July 24th, 2017

‘वाणिज्य बैंक र विकास बैंकको स्प्रेड दर फरक हुनुपर्छ’ 

अहिले मुलुकका करिब ६० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । १० बर्षे सशस्त्र युद्धका क्रममा बैंकिङ पहुँच उकालो भन्दा पनि ओरालोतर्फ लागेको थियो । सशस्त्र युद्धका क्रममा धेरै बैंक शाखाहरु विस्थापित भएर हालसम्म पनि कतिपय बैंकका शाखा पुनःस्थापित हुन सकेका छैनन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि धेरै बैंक तथा वित्तीय संस्थाहरु स्थापना भएका छन् । यसै क्रममा ग्रामीण भेगका जनतालाई बैंकिङ सेवा दिने उद्देश्यले वि.सं. २०६४ सालमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई स्याङ्जा जिल्लाबाट ३ जिल्ले विकास बैंकको रुपमा बैंकिङ कारोबार शुरु गरेको गरिमा विकास बैंक अहिले एक अब्बल राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्थापित भइसकेको छ । स्याङ्जाबाट पोखरा हुँदै काठमाडौंमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको यस बैंकको चुक्ता पूँजी अहिले दुई अर्ब २० करोड रुपैयाँभन्दा बढी रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेअनुसारको दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी गरिमाले बोनस सेयर जारी गरेर सहजै पुर्याउने देखिएको छ । निलगिरी र शुभेच्छा विकास बैंकलाई गाभेर बलियो विकास बैंक बन्न सफल भएको यस बैंकका प्रमुख कार्यकारी अधिकृत एवं डेभलपमेण्ट बैंकर्स एशोसियसन, नेपालका प्रथम उपाध्यक्ष गोविन्द प्रसाद ढकालसँग बैंकिङ खबर डटमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ । 

गरिमा विकास बैंकले कसरी पुर्याउँदैछ चुक्तापुँजी ? 
अहिले हामीलाई पूँजीको समस्या छैन । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकका लागि तोकेको दुई अर्ब ५० करोड रुपैयाँ हामी सजिलै पुर्याउँदैछौँ । अहिले हाम्रो दुई अर्ब २० करोड रुपैयाँ चुक्ताँ पूँजी रहेको छ । हामीले चालु आर्थिक बर्ष २०७३÷७४ को मूनाफाबाट बोनस सेयर जारी गरी राष्ट्र बैंकले तोकेअनुसारको अढाई अर्ब पूँजी पुर्याउदैछौं ।

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्थापित भइसक्नु भएको छ, शाखा विस्तारका अगामी योजनाहरु कस्ता छन् ?
गरिमा विकास बैंकको अहिले देशका विभिन्न ठाउँहरुमा ४८ वटा शाखा कार्यालयहरु छन् । आगामी आर्थिक बर्ष २०७४÷७५ मा शाखा संख्या ४८ बाट बढाएर ७५ पुर्याउने लक्ष्य लिएका छौं । शाखा विस्तारका क्रममा प्रदेश नम्बर १, ४, ५ र ६ लगायतका क्षेत्रका विकास बैंक, फाइनान्स कम्पनीहरुसँग सहमति भए मर्जर÷एक्विजिशन गर्ने सोचमा छौं । अन्य विकास बैंक, फाइनान्स कम्पनीहरु मर्जर÷एक्विजिशन नभए पनि हामीले आगामी आर्थिक बर्षमा शाखा संख्या ७५ पुर्याउने रणनीति बनाएका छौं ।

अन्य मर्जर तथा एक्विजिशनका लागि केहि पहल गर्नुभएको छैन ? 
हामी अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न सधै तयार छौ । अहिलेसम्म अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरुसँग मर्जर÷एक्विजिशनका लागि सहमति हुन सकेको छैन । मर्जर÷एक्विजिशनका लागि हामीले हाम्रो ढोका सँधै खुला राखेका छौँ । मर्जर÷एक्विजिशनका लागि अन्य विकास बैंक तथा फाइनान्स कम्पनीहरु आए हामी सहमति गर्न तयारी अवस्थामा छौं ।

तपाईँ विकास बैंकर्स एशोसियसनको उपाध्यक्ष पनि हुनुहुन्छ, अहिले विकास बैंकहरुको अवस्थालाई कसरी हेर्नु भएको छ ? 
नेपालमा विकास बैंकहरुको अवस्था सुधारोन्मुख रहेको छ । विगतको दिनभन्दा विकास बैंकहरु दिनप्रतिदिन सुधार हुँदै आएका छन् । पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा तरलता अभावको निकै असर पर्यो । बैंकिङ क्षेत्रमा भएको तरलता अभावले विकास बैंकहरुलाई खासै असर गरेन । यसले विकास बैंकहरु सानो पूँजी संकलन गरेर ठूलो निक्षेप संकलन नगरी सञ्चालन भएका रहेछन् भन्ने कुरा प्रमाणित गरेको छ । अहिले वाणिज्य बैंकहरुको ब्याजदर र विकास बैंकहरुको ब्याजदर एउटै छ । यसले गर्दा विकास बैंकहरु जुन एउटा नम्समा चल्नु पर्ने हो, जुन एउटा अनुशासनमा चल्नु पर्ने हो त्यसमा चलेको देखिन्छ ।

बैंक शाखा नपुगेका स्थानीय तहमा शाखा खोल्न विकास बैंकले कस्तो योजना बनाएको छ ? 
अहिले दुर्गम भेगहरु, जहाँ बैंकिङ पहुँच पुर्याउन सकिएको छैन, त्यस्ता ठाउँमा विकास बैंकका शाखाहरु धमाधम खुलिरहेका छन् । ३ जिल्ला कार्यक्षेत्र भएको देखि लिएर १० जिल्ला तथा राष्ट्रिय स्तरका विकास बैंकहरुले मुलुकको ग्रामीण भेगको पनि दुरदराज देखि लिएर शहरी क्षेत्रमा समेत बैंकिङ सेवा दिइरहेका छन् । ग्रामिण भेगमा विकास बैंकहरुले शाखा विस्तारलाई तिब्रता दिएका छन् ।

७ सय ४४ स्थानीय तहका धेरै गाउँपालिकाका केन्द्रमा र केहि नगरपालिकाको केन्द्रमा समेत बैंक शाखा पुग्न सकेका छैनन् । तर, आगामी आर्थिक बर्षका लागि नेपाल सरकारले ल्याएको बजेटमा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोलिने भनिएको छ । त्यसलाई सच्याउनुपर्छ भनेर हामीले नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयसँग समेत आग्रह गरेका छौं । वहाँहरु सकरात्मक हुनुहन्छ । सबै स्थानीय तहमा वाणिज्य बैंक मात्र होइन बैंक तथा वित्तीय संस्थाको शाखा खोलिनुपर्छ । जुन गाउँपालिकाको केन्द्रमा आवश्यक भौतिक पूर्वाधारहरु जस्तै बाटो, वत्ति, इन्टरनेट लगायत छ, भने त्यस्ता ठाउँमा शाखा खोल्न विकास बैंकहरु तयार छन् ।

विकास बैंकका मूख्य चुनौतीहरु के–के छन् ? 
विकास बैंकहरुलाई एउटा समस्या थोरै मात्र तरलताको छ, अर्को चुनौती भनेको प्रतिष्पर्धा पनि हो । नेपाल राष्ट्र बैंकले कायम गरेको स्प्रेड रेट वाणिज्य बैंक र विकास बैंकहरुको बराबर छ । यो पनि विकास  बैंकहरुको मूख्य चुनौती हो । किन भने विकास बैंकहरुको अन्य आम्दानी हुँदैन, व्याज आम्दानी मात्रै हो । कमर्शियल बैंकहरुको बैंक ग्यारेन्टी लगायत थुप्रै माध्यमबाट २५/३० प्रतिशत आम्दानी हुन्छ । यस्तो अवस्थामा कमर्शियल बैंक र विकास बैंकहरुलाई एउटै स्प्रेड रेट कायम गरिएको छ, यसले हामीलाई केहि अप्ठेरो परेको छ । विकास बैंकको सञ्चालन खर्च पनि बढी लाग्ने गर्दछ । हामीले स–साना ठाउँहरुमा शाखा कार्यालयहरु स्थापना गरेको अवस्था छ । यसले गर्दा हामीलाई थोरै केहि अप्ठेरो परेको महशुस भएको छ ।

मुलुकको अर्थतन्त्रमा विकास बैंकको भूमिका कस्तो छ ? 
यसको मूल्यांकन गर्ने सम्बन्धित निकायहरुले कसरी मुल्यांकन गर्नु भएको छ, हामीले बुझ्दा मुलुकको अर्थतन्त्रमा विकास बैंकको महत्वपूर्ण भूमिका छ । विकास बैंकहरुले स–सानो पूँजी ५ हजार, १० हजारदेखि लिएर ३० करोड रुपैयाँसम्म लगानी गरेको अवस्था छ । हामीले सानो एउटा कृषि पेशा, पसल व्यवसाय, उद्योग लगायत जसले स्वरोजगार बनाउन मद्दत गर्छ, जोसँग पूँजीको अभाव छ,  तर सामथ्र्य छ भने त्यस्ता मानिसलाई बिना धितो कर्जा लगानी पनि गरेक छौं । नेपालका कमर्शियल बैंकहरु बढी शहर केन्न्द्रीत छन् । त्यो तपाई हामीले देखेकै कुरा हो । ग्रामिण क्षेत्रमा धेरै सेवा दिने बैंक भनेको नै विकवास बैंक हो । अन्य बैंक वित्तीय संस्थाको तुलनामा मुलुकको अर्थतन्त्रमा विकास बैंकको भूमिका धेरै छ ।

ग्रामिण क्षेत्रमा बैैंकिङ पहुँच कसरी विस्तार गर्न सकिन्छ ? यसमा विकास बैंकको भूमिका कस्तो रहन्छ ? 
अहिलेको तथ्यांक हेर्दा नेपालका करिब ६० प्रतिशत जनताले बैंकिङ सेवा पाउन नसकेको तथ्यांक छ । ग्रामिण क्षेत्रमा जानका लागि अगाडी पनि मैले भनिसके बैंक शाखा स्थापनाका लागि आधारभूत भौतिक पूर्वाधार तथा शान्ति सुरक्षा भयो भने विकास बैंकहरु बैंकिङ पहुँच विस्तारका लागि जुनसुकै ठाउँमा जान तयार छन् । त्यस्ता ठाउँको विकासका लागि त्यस ठाउँका जनतालाई उद्यमी बनाउनका लागि, निक्षेप कलेक्शन गर्नका लागि जुन क्षेत्रमा जान जुन विकास बैंकलाइ सहज हुन्छ हामी विकास बैंकहरु छलफल गरेर त्यस्ता ठाउँमा जान तयार छौं । बैंकिङ सेवा शहरकेन्द्रीत हुनु हुँदैन ग्रामिण भेगमा पनि पुग्नु पर्छ भन्ने जुन नेपाल राष्ट्र बैंकको धारणा छ त्यसको कदर गर्दै हामी ग्रामिण भेगका जनतालाई बैंकिङ सेवा दिन सदैव तयार छौं ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]