July 21st, 2017

बजेट खर्च नहुँदा ठूला आयोजना प्रभावित

डीआर पन्त
कैलालीको वसन्ता वन क्षेत्रमा १९ किलोमिटर ट्रयाकसमेत खुल्न नसकेको पनि हुलाकी राजमार्ग सम्पन्न भएको भन्दै अघिल्लो सरकारका मन्त्री रमेश लेखक र नेपालका लागि भारतीय तत्कालीन राजदूत रणजित रायले उद्घाटन गरेका थिए । श्रावण ६, २०७४( प्रदेश ७ को सबैभन्दा बढी विकास बजेट भएको कैलालीमा सञ्चालित ठूला विकास आयोजनाले गति लिन सकेका छैनन् । विकास बजेट बढी भए पनि खर्च नहुँदा महत्त्वपूर्ण मानिएका आयोजनाको निर्माणमा सुस्तता आएको हो ।

विकास बजेटमध्ये गत आवमा पौने ३ अर्ब रुपैयाँ फिर्ता भएको छ । उत्तर–दक्षिण जोड्ने सडक आयोजना, कैलालीदेखि पहाडी जिल्ला जोड्ने खुटिया दिपायल फास्टट्रयाक निर्माणले गति लिएको छैन९ । त्यसैगरी अत्तरिया–मोहना कैलाली भन्सार जोड्ने ६ लेन सडक आयोजना, पूर्व–पश्चिम ग्रामीण क्षेत्र जोड्ने हुलाकी राजमार्गलगायत सहरी विकास कार्यक्रमका बजेटका खर्च हुन नसक्दा प्रभावित भएका छन् । कैलालीमा यसअघिको भन्दा पनि २ प्रतिशत विकास बजेट कम खर्च भएको छ । पुष्पकमल दाहाल सरकारले दक्षिण–उत्तर जोड्ने विकासका लागि महत्त्वपूर्ण मानिएका आयोजनामा छुट्टयाइएको बजेट न्यून खर्च हुँदा पहाडी जिल्लाका विकास निर्माणसमेत प्रभावित भएका छन् । वर्षौंदेखि निर्माणाधीन रहेको खुटिया–दिपायल फास्टट्रयाक सडकमा आएको बजेटमध्ये २५ प्रतिशत पनि खर्च हुन सकेन । यो सडक ८२ किमि लामो छ । दु्रत मार्ग निर्माणमा आएको १४ करोड ५३ लाखमध्ये ४ करोड रुपैयाँ पनि खर्च हुन सकेको छैन ।

तराईका ग्रामीण क्षेत्रको विकासमा महत्त्वपूर्ण मानिएको हुलाकी राजमार्गमा ३१ करोड ३३ लाख बजेटमध्ये १९ करोड १८ लाख रुपैयाँ मात्र खर्च भएको छ । कैलालीको वसन्ता वन क्षेत्रमा १९ किलोमिटर ट्रयाकसमेत खुल्न नसकेको उक्त राजमार्ग सम्पन्न भएको भन्दै अघिल्लो सरकारका मन्त्री रमेश लेखक र तत्कालीन नेपालका लागि भारतीय राजदूत रणजित रायले धनगढीमा उद्घाटन गरेका थिए । उक्त राजमार्गको भजनीदेखि धनगढी जोड्ने ८ पुलसमेत अझै बन्न सकेका छैनन् । यसैगरी मोहनापुल अत्तरिया ६ लेन सडक आयोजनामा पनि यस वर्ष कुनै खर्च हुन सकेन । कुल बजेटको १० प्रतिशत पनि हालसम्म खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

सडक आयोजना मात्र नभई जिल्लामा सबैभन्दा बढी विकास निर्माण खर्च भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयको बजेट यस वर्ष फिर्ता भएको छ । उक्त कार्यालयको १ अर्ब ३२ करोड ३७ लाखमध्ये २७ करोड ८८ लाख रुपैयाँ मात्र निकासा भएको कोलेनिकाले जनाएको छ । बजेट फिर्ता हुँदा सघन सहरी विकास कार्यक्रम पनि प्रभावित भएको छ । ‘यस आवमा जिल्लामा ठूलो विकास बजेट फिर्ता भएको छ,’ प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीले भने, ‘बजेट निकासाको स्थिति हेर्दा विकासे कार्यालयको ठूलो बजेट फिर्ता भएको छ ।’ कैलालीमा सहरी विकास तथा भवन डिभिजन कार्यालयको बजेट सबैभन्दा कम खर्च भएको देखिएको चौधरीले बताए । उक्त कार्यालयको पुँजीगत बजेट कम खर्च भएकाले जिल्लाकै कुल खर्चको अनुपातसमेत कम देखिएको छ ।

यसैगरी भूमिगत सिँचाइ कार्यालयको पनि निकै ठूलो बजेट खर्च हुन बाँकी छ । सिँचाइ डिभिजन कार्यालय, शिक्षा कार्यालय, जिल्ला प्राविधिक कार्यालय र जिल्ला समन्वय समितिलगायतका विकास बजेट भएका विकासे कार्यालयमा न्यून खर्च भएको कोलेनिकाले जनाएको छ । कार्यालयका अनुसार पुँजीगत र चालु गरी जिल्लामा पौने ३ अर्ब रुपैयाँभन्दा बढी बजेट फिर्ता भएको छ ।

जिल्लाको कुल बजेट १६ अर्ब २६ करोड ४६ लाखमध्ये २ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । यो बजेट खर्च आव ०७२र७३ को भन्दा २ प्रतिशत कम हो । असारमा मात्रै पुँजीगत बजेट १ अर्ब ६४ करोड ८९ लाख ९२ हजार अर्थात् ३२।१० प्रतिशत खर्च भएको कोष नियन्त्रक मदनराज पाण्डेयले जानकारी दिए । कान्तिपुर दैनिकमा प्राशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]