January 23rd, 2018

अब घरमै बसेर दिनुहोस् सेयरमा आवेदन, पूर्ण रुपमा लागू भयो सि-आस्वा 

बैंकिङ खबर । सि-आस्वा प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना प्रकाशित गर्दै मंगलबार(माघ ९ गते)देखि पूर्ण रुपमा सि-आस्वा प्रणाली लागू गरिएको जानकारी दिएको छ । सिडिएससिले सम्पुर्ण बैंक तथा वित्तीय संस्था, निष्काशनकर्ता, निष्काशन तथा बिक्री प्रबन्धक, लगानीकर्ताहरु तथा सम्बन्धित सरोकारवालाहरु सबैमा सो जानकारी गराएको छ ।

यससँगै अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद सेयरमा आवेदन दिन सकिने भएको छ । यो प्रणालीले धितोपत्र बाँडफाँडको प्रक्रिया समेत छोटिने भएको छ । बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धि विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुने हुँदा बाँडफाँडको प्रक्रिया छोटिने सिडिएससीको भनाई छ ।

सिडीएससीका अनुसार, यो प्रणालीको प्रयोगले आवेदकको हितग्राही खाता आवेदन गर्नु पूर्व नै रुजु गरिने भएकाले कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारण बाँडफाँड प्रक्रियाबाट बञ्चित हुनु पर्दैन । सिआस्वामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन् ।

हालसम्म सिआस्वा प्रणालीमा २५ वटा बैंक तथा वित्तिय संस्थाहरु आवद्ध रहेका छन् । सिडिएसले सदस्यता नलिएका बैंक तथा वित्तीय संस्थाहरुलाई सिआस्वा संचालनका लागि अनुरोध समेत गरेको छ । सिडीएससीले सूचनामार्फत लगानीकर्तालाई आफ्नो बैंक खाता रहेको बैंक मार्फत सि आस्वामा दर्ताभई सि आस्वा रजिष्ट्रेशन नम्बर लिन आग्रह पनि गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]