October 17th, 2017

होटलमा लगानी गर्ने अवसर, र्याडिसनले एफपिओ जारी गर्ने

ओरियण्टल होटल (र्याडिसन)ले एफपिओ निष्काशन गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक सेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन होटलले एफपिओ निष्काशन गर्ने भएको हो । यो प्रस्ताव पारित गर्न होटलले कात्तिक २३ गते २०औँ वार्षिक साधारणसभा डाकेको छ । 

साधारणसभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि लगिँदै छ । होटल संचालक समितिले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत बोनर सेयर र ६.२१ प्रतिशत नगल लाभांश दिने प्रस्ताव अघि सारेको थियो । होटलको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल क्यापिटल रहेको छ । 

त्यस्तै, होटलले साधारणसभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट पाँच जना र साधारण सेयरधनीको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने जानकारी दिएको छ । 
 
साधारणसभा प्रयोजनका लागि होटलले कात्तिक ९ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने बताएको छ । 

हाल होटलको चुक्ता पूँजी ७९ करोड १७ लाख रूपैयाँ रहेको छ । प्रस्ताव गरिएको बोनस शेयर वितरणपछि चुक्ता पूँजी ९३ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]