August 29th, 2017

उत्पादनशील क्षेत्रमा विकास बैंकको लगानी धेरै छ

संजीव प्रधान सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवं डेभलपमेन्ट बैंकर्स एशोसियसनका कार्य समिति सदस्य हुन् । सिन्धु विकास बैंक ३ जिल्ला कार्य क्षेत्र भएको विकास बैंक हो । यस बैंकले प्रदेश नम्बर ३ का काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लामा बैंकिङ सेवा दिइरहेको छ । आर्थिक बर्ष २०७४/७५ को बजेटमा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने भनिएपनि बैंकिङ पहुँच नपुगेका सबै स्थानीय तहमा वाणिज्य बैंकहरु जान नमानेपछि नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई पनि स्थानीय तहमा जान निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुरुप अहिले विकास बैंकहरु पनि कुन स्थानीय तहमा को जाने  भन्ने बिषयमा आन्तरिक छलफलमा जुटेका छन् । वाणिज्य बैंकहरुलाई मात्रै स्थानीय तहमा पठाउने बजेटमा उल्लेख गरिएकोप्रति कडा आपत्ति जनाउँदै आएका विकास बैंकहरु राष्ट्र बैंकको पछिल्लो निर्णयले हौसिएका छन् । यसै सन्दर्भमा सिन्धु विकास बैंकका सीइओ प्रधानसँग बैंकिङखबर डटकमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

सिन्धु विकास बैंकको पछिल्लो वित्तीय अवस्थाबारे बताइदिनुहोस् न ?
सिन्धु विकास बैंकको स्थापना भएको चार बर्ष पूरा भइसकेको छ । बैंकका विभिन्न नीति नियमहरु समयसापेक्ष परिवर्तन हुँदै आएका छन् । नीति नियम परिवर्तन (संशोधन) भइरहे पनि बैंकले आफ्ना सेयरधनीहरुलाई राम्रै मुनाफा दिँदै आइरहेको छ । आर्थिक बर्ष २०७३÷७४ को मुनाफाबाट चालु आर्थिक बर्षमा पनि हामीले १५ प्रतिशत लाभांश दिने लक्ष्य राखेका छौं । हालसम्म हामीले एक अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४५ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका छौँ । हामीले गत आर्थिक वर्षमा तीन करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेका छौँ ।

सिन्धु विकास बैंकका भावी योजनाहरु के–के छन् ? 
मर्जर प्रयास जारी राख्दै पूँजी वृद्धिका लागि आफैँ प्रयास गर्ने सिन्धु विकास बैंकको योजना रहेको छ यसका अलावा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा लगायतका जिल्लाका विकट क्षेत्रमा बैंकिङ पहुँच वृद्धि गर्ने हाम्रो योजना रहेको छ । बैंकिङ पहुँच पुग्न बाँकी रहेका स्थानीय तहहरुमा उच्च प्राथमिकताका साथ शाखा विस्तार गरी बैंकिङ पहुँच वृद्धि गर्ने हाम्रो योजना रहेको छ ।

तपाईंको बीचारमा ग्रामिण भेगमा बैंकिङ पहुँच कसरी पुर्याउन सकिन्छ ?  
हाल भइरहेका विकासका कामहरु सबै शहरकेन्द्रित भएकाले मानिसहरु शहरमा नै बस्न रुचाउने गरेका छन् । तर, ग्रामिण क्षेत्रको विकास भएर मात्रै देश विकास भएको महशुस हुन्छ । नेपालमा नयाँ संविधान जारी भए पश्चात बनेको नयाँ संघीय संरचना अनुसार निर्माण भएका सबै स्थानीय तहमा बजेटहरु गएका छन् । अब भने ग्रामिण क्षेत्रमा क्रमश विस्तारै विकास भइरहेको छ । यससँगै अब बैंकिङ पहुँच पनि पुग्छ । पहिलो कुरा त, ग्रामिण भेगमा बैंकिङ पहुँच वृद्धिका लागि बैंकिङ शिक्षाको आवश्यकता पर्छ । अर्को कुरा, सरकारले पनि ग्रामिण क्षेत्रका लागि स्पष्ट योजनाहरु ल्याउनुपर्छ । ग्रामिण क्षेत्रका जनतालाई विभिन्न कुरामा सहुलियत दिएर सरकारले बैंकिङ पहुँच वृद्धिका लागि आकर्षक योजना ल्याउनुपर्छ ।

बैंक शाखा नपुगेका ठाउँहरुमा विकास बैंक जान तयार भएका हुन् त ? 
सरकारले स्थानीय तहमा शाखा खोल्नका लागि वाणिज्य बैंकलाई बढी प्राथमिकता दिएको छ । विकास बैंकहरु पनि स्थानीय तहमा जान तयारी अवस्थामा छन् । सिन्धु विकास बैंकको मात्रै कुरा गर्ने हो भने हामीले तीन वटा स्थानीय तहमा शाखा खोलिसकेका छौं । थप अन्य स्थानहरुमा पनि शाखा खोल्नका लागि प्रयत्नशील छौं । विकास बैंकहरुले बढी विकट क्षेत्रमा नै सेवा दिइरहेका छन् । वाणिज्य बैंकहरुको तुलनामा ग्रामिण भेगमा धेरै बैंकिङ सुविधा दिने भनेका नै विकास बैंक हुन् । यसर्थ विकास बैंकहरु बैंकिङ पहुँच नपुगेका स्थानीय तहहरुमा आफ्ना शाखा विस्तार गरेर बैंकिङ सेवा दिन सँधै तयार छन् ।

स्थानीय तहमा शाखा खोल्न विकास बैंकहरुका लागि के–के चुनौतीहरु छन् ? 
बैंकिङ पहुँच नपुगेको स्थानीय तहमा शाखा खोल्न सबैभन्दा बढी भौगोलिक समस्या छ । पहाड, डाडा–काँडामा यातायातको सुविधा समेत नपुगेको हुँदा त्यहाँ शाखा खोल्न चुनौतीहरु देखिएका छन् । फण्ड म्यानेजमेन्ट, कर्मचारी व्यवस्थापन लगायतका चुनौतीहरु पनि छन् । विकट क्षेत्रमा दक्ष कर्मचारीको अभाव हुँदा शाखा खोल्नका लागि काठमाडौं लगायत शहरी क्षेत्रबाट कर्मचारी लैजानुपर्ने हुन्छ । 

राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउने प्रावधान ल्याएको छ, यसमा तपाई के भन्नुहुन्छ ?
उत्पादनशील क्षेत्रमा लगानी बढाउनु राम्रो कुरा हो । आर्थिक समृद्धिका लागि उत्पादनशील क्षेत्रमा नै लगानी गर्नुपर्छ । उत्पादनशील क्षेत्रमा विकास बैंकको लगानी धेरै छ ।  सिन्धु विकास बैंकको कुरा गर्ने हो भने हामीले ४० प्रतिशतभन्दा बढी लगानी उत्पादनशील क्षेत्रमा  गरेका छौँ । उत्पादनशील क्षेत्रमा जति बढी कर्जा लगानी गर्यो त्यति नै कर्जाको गुणस्तर हुन्छ र कर्जा अशुली पनि सहज रुपमै हुन्छ । कर्जाको सदुपयोगिता हुने भनेको नै उत्पादनशील क्षेत्रको कर्जामा हो । उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्दा डुब्ने खतरा पनि हुँदैन । देशको आर्थिक विकासका लागि उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्नु अपरिहार्य छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]