November 7th, 2017

प्रभु इन्स्योरेन्सको बोनस र हकप्रद सेयर पारित, चुक्तापुँजी अर्ब नाघ्ने

बैंकिङ खबर । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १९.२० प्रतिशत बोनस सेयर दिने भएको छ । इन्स्योरेन्सको सोमबार सम्पन्न २२ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको १९.२० प्रतिशतले हुन आउने ११ करोड आठ लाख ८४ हजार पाँच सय ३९ रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने र कर प्रयोजनको लागि ५८ लाख ३६ हजार २८ रुपैयाँ नगद लाभांश दिने निर्णय सर्वसम्मतले पारित गरेको हो । साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद सेयर दिने निर्णय समेत पारित गरेको छ । 

साधारणसभालाई सम्बोधन गर्दै प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले कम्पनीको पूँजी बृद्धिको अनुपातमा कारोबार बृद्धि गर्ने तथा बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा शाखा विस्तारलाई तीब्र रुपमा अघि बढाउने बताईन् । कम्पनीले अहिले शाखा तथा उपशाखाहरुमार्फत वेभ–वेस कम्प्युटर पद्धतिबाट सेवा दिइरहेको जानकारी गराउँदै अध्यक्ष लामाले आगामी दिनमा अझ प्रभावकारी ढंगले डिजिटलाइजेशन गरी कार्य सञ्चालन गर्ने बताईन् । 

साधारणसभामा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले सबैको सहयोग र सद्भावका कारण कम्पनीको लेखापरीक्षण समयमा नै सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गरे । बीमाको पहुँच वृद्धिका लागि विभिन्न दुर्गम क्षेत्रमा शाखा खोलेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले निकट भविष्यमा नै रुपन्देहीको भैरहवा तथा काठमाडौँको गोङ्गबु र चावाहिलमा नयाँ शाखा खोल्ने जानकारी दिए । 
आगामी दिनमा कम्पनीले ग्राहकहरुलाई उच्च स्तरीय सेवा दिँदै व्यवसाय वृद्धि गर्नेमा आफूले विश्वास लिएको सीईओ बज्राचार्यको भनाई थियो । 

बीमा शुल्कमा करिब १० प्रतिशत बृद्धि
कम्पनीले अघिल्लो आर्थिक बर्ष २०७२।७३को तुलनामा आर्थिक बर्ष २०७३/७४ मा ९.९४ प्रतिशतले बीमा शुल्कमा बृद्धि गरेको छ । अघिल्लो वर्ष अग्नी बीमा, सामूद्रिक बीमा, मोटर बीमा, हवाई बीमा, इन्जिनियरिङ बीमा, विविध बीमा, बाली तथा पशुधन बीमा वापत ७६ करोड १७ लाख ९३ हजार १२ रुपैयाँ आर्जन गरेको कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा सोहि शिर्षकमा (लघुबीमा) समेत गरी ८३ करोड ७४ लाख ९३ हजार पाँच सय १९ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

तीन महिनामा नै २५ करोड बीमा शुल्क आर्जन
कम्पनीले चालु आर्थिक बर्ष २०७४/७५ को पहिलो त्रैमासमा मात्रै २५ करोड ३५ लाख दुई हजार १८ रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो बर्षको तुलनामा यो ४.६५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बीमा शूल्कवापत २४ करोड २२ लाख ३६ हजार चार सय १३ रुपैयाँ आर्जन गरेको थियो ।

पूँजी वृद्धिको योजना
कम्पनीले पूँजी वृद्धिको योजनालाई पनि प्राथमिकतामा राखेको छ । हाल प्रभु इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी ५७ करोड ७५ लाख २३ हजार छ सय ४२  रुपैयाँ रहेको छ । बीमा समितिले तोकेको एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन प्रभुले हकप्रद सेयर र बोनस सेयर जारी गर्ने भएको छ । कम्पनीले १९.२० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयर जारी गरेपछिको चुक्तापुँजीबाट ४६ प्रतिशत बोनस सेयर जारी गरेपछि चुक्तापुँजी एक अर्ब नाघ्ने जानकारी दिएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]