November 1st, 2017

पुँजीवृद्धिको दौडधूपमा बीमा कम्पनीहरु

रुपा कोइराला/बैंकिङ खबर । पुँजीवृद्धिका लागि दिइएको समयसीमा नजिकिँदै गर्दा बीमा कम्पनीहरु पुँजीवृद्धिको दौडधूपमा लागेका छन् । बीमा समितिले आगामी असार मसान्तसम्ममा जीवन बीमा कम्पनीलाई दुई अर्ब रुपैयाँ र निर्जिवन बीमा कम्पनीलाई एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको छ । जसअनुसार, सबै कम्पनीहरु आफ्नो पुँजीवृद्धिको कार्ययोजनाअनुरुप अघि बढिरहेका छन् । कुनै पनि बीमा कम्पनीले मर्जर वा एक्विजिसनको योजना बनाएका छैनन् । हकप्रद सेयर र बोनस सेयर जारी गरेर नै सबै बीमा कम्पनीले तोकिएको चुक्तापुँजी पुर्याउन लागेका छन् ।

गत वर्षको नाफाबाट पाँच कम्पनीद्धारा लाभांश घोषणा
पुँजीवृद्धिको योजनाअनुरुप हालसम्म प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १३ करोड ३६ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । अहिले कम्पनीको चुक्तापुँजी ५३ करोड ३६ लाख ८२ हजार रुपैयाँ रहेको छ । नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर वितरण गर्दैछ । यो प्रस्ताव कम्पनीको साधारणसभाबाट पारित पनि भइसकेको छ । कम्पनीको चुक्ता पूँजी हाल रू. ७१ करोड २८ लाख ९५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सले ११ करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ । हाल कम्पनीको चुक्तापुँजी ५७ करोड ७५ लाख २४ हजार रुपैयाँ रहेको छ । ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ चुक्तापुँजी भएको प्रुडेन्सियल इन्स्योरेन्सले १० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ । बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नका लागि प्रभु र प्रुडेन्सियलको साधारणसभा क्रमशः कात्तिक २१ गते र मंसिर १ गते हुँदैछ ।

हकप्रद सेयर घोषणा
हाल २७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनबी इन्स्योरेन्सले आगामी असार मसान्तसम्ममा एक अर्ब चुक्ता पूँजी पुर्याउने योजना अनुरुप १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । गत असोज १० गतेको साधारणसभाले उक्त प्रस्ताव पारित पनि गरिसकेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सले बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजी ४६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । कात्तिक २१ गते हुन लागेको साधारणसभाबाट प्रभुले हकप्रदको प्रस्ताव पनि पारित गर्दैछ । नेपाल इन्स्योरेन्सले पनि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।

अघिल्लै वर्षहरुको लाभांश वितरण गर्न बाँकी
यसअघि अघिल्लो वर्षको नाफाको आधारमा कार्ययोजनाअनुरूप नै नेपाल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्राइम लाइफ, सूर्या लाइफ र नेशनल लाइफले लाभांशको प्रस्ताव पारित गरिसकेका छन् । यी कम्पनीले भने गतवर्षको नाफाको आधारमा लाभांश घोषणा गर्न बाँकी छ । यसैगरी राष्ट्रिय बीमा संस्थानले पनि ४२ दशमलव ११ प्रतिशत बोनस सेयर र यसको कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कात्तिक १७ गतेका लागि प्रस्ताव गरेको संस्थानको यो लाभांश भने २०५८।५९ देखि २०६३÷६४ सम्मको कमाईबाट गरिएको हो ।

नयाँ कम्पनीलाई पुँजी वृद्धिका लागि थप समय
हालै थपिएका र थपिने क्रममा रहेका १४ बीमा कम्पनीहरुले भने पुँजी बढाउनका लागि थप समय पाएका छन् । संचालनको अनुमति पाएर हालसम्म संचालनमा आइसकेका चार कम्पनी रिलायबल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिका लाथि थप समय पाउने भएका छन् । संचालनमा आउन बाँकी छ वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जिबन कम्पनीलाई पनि चालू आर्थिक वर्षभित्रमा नै तोकिएको चुक्तापुँजी पुर्याउनुपर्ने बाध्यता छैन ।  

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]