January 29th, 2018

दोस्रो त्रैमासमै अर्बपति बने नौ वाणिज्य बैंकहरु

बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नै नौ वटा वाणिज्य बैंक अर्बपति भएका छन् । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकले छ महिनामा नै अर्बमाथि खुद मुनाफा आर्जन गरेका हुन् । हेरौँ, नौ वटै बैंकको अपरिष्कृत वित्तीय विवरण :

नविल बैंक लिमिटेड
नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नविलले एक अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब चार करोड ३२ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा सात अर्ब ८५ करोड ५३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ०.३९ प्रतिशत वृद्धि गरी एक अर्ब २१ अर्ब २८ करोड ९२ लाख ७२ हजार रुपैयँ संकलन गरेको बैंकले कर्जातर्फ ११.६९ प्रतिशत वृद्धि गरी एक खर्ब ८५ करोड १९ लाख रुपैयाँ लगानी गरेकोे छ । 

बैंकको खुद व्याज आम्दानी १० दशमलव १४ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड ५६ लाख ४५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा चार दशमलव २१ प्रतिशतले बढेर दुई अर्ब ७३ करोड ९१ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा आठ लाख तीन हजार रुपैयाँ मात्रै खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २० करोड नौ लाख ३१ हजार रुपैयाँ राखेको छ ।

पुस मसान्तमा नविल बैंकको निष्कृय कर्जा एक दशमलव १३ प्रतिशत र जोखिमयुक्त सम्पति १२ दशमलव ६१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ४५ दशमलव ५७ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) २३ दशमलव ३७ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ९८ रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड
बैंकिङ खबर । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८३ करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ४९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

१० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा नौ अर्ब ९१ करोड १९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ११ दशमलव ३५ प्रतिशतले वृद्धि गरी एक खर्ब २९ अर्ब ८४ करोड ५३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ दशमलव ५४ प्रतिशत बढाएर एक खर्ब १३ अर्ब ६७ करोड ११ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १५ दशमलव ४९ प्रतिशतले बढेर दुई अर्ब ६८ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पाँच दशमलव २५ प्रतिशतले बढेर दुई अर्ब ४४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ३२ करोड ८५ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रोभिजनमा ४६ करोड ११ लाख रुपैयाँ नकारात्मक रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३४ दशमलव ४५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) १९ दशमलव ०७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ९३ दशमलव २८ रुपैयाँ, निष्कृय कर्जा एक दशमलव १२ प्रतिशत र जोखिमयुक्त सम्पति १३ दशमलव ०७ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७५ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ६५ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब २१ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा ३ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ७ दशमलव ९७ प्रतिशतले वृद्धि गरी एक खर्ब ४९ अर्ब १० करोड ४३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा एक खर्ब १० अर्ब ६५ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ३१ दशमलव ७३ प्रतिशतले बढेर चार अर्ब एक करोड १३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७६ दशलमव ४५ प्रतिशतले बढेर दुई अर्ब तीन करोड ८४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ४० करोड ८७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले संभावित जोखिमवापत ८८ करोड ९५ लाख रुपैयाँ राखेको छ ।

पुस मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको निष्कृय कर्जा तीन दशमलव ११ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) ११ दशमलव ४२ प्रतिशत रहेको छ ।  

नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ६३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ५४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकले एक अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब चार करोड २६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब चार करोड रुपैंयाँ राखेको छ । यो अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालनको बढाएको छ । बैंकले ९१ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ७८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । गतवर्षको सो अवधिमा बैंकले ८४ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले छ महिनामा दुई अर्ब ९४ करोड खुद ब्याज आम्दानी गरेको छ भने एक अर्ब ७९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो अवधिमा २३ करोड रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २३ करोड रुपैयाँ राखेको छ ।

बैंकको खराबकर्जा ३.२३ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ४० रुपैंया ७४ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ एक सय ५९ रुपैंया १८ पैसा र मुल्य आम्दानी अनुपात ८.६४ गुणा रहेको छ । 

एभरेष्ट बैंक लिमिटेड
बैंकिङ खबर । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब १४ करोड ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ३४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ९७ करोड १५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब १९ करोड चार लाख १० हजार रुपैयाँ राखेको छ । बैंकले एक खर्ब ३ अर्ब २९ करोड ९१ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ७३ करोड ६४ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ९० अर्ब ४३ करोड ६६ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ६१ करोड ८१ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढाएको छ । बैंकले चालू आवको ६ महिनाको अवधिमा १ अर्ब ७७ करोड ५८ लाख ५ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । त्यस्तै यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड ८० लाख ४२ हजार रहेको छ । एक करोड १८ लाख ३४ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा आठ करोड दुई लाख ९४ हजार रुपैयाँ राखेको छ ।

पुस मसान्तसम्मा एभरेष्ट बैंकको खराबकर्जा ०.२५ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १५.६८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ९३ पैसाबाट झरेर २८ रुपैयाँ ४१ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३१.९३ रहेको छ ।

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब १० करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ५८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले एक अर्ब दुई करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब ११ करोड ४५ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९२ अर्ब ९७ करोड २७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ८२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी तीन दशमलव ६० प्रतिशतले बढेर एक अर्ब ८६ करोड ९५ लाख सात हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १७ दशमलव ७४ प्रतिशतले घटेर एक अर्ब ४० करोड ४६ लाख ५६ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा २७ करोड २२ लाख २४ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २८ करोड छ लाख १७ हजार रुपैयाँ राखेको छ । 

पुस मसान्तमा  हिमालयन बैंकको निष्कृय कर्जा एक दशमलव ३२ प्रतिशत र जोखिमयुक्त सम्पति १२ दशमलव ३८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २७ दशमलव २६ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २४ दशमलव २१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५७ दशमलव ८८ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ८८ प्रतिशत रहेको छ ।

कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब दुई करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकले ९० करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

१३ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको कृषि विकास बैंकको जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैंयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा भने केही खस्केको छ । गत आर्थिक वर्षको पुस मसान्तमा तीन अर्ब १० करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्षको पुस मसान्तमा २ अर्ब ५६ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकले ४१ करोड ८ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।

यो अवधिमा कृषि विकास बैंकले ९८ अर्ब १७ करोड निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड कर्जा लगानी गरेको छ । बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ २०२ रुपैयाँ ९७ पैसा र निस्कृय कर्जा ३.९५ प्रतिशत रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोसो त्रैमासमा एक अर्ब एक करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ९२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ७४ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब एक करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब ८६ करोड ६० लाख रुपैयाँ राखेको छ । निक्षेपमा आठ दशमलव १९ प्रतिशतले वृद्धि गरी  ६६ अर्ब सात करोड २२ लाख ५३ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४२ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३९ दशमलव ८२ प्रतिशतले बढेर एक अर्ब ४६ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३८ दशमलव ६६ प्रतिशतले बढेर एक अर्ब ५५ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २५ दशमलव ३० रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) ४१ दशमलव ०३ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ६० दशमलब ७४ रुपैयाँ, जोखिमयुक्त सम्पति २२ दशमलव ९६ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव १७ प्रतिशत रहेको छ ।

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७२ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ६७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबि बैंकले ७० करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

छ अर्ब ४६ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब २३ करोड २६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १७ दशमलव ०९ प्रतिशत वृद्धि गरी ८० अर्ब ५५ करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ दशमलव ४३ प्रतिशत वृद्धि गरी ७० अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १० दशमलव ४० प्रतिशतले बढेर एक अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३८ दशमलव ५८ प्रतिशतले बढेर एक अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा  २५ करोड ६५ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा नौ करोड ५६ लाख रुपैयाँ राखेको छ ।

यस अवधिमा बैंकले आप्नो निष्कृय कर्जालाई एक दशमलव ६७ प्रतिशतबाट एक दशमलाव २० प्रतिशतमा झारेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १३.०६ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी वार्षिक ३१ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १४ दशमलव ६६ गुणा, तरलता अनुपात २४ दशमलव ३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ८० दशमलव ९८ रुपैयाँ रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]