December 5th, 2017

बैङ्किङ प्रणालीमा आएन चुनावी खर्च

ममता थापा /  मुलुकमा चुनावी चहलपहल चलिरहँदा बैङ्किङ प्रणालीको कर्जा प्रवाह र निक्षेप सङ्कलन बैङ्करले अपेक्षा गरेजस्तो हुन सकेको छैन । विभिन्न दलले करोडौं रकम चुनाव प्रचारप्रसारमा खर्च गरे पनि उक्त रकम वाणिज्य बैङ्किङ प्रणालीमा नआएको नेपाल बैङ्कर्स सङ्घ (एनबीए)को अनुमान छ । बजारमा प्रशस्त रकम भए पनि बैङ्किङ प्रणालीको निक्षेप सङ्कलन स्थिर रहनुले त्यस्तो सङ्केत गरेको एनबीए स्रोतको भनाइ छ ।

एनबीएको तथ्याङ्क अनुसार यही मङ्सिर पहिलो सातासम्म वाणिज्य बैङ्कबाट १८ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यसअन्तर्गत स्थानीय मुद्रामा १८ खर्ब ८ अर्ब रुपैयाँ प्रवाह भएको छ भने विदेशी मुद्रामा २९ करोड रुपैयाँ गएको छ । कात्तिकको पहिलो सातासम्म त्यस्तो कर्जा प्रवाह १८ खर्ब ७ अर्ब रुपैयाँ थियो भने कात्तिक अन्तिम सातामा १८ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । यसबीच १ महीनाको अन्तरालमा कर्जा प्रवाह ३० अर्ब रुपैयाँले मात्र बढेको तथ्याङ्कमा उल्लेख छ । यस्तो कर्जा विशेष गरेर दीर्घकालीन लगानीका क्षेत्रमा प्रवाह भएको बैङ्करको भनाइ छ ।

तथ्याङ्कअनुसार मङ्सिर पहिलो सातासम्म वाणिज्य बैङ्कहरूको कुल निक्षेप सङ्कलन २१ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । उक्त निक्षेपमा स्थानीय मुद्राको अंश २० खर्ब ६४ अर्ब रुपैयाँ छ भने १ खर्ब ८ अर्ब रुपैयाँ विदेशी मुद्रामा छ । गत कात्तिक पहिलो साता बैङ्कमा २१ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको थियो । जसमा स्थानीय मुद्रामा २० खर्ब ४५ अर्ब रुपैयाँ र विदेशी मुद्रामा १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको सङ्घको तथ्याङ्कले देखाएको छ । उक्त १ महीनाको बीचमा वाणिज्य बैङ्कको नेपाली रुपैयाँ निक्षेप सङ्कलन १९ अर्ब रुपैयाँ मात्र बढेको तथ्याङ्कले देखाएको छ ।

पहिलो चरणमा ३२ जिल्लामा मङ्सिर १० गते निर्वाचन भइसकेको छ र बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मङ्सिर २१ गते हुँदै छ । उक्त निर्वाचनका लागि दलहरूले महीनौं दिन अघिबाट प्रचारप्रसारका गतिविधिमा करोडौं खर्च गरेको बताइएको छ । तर, यसको तुलनामा बैङ्कमा आउने रकम अपेक्षित रूपमा वृद्धि नभएको बैङ्करहरूको भनाइ छ । एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीका अनुसार बाहिर छरिएर रहेको केही रकम बैङ्किङ प्रणालीमा आउने जुन अपेक्षा थियो त्योअनुरूप नभएको जस्तो देखिन्छ ।

‘हामीले पनि निक्षेप सङ्कलनमा के अपेक्षा गरेका थियौं भने आर्थिक अवस्था पनि गतिशील होला र सबै रकम बैङ्किङ प्रणालीमा आउला,’ केसी भन्छन्, ‘पहिले पहिलेका निर्वाचन हे¥यौं भने पनि निर्वाचनको समयमा अर्थतन्त्र वृद्धि भएको देखिन्छ ।’ यो हिसाबले आगामी दिनमा पनि अपेक्षाकृत रूपमा निक्षेप नबढ्ने हो कि भन्ने आशङ्का उत्पन्न भएको उनको बुझाइ छ । अहिलेको चुनाव नेपालको इतिहासमै ठूलो निर्वाचनमध्येको एक रहेको र सरकारले समेत ठूलो रकम खर्च गरेको छ । त्यो रकम क्रमशः बैङ्किङ प्रणालीमा आउने सरकारको अपेक्षा छ ।

कर्जाको माग राम्रै भएको र अहिले हामी भने सानासाना कर्जामा गएको सीईओ केसीको भनाइ छ ।  बीचमा केही समय ब्याजदरको मूल्य माथि भएकाले केही समस्याले कर्जाको माग घटेको उनको विश्लेषण छ । ‘अब हामी रिटेलमा पनि कर्जाको माग सम्बोधन गरेका छौं । अब २/४ हप्तासम्म चुनावी चहलपहल छ, त्यसले प्रभाव पार्ला, त्यसपछि चाहिँ कर्जाको माग बढ्ला,’ उनले भने । अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]