November 16th, 2017

बीमा कम्पनीलाई पनि पुँजीवृद्धिको चटारो : दुई कम्पनीले एकैसाथ मागे हकप्रद जारी गर्ने अनुमति

बैंकिङ खबर । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउनका लागि हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । हकप्रद सेयर निष्काशनको अनुमति माग गर्दै दुबै कम्पनीले एकै दिन नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । धितोपत्र बोर्डका अनुसार, प्राइमले १६० प्रतिशत अर्थात् एक बराबर एक दशमलव ६०को अनुपातमा हकप्रद जारी गर्ने अनुमति मागेको छ भने नेशनलले ६० प्रतिशत अर्थात १० बराबर छको अनुपातमा हकप्रद जारी गर्ने अनुमति मागेको छ । 

२५ प्रतिशत बोनस सेयर दिएर ६१ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको प्राइम कमर्सियल बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड दुई लाख रुपैयाँ बराबरको ६१ लाख दुई हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रदपछि कम्पनीको चुक्तापुँजी एक अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । 

त्यस्तै, २५ प्रतिशत बोनस सेयर वितरण गरेर एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी पुर्याइसकेको कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ९९ करोड ३६ लाख ४७ हजार आठ सय रुपैयाँ बराबरको ९९ लाख ३६ हजार चार सय ७८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । जसपश्चात्, कम्पनीको चुक्तापुँजी दुई अर्ब ६४ करोड ९६ लाख रुपैयाँ पुग्नेछ । 

गत वर्ष बीमा समितिले बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार, आर्थिक वर्ष २०७५ सम्म जीवन बीमा कम्पनीहरुले दुई अर्ब र निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब चुक्तापुँजी पुर्याउनुपर्नेछ ।      
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]