सञ्चार पूर्वाधार मार्फत प्रभावकारी सञ्चारको विकास यस अन्तर्गत पर्दछ । चौथो नवपर्वतन प्रणाली । यसमा अनुसन्धान केन्द्र, विश्वविद्यालय, विद्वानहरु तथा अन्य संस्थाहरुले विश्वमा भइरहेका नयाँ ज्ञानहरुको खोज र गेर्ना गर्दै त्यसलाई स्थानीय आवश्यकता तथा नयाँ प्रविधिसँग कत्तिको तालमेल भइरहेको छ भन्ने कुरा हेरिन्छ । 

ज्ञान अर्थतन्त्र सूचक (केइआई) सन् २००७ आनुसार १४० देशमा नेपाल १३१ औं स्थानमा रहेको छ । स्डिेन पहिलो नम्बरमा र हाइटी अन्तिम नम्बरमा रहेका छन् । पहिला पाँच देशहरुमा क्रमशः स्विडेन, डेनमार्क, नर्वे, फिनलेन्ड र नेरदल्याण्ड रहेका छन् । त्यसैगरी छिमेकी मुलुकहरु भारत र चीन क्रमशः  १०१ र ७५ औं स्थानमा रहेका छन् । नेपाल भने अन्तिम दशौं स्थानमा रहेको देखिन्छ । त्यसैले हाम्रो मुलुक ज्ञान अर्थतन्त्र निर्माणमा निकै पछाडि रहेको पुष्टी हुन्छ । 
ज्ञान अर्थतन्त्रको विकासका लागि खुला अर्थतन्त्रलाई प्रोत्साहन गर्ने, वित्तीय क्षेत्रलाई नवपर्वतनमा केन्द्रित गर्ने, उच्च प्राविधिक श्रम साधनको विकास गरी उत्पादनमा सदुपयोग गर्ने, सूचना संचारको विकासका लागि टेलिकमम्यूनिकेसनको विस्तार गर्ने, इर्¬–गर्भनान्सलाई उच्च प्राथमिकता दिने र आइटिसीलाई व्यवसाय तथा उपभोक्ता माझ प्रयोग गर्नमा प्रोत्साहन गर्नु जरुरी छ । यसका साथै खोज अनुसन्धानमा बढी केन्द्रित हुने, नवपर्वतनमा सरकारी खर्च बढाउने, शिक्षामा उच्च प्राथमिकता दिने, उच्च शिक्षा र रोजगार बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यालाई पनि उत्तिकै महत्व दिनु जरुरी छ । 

दक्षिण कोरियाको प्रगतिमा ज्ञान अर्थतन्त्र
सन् १९९७ को वित्तीय संकटपछि दक्षिण कोरियाले अपनाएको विकास सम्बन्धी रणनीति ज्ञान अर्थतन्त्रमा आधारित थियो । त्यतिबेला विश्वबैंक, ओइकोडि (अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेण्ट) जस्ता विभिन्न संस्थाहरुले दक्षिण कोरियाको ज्ञान अर्थतन्त्र निर्माणका लागि रणनीति निर्माण गरे । ती संगठनहरुले दक्षिण कोरियाले ठूलो पूँजी र लगानी प्रयोग गर्दा पनि खासै उपलब्धी हासिल गर्न नसकेको हुँदा उत्पादनकत्व बढाउनमा जोड दिनुपर्ने कुरा सुझाए । दक्षिण कोरियाको आर्थिक प्रोत्साहन संस्थागत क्षेत्र तथा सरकारी भूमिकामा सुधार गरी उत्पादकत्व बढाउनसक्ने कुरामा पनि उनीहरुले जोड दिए ।  

तत्कालीन समयमा दक्षिण कोरियामा विश्वविद्यालयहरुले खोज तथा अनुसन्धानमा खासै ध्यान दिन नसकेको हुँदा नवपर्वतनका लागि अनुकूल वातावरण बन्न सकेको थिएन । उत्पादनमा विशिष्टिकरण गर्दै विश्वविद्यालयहरुबीच ज्ञान आदानप्रदान गर्ने तथा स्थानीय सरकार, फर्म, अनुसन्धान संस्थान अदिले कारोबार लागत घटाई उत्पादकत्व बढाउनतिर ध्यान केन्द्रित गरे । यसका साथै सूचना तथा संचार प्रविधिमा व्यापक सुधार र विकास पनि हुँदै गयो । 

यसका साथै अर्थतन्त्रका लागि शिक्षाक्षेत्रमा पनि व्यापक सुधार गर्नुपर्ने देखियो । तत्कालीन समयमा उक्त देशमा कूल गार्हस्थ उत्पादनको केवल १३ प्रतिशत मात्रै शिक्षामा खर्च हुन्थ्यो, जुन अपर्याप्त र अप्रभावकारी थियो । यस्तो अवस्थामा शिक्षा मन्त्रालयबाट हुने नियमनलाई खुकुलो बनाइयो । यसमा उत्पादनमा आधारित सुशासन, निजी तथा सरकारी स्रोतको पुर्नवाँडफाँड, सिकाइको प्रणालीमा एकीकरण गरी विश्वव्यापी शिक्षा पद्धतिसँग जोड्दै यसमा सुदृढि गरियो । यस प्रकार कुशल आर्थिक नीतिको प्रयोगबाट उच्च आर्थिक बृद्धि विकासका कार्यक्रमहरु प्रयोग गरी सामाजिक पूँजी बृद्धि र शिक्षा मार्फत श्रम साधनमा सुधार गरेर कोरियाले आफूलाई ज्ञान अर्थतन्त्रमा परिवर्तन गर्न सफल भयो  । 

नेपालमा ज्ञान अर्थतन्त्रको सम्भावना 
ज्ञान अर्थतन्त्र सूचक (केइआई) सन् २००७ आनुसार १४० देशमा नेपाल पछिल्ला दश मुलुकहरुमा पर्दछ । यसले नेपाल ज्ञान अर्थतन्त्र निमाणमा निकै पछि परेको पुष्टी हुन्छ । बेरोजगारी, गरिबी, आय असमानता, मुद्रास्फीति, उच्च व्यापार घाटाजस्ता आर्थिक समस्याहरुबाट गुज्रिरहेको मुलुक जहाँको अर्थतन्त्र खाडी मुलुकको चर्को घाममा रगत पसिना बगाएर युवाहरुले पठाएको रेमिट्यान्सबाट चलिरहेको छ, यस्तो अवस्थामा छोटो समयमै ज्ञान अर्थतन्त्र निमार्णमा हामी पुग्नै सक्दैनौं । यसको लागि केही समय भने पक्कै लाग्न सक्दछ । तर, असम्भव पनि छैन । 

ज्ञान अर्थतन्त्र निर्माण गर्न दीर्घकालीन आर्थिक बृद्धि र विकासको लागि प्राविधिक आधुनिकीकरण एक महत्वपूर्ण सर्त हो । त्यसैले अर्थशास्त्रीहरु तथा नीति निर्माताहरु उच्च प्राविधिक क्रियाकलापबाट उच्च मुल्य भएका वस्तु तथा सेवा उत्पादन गर्ने र अधिक आम्दानी सिर्जना गर्ने कार्यलाई रुचीका साथ हेर्ने गर्दछन् । तर, हाम्रो जस्तो मुलुक भने अझै पनि राज्य पुर्नसंरचनाको तहमा रुमल्लिरहेको अवस्था छ । छिमेकी मुलुकहरु आर्थिक विकासका निम्ति पतिस्पर्धा गरिरहँदा त्यसबाट प्रत्यक्ष लाभ र उत्प्रेरणा केही पनि लिन सकिरहेका छैनौं हामी । त्यसैले मुलुकको अर्थिक विकासमा काया पलट ल्याउन राजनैतिक तहमै प्रतिबद्धतामात्रै होइन कटिबद्धता पनि उत्तिकै आवश्यकता छ, जसको नेपालमा सदैव अभाव भइरह्यो ।  

कृषि, पर्यटन र जलविद्युतलाई विशेष प्राथमिकतामा राखेर घरेलु तथा साना उद्योग मार्फत बेरोजगार र कृषिमा अर्धरोजगार तथा मौषमी रोजगार रहेको श्रमिकहरुलाई विस्तारै उद्योग क्षेत्रमा स्थान्तरण गर्दै  शिक्षा, सूचना र सञ्चार तथा नवपर्वतनमार्फत ज्ञान अर्थतन्त्रको जग बसाल्न सकिन्छ । त्यसपछि मात्रै हामी युरोप, अमेरिका र दक्षिण कोरियाकोजस्तो ज्ञान अर्थतन्त्र निमार्णको बाटो समात्न सक्दछौं । हामीले कृषि, भौतिक प्रविधि, सूचना प्रविधि, सञ्चार, तथा विश्व व्यापीकरण, विश्वव्यापार, वित्त र लगानीमा क्रान्ति गर्नसक्यौं भने मात्र ज्ञान अर्थतन्त्र निर्माणमा हामी सफल हुन सक्नेछौं । 
(लेखक नेपाल बैंक लिमिटेड, बुर्तिबामा शाखा प्रबन्धको रुपमा कार्यरत छन्)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]