February 3rd, 2018

‘वित्तीय चेतनाबिना पैसा कमाउन सकिन्न’

डा. चिरंजीबि नेपाल, गभर्नर, नेपाल राष्ट्र बैंक । हाल नेपालमा बैंकिङ सेवा सीमित व्यक्तिहरुले मात्रै लिरहेका छन् । किनकि बैंकसम्मको पहुँच सीमित व्यक्तिहरुसँग मात्रै भइरहेको छ । थोरैले मात्रै बैंक तथा वित्तीय संस्था र यसको महत्वका बारेमा बुझेका छन् । तर, वित्तीय सेवा सबैले पाउनुपर्छ । वित्तीय कारोबार कसरी गर्ने भन्नेबारे सबैले बुझ्नु जरुरी छ । वित्तीय कारोबार पढेर अथवा किताबी ज्ञानबाट जानिने कुरा होइन । यसका लागि वित्तीय कारोबार गर्ने सबै संस्थाहरु मिलेर सबैलाई वित्तीय कारोबारको बारेमा जानकारी गराउनुपर्छ र गराइरहेका पनि छन् । 'वित्तीय जागरण : राष्ट्रिय अभियान' अन्तर्गतका विभिन्न कार्यक्रमहरुले यस विषयमा जनचेतना फैलाइरहेका छन् ।

वित्तीय चेतनाको अभावमा मानिसहरुले बचत गर्न सकेका छैनन् । एक सय रुपैयाँ कमाई भयो भने मुस्किलले १० रुपैयाँ बचत भइरहेको छ । वित्तीय चेतना हरेक नागरिकमा हुनु जरुरी छ । यसका लागि कमाउने बेला भएपछि होइन विद्यार्थी लेभलदेखि नै बचत गर्ने विषयमा बुझाउनुपर्छ । बजारमा सेयरको मूल्य के छ ? अन्य उपभोग्य सामानहरुको भाउ के भइरहेको छ । बैंकमा व्याजदरको अवस्था के छ ? लगायतका विषयमा छोराछोरीसँगै बसेर अभिभावकले छलफल गर्ने गर्दा सानो उमेरदेखि नै बच्चालाई यस विषयमा जिज्ञासा हुन थाल्छ र उसले बुझ्न खोज्छ ।

आर्थिक रुपमा समृद्ध भइसकेका मुलुकहरुमा यसरी नै वित्तीय रुपमा साक्षर युवाहरु तयार गरिन्छ । विद्यालय तहमा नै पैसा, बैंक, बीमा, सेयर बजार लगायतका विषयमा ज्ञान दिइन्छ । बाहिरका लगानीकर्ताले लगानी गर्दा प्रतिफल पनि बाहिर नै जाने भएकाले मुलुकभित्रै लगानीकर्ता जन्माउने उद्देश्यले जापान लगायतका विकसित मुलुकहरुले बच्चाहरुलाई वित्तीय ज्ञान दिइरहेका छन् । नेपालमा बच्चाले बुझ्दैन भने पैसा, बचत, लगानी जस्ता कुराहरु उनीहरुको अगाडी नगर्ने प्रचलन रहेको छ । यो बानी हटाउनु जरुरी छ ।

नेपालका विद्यालयहरुमा पैसाका विषयमा पढाइँदैन । विज्ञान, गणित जस्ता विषयहरु रटाइन्छ । घरमा छोराले पैसाको कुरा गर्यो भने यो त विग्रियो भने गाली गरिन्छ । अनि पढाइ सकिएपछि पैसा कमाएर ल्याउन लगाइन्छ । जबकी उसले पैसा कमाउने विषयमा केही पढेकै हुँदैन । उसँग वित्तीय साक्षरता नै हुँदैन । अनि, विकल्पको रुपमा युवाहरु खाडी मुलक जाने वा गलत काममा लाग्ने गरिरहेका छन् । वित्तीय चेतना नभएकै कारण उनीहरुले स्वदेशमा पैसा देख्दैनन्, कमाउने अवसर देख्दैनन् । यद्यपि, विदेशमा गएपछि उनीहरुले वित्तीय ज्ञान पाउँछन् र आफ्नै मुलुकमा पनि अवसर देख्न थाल्छन् । यसरी थुप्रै युवाहरु विदेशबाट फर्केर स्वदेशमै उद्यमी बनेका उदाहरण पनि छन् । त्यसैले, नेपालमा पैसाको कमी छैन, पैसा कमाउने आइडियोको कमी छ । यसका लागि वित्तीय चेतना अभिवृद्धि गरिनु अत्यन्तै जरुरी छ ।

सबै जनताले बैंकिङ सुविधा पाउन् भन्ने उद्देश्यले सरकारले नै हरेक स्थानीय तहमा क वर्गका बैंकको शाखा पुर्याउने नीति अबलम्बन गरेको छ । बैंकहरुले सोही अनुरुप शाखा विस्तार गरिरहेका छन् । बैंकहरुले प्रतिवद्धता गरेअनुरुप शाखा विस्तार भइसक्दा ८५ प्रतिशत स्थानीय तहमा बैंक पुग्नेछन् । बाँकी केही स्थानीय तहहरुमा सुरक्षा, संचार, वस्ती लगायतको अभावका कारण बैंकहरु पुग्न सकेका छैनन् । यसका लागि सरकारको सहजीकरण आवश्यक छ । सरकारले सुरक्षा, संचार लगायतका न्युनतम पूर्वाधारको विकास गर्नेवित्तीकै बैंकहरुले सबै स्थानीय तहमा शाखा पुर्याउनेछन् । छिटै नै ७५३ वटै स्थानीय तहका सर्वसाधारणले बैंकिङ सेवा पाउनेछन् ।

हिजोको अवस्था फरक थियो । कर्जा लिन समेत सोर्स लगाउनुपर्ने अवस्था थियो । अहिले बैंकहरु घरघरमा पुगेर कर्जा दिइरहेका छन्, बचत गर्न सिकाइरहेका छन्, लगानी गर्न सिकाइरहेका छन् । बीमा कम्पनीहरुले पनि घरघरका पुगेर आफ्नो सम्पत्तिको सुरक्षा गर्न र भविष्यमा आइपर्ने जोखिम कम गर्न सिकाइरहेका छन् । यस्ता कार्यक्रमहरुका नेपाल राष्ट्र बैंकले पनि सहयोग गरिरहेको छ ।

यति हुँदा हुँदै पनि वित्तीय साक्षरता अपेक्षित रुपमा बढ्न सकेको छैन । वित्तीय साक्षरता बढाउन सके कामदार भिसामा विदेशमा गएर पैसा कमाउने युवाको संख्यामा कमी आउनेछ, मुलुकभित्रै उद्यम गर्नेको संख्या बढ्नेछ । र, अन्त्यमा मुलुक समृद्ध बन्नेछ । (दोस्रो बैंकिङ एक्स्पोको समुद्घाटन समारोहमा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]