January 12th, 2018

मार्जिन ट्रेडिङमा कसरी गर्ने लगानी ?

बैंकिङ खबर । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ । जस्तै, तपाईँलाई एक हजार रुपैयाँको सेयर किन्नुपर्यो । तर, तपाईँसँग पाँच सय रुपैयाँ मात्रै छ भने बाँकी पाँच सय रुपैयाँ मार्जिन लोनको रुपमा लिएर एक हजार रुपैयाँको मार्जिन कारोबार गर्न सक्नुहुन्छ । यस्तो लोन सेयर ब्रोकरहरुले उपलब्ध गराउँछन् । यसरी, लोन दिलाएवापत सेयर ब्रोकरहरुले व्याज अथवा अन्य शूल्कहरु लिन्छन् । त्यसरी एउटा मार्जिन लिइसकेपछि त्यो भित्र रहेर मार्जिन सेवा उपभोग गर्न पाइन्छ । 

कस्ता कम्पनीलाई दिने मार्जिङ लोन ?
कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश दिएको कम्पनीलाई मार्जिन दिन सकिने धितोपत्र बोर्डले जनाएको छ । त्यस्तै, दोस्रो बजारमा कम्तीमा पनि दैनिक ८० प्रतिशत सेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीलाई मात्रै मार्जिन सुविधा दिन सकिने प्रावधान छ । 

कसरी हुन्छ कारोबार ?
मार्जिन कारोबार कसरी गराउने र मार्जिन लोन दिनका लागि केकस्ता प्रक्रिया पूरा गर्ने भन्ने विषयमा नेपाल धितोपत्र बोर्डले केही निर्देशनहरु दिएको छ । सोही निर्देशनको आधारमा मार्जिन कारोबार गर्न सकिनेछ । 

मार्जिन लोन बढिमा तीन महिनासम्मको लागि दिइन्छ । तीन महिनापछि यसलाई नविकरण गर्न सकिन्छ । यसको लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गर्नुपर्नेहुन्छ । सम्झौतामा सुरुको मार्जिन कति हुने, सम्भार मार्जिन कति हुने, मार्जिन कल कसरी गर्ने, मार्जिन कल नहुँदा रेखदेख कसरी गर्ने र त्यसको हिसाब किताब कसरी राख्ने भन्ने विषयहरु समेटिएको हुन्छ ।

एउटा लगानीकर्ताले एउटा ब्रोकरसँग मात्रै मार्जिन कारोबार गर्न सक्ने व्यवस्था छ । सम्झौता गर्ने समयमा नै लगानीकर्ताले एउटा ब्रोकरबाट मात्र कारोबार गर्ने स्वघोषणा गर्नुपर्छ अर्थात्, मार्जिन कारोबार या उपभोग गर्ने लगानीकर्ताले सम्झौता गर्दा एउटा लगानीकर्तासँग वा ब्रोकरसँग मात्रै गर्ने भनेर स्वघोषणा गर्नुपर्छ ।

सेयर ब्रोकरले पहिले लगानीकर्ताको सामथ्र्यताको अध्ययन गरेर मात्रै मार्जिन लोन उपलब्ध गराउँछ । लोन लिन चाहने लगानीकर्ता सन्तुष्ट छ कि छैन, उसलाई लोन दिनु उपयुक्त छ कि छैन, भन्ने विषयमा अध्ययन गरेर उचित लागेपछि मात्रै ब्रोकरले मार्जिन लोन दिन्छ । 

मार्जिन कारोबारको लागि एउटा छुट्टै खाता खोलिएको हुन्छ । मार्जिन कारोबार गरिएको सेयर त्यसै खातामा जम्मा हुन्छ भने बैंक हिसाब पनि मार्जिन खातामा नै राखिन्छ । मार्जिन कारोबारको उक्त अभिलेख दैनिक रुपमा राखेर नेप्सेलाई जानकारी गराउनुपर्ने हुन्छ । यो विषयमा लगानीकर्ताले पनि जानकारी दिनुपर्छ । 

सेयर कारोबारी र ब्रोकरबीचमा सम्झौता भइसकेपछि सुरुको मार्जिन रकम सेयर कारोबारीले ब्रोकरको मार्जिन एकाउन्टमा राख्छ र १०० प्रतिशतको सेयर खरिद गर्छ । सेयर मूल्य घटेर ४० प्रतिशतभन्दा तल गयो भने मार्जिन कल हुन्छ । त्यसपछि, सेयर कारोबारीले नगद तिर्नुपर्ने हुन्छ । वास्तविक मार्जिन ३० प्रतिशत वा सोभन्दा तल झर्यो भने ब्रोकरले सेयर विक्री गरिदिन सक्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]