September 11th, 2017

हिमालयन बैंकको ईकमर्स सेवामा परिमार्जन, केके छन् सुविधा ?

हिमालयन बैंक लिमिटेडले आफ्ना विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । यससँगै अब स्वदेशी तथा विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवा मार्फत डेविट वा क्रेडिट कार्ड प्रयोग गरी वस्तु तथा सेवाको खरीद बिक्री गर्न सक्नेछन् । 

बैंकले सन् २०१५ को जनवरी देखि नै अन्तर्राष्ट्रिय कार्डधारकहरुलाई लक्षित गरी नेपाली व्यापारीहरु माझ ई कमर्स सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल शुरु गरेको ई कमर्सको नयाँ सँस्करण एशिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवा प्रदायक 2C2P थाइल्यान्ड सँगको सहकार्यमा शुरु गरेको हो । बैंकले हालै शुरु गरेको ई कमर्सको यस संस्करण अन्तर्राष्ट्रिय तथा स्थानीय कार्डधारकहरुलाई लक्षित गरि विकास गरिएको हो । 

नेपालकै इतिहासमा हिमालयन बैंकले सर्वप्रथम ई कमर्स सेवाको शुरुवात गरेको हो । ई कमर्सको माध्यमले वस्तु तथा सेवाको खरीद तथा विक्री विद्युतीय प्रणाली मार्फत गर्न सकिन्छ । बैंकको विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीहरुले आफ्ना उत्पादनहरु सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्ताराष्ट्रिय बजारमा विक्री गर्न सक्नेछन् । हाल परिष्कृत गरिएको विद्युतीय भुक्तानी प्रणालीले सबै भिसा तथा माष्टरकार्ड ब्राण्डका कार्डहरु स्वीकार गर्दछ । निकट भविष्यमै अमेरिकन एक्सप्रेस, जेसिबि तथा युपिआई कार्डहरु समेत यस प्रणालीले स्वीकार गर्नेछ । 

बैंकद्वारा परिमार्जित यस ई कमर्स सेवा सवै प्रकारका व्यवसायहरु जस्तै उड्डयन, होटेल, ट्राभल तथा टुर, अनलाईन खरिद विक्री साईट, सिनेमा थिएटर आदिहरुको लागि समेत उपलब्ध छ । हाल बुद्ध एअर, यती एअरलाइन्स, सिम्रिक, गोमा तथा श्री एअरलाइन्स, मुन्चा, चेयर्स, ओलिज, स्मार्ट डोको, हिमालयन सोसल जर्नी र नेपाल सोसल ट्रेक्स आदि ले एचविएल ई कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका छन् । यस विद्युतीय भुक्तानी प्रणाली थ्री डि सेक्युर प्रविधिमा आधारित भएको हँुदा यस प्रणालीमा रही डेविट तथा क्रेडिट कार्ड मार्फत गरिने सम्पूर्ण कारोवारहरु अत्यन्त सुरक्षित हुनेछन् । इ कमर्स गेट वे तथा कार्ड प्रविधिमा बैंकद्वारा प्रयुक्त यस प्रकारको उच्चतम सुरक्षा प्रविधिले गर्दा व्यापारी तथा ग्राहक दुवैलाई उच्च सुरक्षाको अनुभूति गराउनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]